डा. इच्छा जोशी सोनीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडी अप्थाल्मोलोजी गरेकी छन् । उनले विराटनगर आँखा अस्पतालमा रेटिना र विराट आँखा अस्पताल विराटनगरमा फेको (मोतीविन्दु) को तालिमपश्चात् ६ वर्षदेखि आँखा विशेषज्ञको रूपमा काम गर्दै आएकी थिइन् । अहिले उनले धरान–१२ मा सूर्य आई केयर (आँखा उपचार केन्द्र) स्थापना गरेकी छन् । उनै डा. इच्छासँग ब्लाष्टले गरेको कुराकानीको सम्पादित अंश ।

 आँखाका के के समस्या हुन्छन् ?

–आँखाको कमन समस्या दृष्टिदोष हो । चश्मा लगाउनु पर्ने हुन्छ । मोतीविन्दु, जलविन्दु, रेटिना, आँखाको ढकनी तल झर्ने, माथि पल्टिने, आँसु आइरहने, सिजनल आँखा पाक्ने समस्या हुन्छन् ।

 लक्षणहरू के के देखा पर्छन् ?

–दृष्टिदोषमा आँखा कम देख्ने, मोतीविन्दुमा बत्ती छरिएको र धमिलो देखिने, बादल लागेजस्तो देखिने, चश्माको पावर बढ्दै जाने हुन्छ । जलविन्दुमा आँखा दुख्ने हुन्छ । आँखा पाक्नेमा रातो हुने, कचेरा आउने, च्यापच्याप आँखा टालिने हुन्छ । धुलोधुवाँबाट हुने एलर्जीको लक्षण चिलाउने, सुन्निने, रातो हुन्छ । रेटिनाको लक्षणमा दृष्टि कम हुन्छ ।

 के कारणले आँखामा समस्या आउँछ ?

–वंशाणुगत र उमेरका कारणले हुन्छ । अँध्यारो कोठामा पढ्ने मोबाइल हेर्नेको आँखाको प्रेसर बढेर पनि हुनसक्छ । चोट लागेर हुन सक्छ ।

कसरी बच्न सकिन्छ ?

–आँखालाई बचाउन घाममा हिँड्दा सन ग्लास लगाउनु पर्छ । घामका किरणले मोतीविन्दु, एलर्जी हुनसक्छ । कम्प्युटर, मोबाइल चलाउँदा प्रत्येक १५–२० मिनेटमा विश्राम लिनुपर्छ । १ फिटको दूरीमा राखेर मात्रै हेर्ने । प्रोटेक्सन चश्मा लगाउने, आँखाको एक्सरसाइज गर्नुपर्छ । हरियो सागसब्जी कलरफुल फलफूल, ओमेगा थ्री माछा खाने र सफा राख्ने गर्नुपर्छ ।

अहिले सूर्य आई केयर सञ्चालन गर्नुभएको छ, के के सेवा पाइन्छ ?

–चश्मा, आँखाको प्रेसरको जाँच, ओसिटी जाँच गरिन्छ । ओसिटीमा आँखाको फोटो खिच्ने, आँखाको रेटिनाको स्क्यान गरिन्छ । अल्ट्रासाउन्ड हुन्छ । रेटिनामा लेजर हुन्छ । मोतीविन्दु भइसकेपछि लेजर गर्नुपर्छ । बच्चादेखि वृद्धवृद्धासम्मको आँखा परीक्षण हुन्छ । आँखामा मासु पलाएको, मोतीविन्दु, रेटिनादेखि सबै शल्यक्रिया गर्छौं ।

 आखाँका लागि धरानबाहिर जाने बाध्यता छ । यहाँ के सेवा पाइन्छ ?

–तिलगङ्गा आँखा अस्पतालमा पाउने सेवा सबै यहीँ पाइन्छ । लेजर सर्जरी, चश्मा हटाउनेबाहेक सबै सेवा पाउनुहुन्छ । विराटनगरको सेवा पनि सबै यहीँ पाइन्छ । मेरो प्राथमिकतामा रेटिना हो ।

 शुल्क कति लाग्छ ?

