कक्षा १२ पास गरेपछि धेरै नेपाली विद्यार्थीको अष्ट्रेलिया शैक्षिक गन्तव्य बनेको छ । पछिल्लो एक दशकयता अब्रोड स्टडीमा जानेहरुको पहिलो गन्तव्य अष्ट्रेलिया बन्नुमा त्यहाँको शैक्षिक गुणस्तर, पाइने अवसर पनि प्रमुख कारक रहेको विगत १५ वर्षदेखि विद्यार्थीहरुलाई शैक्षिक परामर्श गर्दै आइरहेका  शिशिर सिंखडा बताउँछन् । क्याम्ब्रिज इन्टरनेशल एजुकेशनका संस्थापक निर्देशक सिंखडाका अनुसार युके, क्यानडा, युरोप, जापानभन्दा पनि अष्ट्रेलिया नेपाली विद्यार्थीका लागि सबै कुराले उपयुक्त शैक्षिक गन्तव्य हो ।

विदेश पढ्न जाने भन्दैमा आँखा चिम्लेर दिवास्वप्न मात्र नदेख्न उनी सुझाउँछन् । अब्रोड स्टडीमा जाने विद्यार्थीले अवसर र चुनौती दुवैलाई ट्याकल गर्न सक्ने क्षमता बनाउनु पर्छ । लहलहै र देखासिकीमा हाम्फाल्नेहरु ठूलै दुर्घटनामा पर्ने उनको सुझाव छ । नेपाली विद्यार्थी किन अष्ट्रेलिया जाने ? कसरी जाने ? तयारी के गर्ने ? लगायतका बारेमा उनीसँग गरिएको कुराकानीको संक्षेपः

अष्ट्रेलिया नेपाली विद्यार्थीको शैक्षिक गन्तव्य बन्नुको कारण के हो ?
–    कक्षा १२ पास गरिसकेपछि एक दशकयताको कुरा गर्दा ७० प्रतिशत विद्यार्थीको पहिलो रोजाइ अष्ट्रेलिया बनेको छ । शैक्षिक, आर्थिक, सांस्कृतिक, सामाजिक कारणले अष्ट्रेलिया नेपाली विद्यार्थीको पहिलो रोजाइमा परेको हो । नेपालबाट मात्र नभएर विश्वभरका विद्यार्थीहरूका लागि अष्ट्रेलिया गन्तव्य देश बनेको छ । यहाँ विश्वकै प्रतिष्ठित कलेज तथा विश्वविद्यालय छन् । डिप्लोमा, ब्याचलर र मास्टर्स तीनै तहमा अध्ययन गर्न विद्यार्थीले छानीछानी शैक्षिक संस्थाहरू रोज्न पाउँछन् । लागतको कुरा गर्दा, युके, युएसएको तुलनामा कम छ । विश्वभरका विद्यार्थीहरूसँग साक्षात्कार हुँदा ग्लोबलाइजेसन हुन सकिन्छ । १० वर्षमा धेरै नेपालीहरू अष्ट्रेलियामा सेटल भएकाले सांस्कृतिक रूपमा पनि एक्लो छु भन्ने फिल हुन्न र उच्चशिक्षा हासिल गर्दागर्दै पाइने अवसरले पनि अष्ट्रेलिया नेपाली विद्यार्थीहरूको शैक्षिक गन्तव्य बनेको हो ।

युके, युएसए, युरोप र अष्ट्रेलियाबीच शैक्षिक भिन्नता के छ ?
–    अष्ट्रेलिया र यूके, युएसए, युरोपविच कुनै शैक्षिक भिन्नता छैन । सबै देशहरुका कलेज, विश्वविद्यालयले अन्तर्राष्ट्रिय डिग्री नै दिन्छन् । संसारको जुनसुकै कुनामा त्यो डिग्रीको मान्यता हुन्छ । पाठ्यक्रम नै अन्तर्राष्ट्रियस्तरको भएकाले अष्ट्रेलियामा पढेँ, अमेरिकामा गएर काम गर्दा गाह्रो हुन्छ कि भन्ने चिन्ता गर्नु पर्दैन । मात्र अवसर, लागत, सामाजिकीकरणका विषयहरूले नेपाली विद्यार्थीहरूको आकर्षणको केन्द्र बनेको हो ।

