नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको आज बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । बैठकले विश्वासको मतका लागि आफ्ना सांसदहरुलाई ह्वीप जारी गरिने उनले बताए । प्रतिनिधिसभाको यही चैत ६ गते बस्ने बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने भएका छन्।  

बैठकले प्रधानमन्त्री दाहाल नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गर्नुका साथै प्रतिनिधिसभाको आज बस्ने बैठकदेखि नै सत्ता पक्षको लाइनमा बस्ने निर्णयसमेत गरेको उनले जानकारी दिए ।

बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएकामा उनहरु दुवैलाई बधाई दिँदै कार्यकाल सफलताको कामना गरेको छ । बैठकले क्रिकेटको विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै आगामी दिनको सफलताका लागि कामना गरेको छ ।