–विराटनगरको सरकारी र गैरसरकारी संस्थाले फन्डेड गरेको अस्पताल हो । त्यहाँको तुलनामा यहाँ केही बढी शुल्क राखेका छौँ । अप्रेशनको शुल्क समान छ ।

सूर्य आई केयरले विभिन्न स्थानमा शिविर चलाइरहेको छ । प्रचारकै लागि हो ?

–म विराटनगरमा कार्यरत हुँदा धरानका धेरै बिरामीको सेवा गरेँ । धरानका बिरामीलाई आउन–जान गाह्रो हुन्थ्यो । शिविरको मुख्य उद्देश्य आँखाको उपचार धरानमै हुन्छ भनेर थाहा होस् भन्ने हो । ६५ वर्षमाथिका बुबाआमालाई छुटसहित सेवा दिइरहेका छौँ । सेवासँगै प्रचार–प्रसार भइहाल्छ ।

कति लागतमा सुरु गर्नुभएको हो ?

–मेसिन र अस्पताल सेटअप गरेर साढे ४ करोड खर्च भएको छ ।

 जटिल शल्यक्रिया सफल भएको कुनै अविस्मरणीय क्षण छन् तपाईंका ?

–रेटिनाको शल्यक्रिया गर्दा सधैँ च्यालेन्जिङ नै हुन्छ । रेटिनाको पर्दामा सानो नशाको अप्रेशन हुन्छ । आँखा नदेख्ने बुबाआमा आउनुहुन्छ । अप्रेशनपछि आँखा देखेपछि हामीलाई पनि खुसी लाग्छ । उहाँहरूले आशीर्वाद दिनुहुन्छ । त्यसो गर्दा साह्रै खुसी लाग्छ । 

अन्य अस्पतालमा सेवा दिइरहनुभएको थियो, अस्पताल खोल्नुपर्ने अवस्था किन आयो ?

–६ वर्षदेखि विराटनगर धाइरहेकी थिएँ । व्यक्तिगत जीवन भएन । बच्चा पनि हेर्न सकिनँ । सधैँ बिहानै धाउनु पर्ने । घरपरिवार र आमाबुबा हेर्न सकिनँ । धरानमा विशेषज्ञ आँखा क्लिनिकको पनि कमी देखेको थिएँ र खोलिएको हो । 

 सेवा कि व्यापार ?

–दुवै । सेवा नगरी व्यापार र व्यापार नभई सेवा हुँदैन ।

आँखाको सबै उपचार कहिलेदेखि सुरु हुन्छ ?

–सुरुको दुई वर्ष मोतीविन्दु, जलविन्दु र रेटिनामा प्राथमिकता दिएका छौँ । लेजर (चश्मा नलाउनु पर्ने) सेवा ५ वर्षमा दिने योजना छ ।

आँखाभित्र पनि विशिष्टता हुन्छ ?

–सातवटा फरक–फरक स्पेशलिटी हुन्छन् । जेनेरल अप्थाल्मोलोजी, जसले सबै हेर्छन् । रेटिना, पेट्राटिक, कर्निया, जलविन्दु, लेजर (चश्मा हटाउने सर्जरी र नशाको न्यूरो अप्थाल्मोलोजी हुन्छ । 

नौ महिनाको अवधिमा प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

–मैले सोचेभन्दा राम्रो छ । औषतमा दैनिक ३० जनाले सेवा लिइरहनु भएको छ । हप्तामा १०–१२ जनाको अप्रेशन हुन्छ ।

महिला भएर काम गर्दा केही समस्या भोग्नुपर्यो ?

–आँखाका प्रायः डाक्टर महिला हुने भएकाले समस्यामा परिनँ । आँखामा  आकस्मिक केस कम हुने भएकाले प्रायः महिला नै डाक्टर हुन्छन् ।

आगामी योजना के छन् ?

–राम्रो सेवा दिने र अझै सुविधा बढाउनेछौँ ।