नेपाली विद्यार्थीले अष्ट्रेलियामा कुन तहमा कस्ता विषयहरू अध्ययन गर्न सक्छन् ?
–    डिप्लोमा, ब्याचलर, मास्टर्स तहमा जुनसुकै विषयहरू अष्ट्रेलियामा अध्ययन गर्न पाइन्छ । नेपाली विद्यार्थीले सीपयुक्त विषयहरू रोज्दा पठन–पाठनसँगै भोलिको सुरक्षित र सुनिश्चित भविष्य निर्माण गर्न सहज हुन्छ । पछिल्लो समय नेपाली विद्यार्थीको रोजाइमा भने हस्पिटालिटी, कम्युनिटी सर्भिस, अर्ली चाइल्ड हुड एजुकेशन, आइटी, इन्जिनियिरिङ, नर्सिङ, हेल्थ साइन्स, विजनेस, बायोमेडिकल, एकाउन्टिङ जस्ता प्राक्टिकल बेसका विषय परेका छन् ।

अष्ट्रेलिया अध्ययनका लागि जाने विद्यार्थीहरूले कस्ता कलेज छनौट गर्ने ?
–    मुख्य कुरा आफूले पढेको विषय कुन हो, त्यही विषयसँग सम्बन्धित कलेज छनौट गर्नुपर्छ । म्यानेजमेन्ट पढेर साइन्स पढ्न जान्छु भन्नु मूर्खता हो । साइन्स पढेकाहरूले कम्प्युटर साइन्स, आइटी, हेल्थ साइन्स, बायोमेडिकल जस्ता कलेज र विश्वविद्यालय रोज्नुपर्छ । साथै, आफू जान चाहेको कलेज, त्यहाँको शैक्षिक अवस्था, भौतिक पूर्वाधारको अवस्था, शुल्क, कोर्ष, फ्याकल्टी, त्यो कलेजको आधिकारिकताका लगायतबारे नेपालमा प्रक्रिया सुरु गर्दागर्दै जानकार हुनै पर्छ ।

सबै नेपालीको आर्थिक अवस्था बलियो छैन, छात्रवृत्ति पाएर अध्ययन गर्न पाइँदैन ?
–    अधिकांश विदेश अध्ययन गर्न जाने विद्यार्थीले अभिभावकको आम्दानीकै भर परेर अध्ययन गर्न सक्दैनन् । धेरै विश्वविद्यालय र कलेजहरूले विदेशी विद्यार्थीलाई छात्रवृत्तिहरू दिएका हुन्छन् । अष्ट्रेलियाका सवालमा विद्यार्थीको शैक्षिक अवस्था हेरेर तथा त्यहाँ अध्ययन गर्दागर्दै छात्रवृत्ति पाइन्छ । कुनै विद्यार्थीले उच्च शिक्षाका लागि विदेश जाने योजना बनाइरहेका छन् भने कक्षा १० देखि नै आफ्नो शैक्षिक एकेडेमीलाई बलियो बनाउँदै लगेको खण्डमा राम्रो छात्रवृत्ति प्राप्त गर्न सक्षम हुन्छन् । सँगै कक्षा १२ पछि आइएलटिएस र पिटिई र टोफलमा राम्रो स्कोर ल्याएको खण्डमा २५ देखि ३० प्रतिशतसम्म छात्रवृत्ति पाउनेछन् । सँगै अभिभावकहरूले पनि आफ्नो आम्दानीको स्रोतलाई एक–दुई वर्षअगाडिबाट नै व्यवस्थित गर्ने, आर्थिक कारोबार बैङ्किङ प्रणालीमार्फत् गर्ने, राज्यलाई बुझाउनु पर्ने स्रोतको कर तिरेको विवरणहरू अपग्रेड राख्ने गरेको अवस्थामा विद्यार्थीलाई बाहिर पठाउन सहज हुन्छ ।

