भरौल । सुनसरीको वराहक्षेत्रमा सञ्चालित छैठौँ अन्तर्राष्ट्रिय आमन्त्रित भरौल गोल्डकप फुटबल प्रतियोगितामा राष्ट्रिय जागृति फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।

बुधबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एन्फा मोरङलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ । निर्धारित समयसम्म दुवै टिमबाट गोल हुन सकेन । जितका लागि जागृतिका प्रवेश दनुवार, सुमित चौधरी, विजय राई, उमेश कार्कीले गोल गर्दा रमेश राजवंशीको बल बाहिरिएको थियो । यता एन्फा मोरङका विशाल पाण्डे, पमजय गच्छेदार र कमल खवासले मात्रै गोल गरे । सागर खड्का र विल्सन गिरीको गोल बाहिरियो ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले गरे । उनले खेलमैदानका लागि सहयोग गर्ने पनि बताए । न्यू स्टार क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा ८ वटा टिम सहभागी रहेको अध्यक्ष भेषराज कार्कीले जानकारी दिए ।

प्रतियोगितामा भारतको कञ्चनजङ्घा एफसी, दार्जिलिङको जनमुक्त परिवार, क्षमादेवी प्लानिङ बोइज युनाइटेड काठमाडौँ, डिवाइन बोइज युनियन काठमाडौँ, केबीए ग्लोबल भरतपुर एफसी र आयोजक न्यूस्टार क्लब सहभागी छन् । आज (बिहीबार) को खेल कञ्चनजङ्घा फुटबल क्लब सिलिगुडी र आयोजक न्यूस्टार क्लबबीच हुँदै छ ।