राष्ट्र, राष्ट्रियता, सङ्घीयतासहित गणतन्त्रको खारेजीसँगै राजतन्त्र स्थापनामा लागेका राष्ट्रिय शक्ति नेपालका अध्यक्ष डा. केशरबहादुर विष्टसँग ब्लाष्ट टाइम्सले गरेको कुराकानीको सम्पादित अंशः

धरानमा आउनुको खास कारण ?
–    चैत २० गते इनरुवा, सुनसरीमा श्री ५ महाराजाधिराज सरकारको अभिनन्दन गर्दैछौँ । त्यो अभिन्दन गर्ने सिलसिलामा सुनसरी जिल्लाका विभिन्न भागहरूका राष्ट्रिय शक्ति नेपालमा सहयोग गर्ने साथी, लब्ध प्रतिष्ठित व्यक्तिहरूसँगको छलफल सहयोगका लागि अनुरोधका लागि आएको हुँ ।

राजतन्त्रको स्थापनाका लागि राष्ट्रिय अभियान भन्नुभयो, गणतन्त्रमा राजतन्त्र किन आवश्यक पर्यो ?
–    तपाईंको प्रश्नसँग मेरो भिन्न मत छ । गणतन्त्रले के दियो ? तपाईंलाई सोधौँ –गणतन्त्रले के दिन खाजेको छ ? गणतन्त्र भनिएको देशको स्थिति के छ ? २०७२ को संविधानले तीनवटा कुरा नचाहिने कुरा दियो । गणतन्त्रात्मक राज्य, धर्म निरपेक्ष राज्य र सङ्घीयता लागू गर्यो । तीनवटै कुरामा मेरो आपत्ति छ । त्यस्तै मान्यता भएको सङ्घ–संस्था हो, राष्ट्रिय शक्ति नेपाल पनि । हामी दल होइनौँ । दल बनाएर, विषय बिकाएर चुनाव लडेर जितेर संसद्मा र स्थानीय तहमा प्रतिनिधित्व गर्न हिँडेका होइनौँ । २०७२ को संविधानले देशलाई गलत बाटोमा लग्यो । संविधानले नेपाल र नेपालीको अहित गर्यो । यो नेपालीले बनाएको संविधान होइन । नेपालमा विदेशीले लादेको संविधान हो । त्यसो भएर जति पनि विकृति देख्छौँ, यो संविधानको कारणबाट निश्रित कुरा हो । तपाईं एउटा व्यक्तिलाई, सरकारलाई, प्रचण्ड, देउवा र ओलीजीलाई कसैको नाम लिएर भन्न थाल्नुभयो भने त्यो व्यक्तिसँग रिस उठेको मान्छेले गर्ने भयो । यो संविधानमा गलत प्रवृत्ति र प्रक्रिया नभएको भए ओलीजीले दुईपटक संसद् विघटन गर्दा संसद् विघटन हुने पनि हुँदैनथ्यो । त्यसले के के विकृत्ति ल्यायो, मैले दोहोर्याइरहनु परेन । सर्वोच्चका न्यायाधीशहरू, प्रधान न्यायाधीशको यो दुर्गति पनि हुँदैनथ्यो । यही संविधानको कारणले भयो । महाअभियोग लगाउन सक्नुहुन्छ । महाअिभयोग पूरा नगरी महाअभियोगको एउटा लजिकल ऐन निर्माण नगरी महाअभियोग फासफुस्स पार्नुभयो । त्यस्तो गर्न पाइन्छ ? त्यो भए त मलाई अनुचित दुव्र्यवहार गर्नुभएको छ भनेर तपाईँमाथि मेरो उजुरी हुने भयो । होइन भने मलाई दोषी प्रमाणित गर्नुपथ्र्यो कि निर्दोष सावित गर्नु पथ्र्याे । यो संविधानको कारणले भएको हो । त्यति मात्रै होइन । व्यवस्था परिवर्तन भएर यहाँसम्म आउँदा राज्यलाई के भयो ?