अष्ट्रेलिया जान शैक्षिक योग्यता कति हुनुपर्छ र भिसा प्रक्रिया कस्तो छ ?
–    अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीको शैक्षिक योग्यता कम्तिमा १२ पास हुनुपर्छ । त्योसँगै कोर्षअनुसारको योग्यता माग गरिएको हुन्छ । मान्यता प्राप्त संस्था (ब्रिटिस काउन्सिल, आइडिपी) लगायतबाट भाषा परीक्षाहरू आईईएलटीएस, टोफल, पीटीई वा क्याम्ब्रिज एड्भान्स इङ्लिस कोर्षमध्ये एकको परीक्षा पास गर्नुपर्छ । भाषा परीक्षाको नतिजा, शैक्षिक कर्जा वा तीन महिना नाघिसकेको बैङ्क ब्यालेन्स, वार्षिक आम्दानीको स्रोत तथा त्यसको कर चुक्ताका कागजातहरू, पढ्न चाहेको कलेजले पठाएको कन्फरमेसन अफ इनरोलमेन्ट (सीओई) सहित शैक्षिक कागजात लिएर भिसा प्राप्तिका लागि अष्ट्रेलियन दुतावासमा अनलाइनमार्फत् निवेदन दिनुपर्छ । त्यसपछि दुतावासले मान्यता दिएको मेडिकलमा गएर स्वास्थ्य परीक्षण गराउने तथा बायोमेट्रिक परीक्षण गर्नुपर्छ । साथै, दुतावासले टेलिफोन कल मार्फत सम्पर्क गरी विद्यार्थीले बुझाएका सम्पूर्ण कागजातको बारेमा सोधपुछ गर्नसक्छ । त्यसबेला आफूले बुझाएको कागजात र देशका बारेमा गहिरो अध्ययन अनुसन्धान गरी दुतावासले सोधेका प्रश्नहरूको जवाफ विद्यार्थीले दिन सक्नुपर्छ । र भिसा प्राप्त भएपछि विद्यार्थीले आफु जाने कलेजको बारेमा जानकारी लिने, त्यहाँको ठेगाना, बासस्थान लगायतका बारेमा कन्सल्टेन्सी र कलेजकै वेभसाइटमार्फत् पनि जानकारी लिनुपर्छ । सिओई दिएको कलेजले भिसा नलागेको अवस्थामा बुझाएको शुल्कको कलेज र विश्वविद्यालयको नियमानुसार २ सयदेखि ५ सय डलर कट्टा गरी बाँकी रकम बैङ्कमार्फत् अभिभावकको खातामा फिर्ता गर्छ । मान्यताप्राप्त कन्सल्टेन्सीमार्फत् कलेज छनौट, डकुमेन्टेसन, भिसा प्रक्रियाका कामहरू गर्दा कुनै समस्या आइपर्दैन ।

अध्ययनसँगै अवसरका सम्भावनाहरू कसरी पाइन्छ ?
–    कुनै पनि विद्यार्थी अब्रोड स्टडीमा जाँदैछ भने उसले हेर्ने भनेको अवसर पनि हो । तपाई होटल मेनेजमेन्ट पढ्न गइरहनुभएको छ तर, त्यहाँ होटल मेनेजमेन्टको सम्भावना र अवसर छैन भने त्यो पैसा र समयको बर्बादी मात्र हो । अष्ट्रेलियामा डिप्लोमा तहमा अध्ययन गर्दादेखि नै ठूला अवसरहरू पाइन्छन् । साथै तपाईंले स्नातक गरिसक्नुभयो भने विषयगत रूपमै अवसरहरू पाइन्छ । स्नातकोत्तर गरिसकेपछि त त्यहाँको सरकारले नै विदेशी विद्यार्थीहरूलाई आफ्नो क्षेत्रमा काम गर्नका लागि वर्क परमिट भिसा दिन्छ । तसर्थ, अष्ट्रेलियामा मेहनत गर्ने विद्यार्थीले ‘अवसर पाउँदिन कि !’ भनेर चिन्ता लिनुपर्दैन ।