गणतन्त्र स्थापित भएको धेरै भएको छैन, भर्खरै विकासको क्रममा छ, राजसंस्था स्थापना सम्भव होला ?
–    युद्धमा मान्छेहरू मर्छन् । दुर्घटना हुन्छ । तर, जागिर खाएबापत घाँटी रेटेर मारेको छ, त्यो युद्ध हो ? शिक्षकलाई रुखमा बाँधेर मारेको छ, त्यो युद्ध भयो ? युद्धमा मर्ने र मार्ने भयो होला । १७ हजार मान्छे मरेछन् । को मर्यो, किन मर्यो ? त्यता नआऊँ । युद्धका पनि नियम छन् । नियमअनुसार हुनुपर्रयो । तपाईंले भनेजस्तो युद्ध भएको भए ठीकै हुन्थ्यो । व्यवस्था परिवर्तन भएको २८ वर्ष भयो । पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्ध पनि भयो । त्यसपछि विचारको युद्ध पनि भयो । प्रजातान्त्रिक पक्ष र साम्यवादी पक्ष विश्व ध्रुवीकरण भए । यी मानसिक र भौतिक युद्धका पक्षहरू हुन् । नेपालको युद्ध कुन पक्षको हो ? युद्धको नाममा आफ्नो कुरालाई सावित गर्ने काम भएको छ । अयोग्य लडाकुलाई पैसा बाँडिरहेको छ नि, त्यो अयोग्य कसले बनाए ? आफैले बनाएको होइन ।

 यही व्यवस्थालाई सुधार गर्दा हुँदैन र ?
–    दल, पार्टी भन्ने कुरा एक ठाउँमा बस्ने भए त पार्टी नै चाहिँदैनथ्यो । पार्टीको सुन्दरता नै त्यही हो । विचार एक हुनु हुन्छ, आफ्नो आफ्नो काममा पनि हुनु हुन्छ । त्यसमा के बिग्रियो र ? आपसमा झगडा नगर, एक भएर आऊ भन्नु राम्रो हो । म अहिले एक्लै छु । मेरो मिसन पूरा हुँदैन । २० गते हेर्नुहोला, राप्रपासहितका सबै दल आउँछन् । राष्ट्रको परराष्ट्रमा नीति, सार्वभौमसत्ताका विषयमा तेरो मेरो हुनु हुँदैन ।

असङ्गठित हुनुहुन्छ नि ?
–    फागुन ७ गते महाराजाधिराजले दलहरूलाई समेत आह्वान गरेर सबैले मिलेर देश बनाऊँ आउनुहोस्, म पनि छु भनेको हो । दलले राजा हुँदैन भन्छ । जसले देश बनायो, त्यो चाहिँ हुँदैन । फुच्चे कहाँ जन्मियो ? ऊ चाहिँ दशवटा कुरा गर्ने अनि बबाल हुँदैन ?

राजसंस्था स्थापित गर्न सक्नुहुन्छ ?
–    राजसंस्था स्थापना गर्छौं । मिति तोकेका छैनौँ । राजसंस्था जनताले ल्याउने हो । राजसंस्था ल्याउने विषयमा दुईमत छैन । मिति जनताले तोक्छन् । १२ बुँदे सम्झौतामा राजसंस्था फाल्ने कहाँ लेखेको छ ? सङ्घीयतामा शासन व्यवस्था लैजाने कहाँ लेखेको छ ? सम्झौतामा नभएको कुरा लादियो र त्यही भएर फेल खायो । गत संविधानमा काम चलाउन संविधान खारेज भई काम चलाउ भयो । संविधानमा देशलाई दूरगामी असर पर्ने कुरामा जनमत सङ्ग्रह गरिनेछ भनेर लेखिएको छ । आफूले बनाएको संविधान आफैले पालना गरिएन ।

माग गरेर जानुपथ्र्यो होला नि ?
–    ३३ वर्ष भयो, व्यवस्था परिवर्तन भएकोे । राजा हटेको १६ वर्ष भयो । कुनै पनि कुराको सीमा हुन्छ । अब पनि हतार नगरी कति वर्ष पर्खिने ? श्री ५ महाराजाधिराजको अभिनन्दन मेरो होइन, आम नेपाली जनताको हो । १६ वर्षदेखि हटेको राजसंस्थाको स्थापनाका लागि हो । समाजवादी, साम्यवाद सबै वाद हेरिसकियो । देश मास्ने काम भयो । देश मास्न पाइँदैन । दलीय व्यवस्थाको विकल्प खोजेको पनि होइन ।

अन्त्यमा केही भन्नुहुन्छ ?
–    चैत २० गते इनरुवा सुनसरीमा श्री ५ महाराजाधिराजको अभिनन्दन कार्यक्रम गर्दैछौँ । सबै राजतन्त्रवादी सम्पूर्ण व्यक्तिहरूलाई उपस्थितिको लागि अनुरोध छ । हामीले राजाले शासन गर्नुपर्छ भनेका छैनौँ । दलीय व्यवस्था मास्न खाजेको पनि होइनौँ । राज्यको व्यवस्था परिवर्तन होइन, सबलीकरण र राजासहितको दलीय व्यवस्थासहित राजसंस्थाका लागि सबैलाई उपस्थित हुन पनि अनुरोध गर्दछु ।