तर, कतिपय अवस्थामा विद्यार्थीहरू असफल भएका, समस्यामा परेका, दुःख पाएका कुराहरू बाहिर आइरहेका छन् नि ?
–    महत्वपूर्ण प्रश्न गर्नुभयो । यो मामिलामा हामीले विद्यार्थीहरू कसरी असफल भए, दुःख पाए ? भन्ने कुराको अध्ययन गर्न जरुरी छ । अष्ट्रेलियामा मात्र हैन, संसारका जुनसुकै देशमा विद्यार्थीहरू व्यक्तिगत कारण, पारिवारिक कारण, कन्सल्टेन्सीका कारण वा त्यो देशको नियम कानून, रहनसहनका बारेमा गहिरो अनुसन्धान नगर्दा तथा कसैको लहलहैमा लागेका कारणले समस्यामा परेर असफल हुन्छन् । विद्यार्थीमा व्यक्तिगत, स्वास्थ्यगत समस्या छ भने उसले त्यहाँ अध्ययन र काम गर्न सक्दैन । त्यसमाथि नेपालीको आर्थिक अवस्थाका कारण कसैले पनि नेपालबाटै सम्पूर्ण खर्च व्यवस्थापन गर्ने ल्याकत राखेर विदेश पठाउँदैनन् । सुरुवाती ६ महिनाको ट्युसन, हेल्थ इन्स्योरेन्स शुल्क बुझाइएको हुन्छ । त्यसपछि त्यो विद्यार्थीले विदेशमा हप्ताको कम्तिमा २८ घण्टा काम गर्न नसके समस्यामा पर्छ । नेपालमा रहँदा विद्यार्थीले केही सीपहरू सिकेर गएको खण्डमा काम पाउन सहज हुन्छ ।

पारिवारिक कारणभन्दा लाखौं ऋण लिएर छोराछोरीलाई विदेश पठाएका अभिभावकले आफ्नो छोराछोरीले चाँडोभन्दा चाँडो ऋण तिरोस्, कमाओस् भन्ने सोच हुन्छ । गएको एक महिना भएको छैन, पैसा पठाउन दबाव दिन्छन् । अचेल त अनावश्यक डिमान्डहरू मोबाइल, स्मार्ट वाच चाहियो रे । विचरा नेपालमा आफुले खाएको थालसमेत नमाझेका ती १८ वर्षे केटाकेटीहरूले डिमाण्ड पूरा गर्न सक्लान् र ? यस्तो अवस्थामा उनीहरू मानसिक समस्यामा पर्न सक्छन् । अभिभावकहरूले कुनै दबाव दिनुहुँदैन । बरु आफ्ना छोराछोरीको स्वास्थ्य अवस्था, बसाइ र पढाइको अवस्थाका बारेमा नियमित जानकारी लिने, उसलाई एक्लो फिल हुन नदिने गर्नुपर्छ । अर्को, तपाईं विदेश जानुभयो तर, त्यहाँको कानूनी ज्ञान भएन वा कुनै आपराधिक बाटोमा लाग्नुभयो भने समस्यामा पर्ने हो । विदेश अध्ययन गर्न जानुपूर्व त्यहाँको सामाजिक, आर्थिक, शैक्षिक पाटो र कानूनी विषयमा पनि अध्ययन गर्न जरुरी छ । कन्सल्टेन्सीका कारण विदेशमा विद्यार्थी समस्यामा परेका धेरै केसहरू छन् । एउटा विषयमा पढ्ने भनेर अर्कोमा पठाउने, दर्ता नै नभएका कलेजमा पठाउने, मोटो रकम लिने, नक्कली कागजात बनाएर पठाउने, गैरकानूनी तवरले जान उक्साउने जस्ता क्रियाकलापका कारण विद्यार्थी समस्यामा परेका हुन्छन् ।

यस्ता समस्यामा नपर्न विद्यार्थीले के कुरामा ध्यान दिने ?
–    सर्वप्रथम कन्सल्टेन्सी छनौटमा ध्यान दिऊँ । नेपाल सरकारबाट मान्यता प्राप्त कन्सल्टेन्सीका आधिकारिक परामर्शदाताबाट प्रक्रिया अगाडि बढाऊँ । कन्सल्टेन्सीको विगत, वर्तमान, उसले पठाउने देशहरू, आधिकारिक रूपमा आबद्ध कलेज, विश्वविद्यालयमा आफूले अध्ययन गर्न चाहेको विषय मेल खान्छ खाँदैन जानकारी लिऊँ, जेन्युन डकुमेन्टेसन गरौं । परामर्शदाताले भनेको विवरण ठीक छ छैन कलेजको आधिकारिक वेभसाइटमा गएर चेक गर्ने, अनलाइनमार्फत् नै भए पनि कलेजसँग सोधपुछ गर्ने गरौँ ।
    साथसाथै, अर्को महŒवपूर्ण कुरा कुनै पनि कन्सल्टेन्सीले आफ्नो परामर्श शुल्कबाहेक अन्य पैसा लिन पाउँदैन । कलेजको फी विद्यार्थी आफैले बैङ्कमार्फत् सोझै कलेजलाई बुझाउने हो । भिसा शुल्क आफै तिर्ने हो । टिकट आफैले काट्ने हो । परामर्श शुल्कबाहेक अन्य शीर्षकमा कुनै कन्सल्टेन्सीले पैसा माग्छ भने सतर्क हुनुहोस् ।

क्याम्ब्रिज इन्टरनेशनल एजुकेशन कस्तो संस्था हो ?
– क्याम्ब्रिज इन्टरनेशनल एजुकेशन विगत १५ वर्षदेखि लगातार विद्यार्थीहरूलाई युके, युएसए, अष्ट्रेलिया, क्यानडा, न्युजिलेण्डलगायतका देशहरूका प्रतिष्ठित शैक्षिक संस्थाहरूका लागि आधिकारिकरूपमा काम गर्ने नेपाल सरकारबाट मान्यता प्राप्त कन्सल्टेन्सी हो । यसले आइएलटिएस र पीटीईका कक्षा सञ्चालन गर्दै आइरहेको छ । विगत डेढ दशकमा हामीबाट हजारौं विद्यार्थी उच्चशिक्षाका लागि विदेश गइसकेका छन् । हामी जेन्युन काम गर्छौं । विद्यार्थीलाई कुनै लोभ लालच देखाएर पठाउँदैनौं । हाम्रो अष्ट्रेलियाको सिड्नीसँगै युके, क्यानडामा पनि सपोर्ट सेन्टर रहेका छन् । अष्ट्रेलियामा हाम्रा कुनै पनि विद्यार्थीलाई आइपर्ने समस्यामा रेस्पोन्स गर्न सक्छौँ । काठमाडौंको बागबजारमा मुख्य कार्यालय र नयाँ बानेश्वरसँगै  ललितपुर, बनेपा, बिर्तामोड, दमक, इटहरी, धरानबाट समेत शैक्षिक परामर्श लिन सकिन्छ ।

अन्त्यमा, अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई के सन्देश दिन चाहनुहुन्छ ?
–    उच्चशिक्षा र सुरक्षित भविष्यका लागि अष्ट्रेलिया राम्रो गन्तव्य देश हो । तपाईंसँग केही गर्ने दृढ इच्छा छ, समर्पण छ भने अगाडि बढ्नुस् । तर, लहलहैमा लागेर, छिमेकीको छोरा गयो, म पनि जान्छु भनेर हैन । नेपालमा आमाले पकाएको खाएर थाल पनि नटिप्ने तपाईंले विदेशमा एक्लै पढाइसँगै काम गर्न सक्नुपर्छ । त्यसका लागि मन र मस्तिष्क बलियो बनाएर अगाडि बढ्नुपर्छ । अष्ट्रेलिया भनेको अवसरको समुद्र हो, पौडी खेल्न सक्नुभयो भने मोती टिपेर ल्याउन सक्नुहुन्छ, नत्र समय र पैसाको बर्बादी हो । आफ्नो र अभिभावकको सपनाको नाश हुने गरी हठात् भएर निर्णय नगर्नुस् ।

camb