धनकुटा । धनकुटा नगरपालिका र पर्डेप नेपालको आयोजनामा शनिबार बिहान सडक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
मुख्य सडक सरसफाइ अभियान अन्तर्गत धनकुटा बसपार्कदेखि परिचयमोडसम्म धरान–धनकुटा राजमार्गको मुख्य सडक सरसफाइ गरिएको हो ।

युएनडिपीको सहकार्य तथा पर्डेप नेपालको संयोजनमा धनकुटा नगरपालिकाले फोहोरमैला व्यवस्थापनको काम गरिरहेकोले सोही अनुसार राजमार्ग सरसफाइ गरिएको पर्डेप नेपालका कार्यक्रम संयोजक मीनप्रसाद सुवेदीले जानकारी दिए । सडकमा उम्रिएको घाँस, प्लाष्टिकले फोहोर भएपछि सरसफाइ गरिएको हो । कम्तीमा पनि आफ्नो घर वरपरको फोहोर आफैले उठाउने बानी भए गाउँ–टोल सफा रहने सुवेदीले बताए ।

देशकै सफा सहरको रूपमा पटक–पटक पुरस्कृत भएको धनकुटा नगरपालिकाले साप्ताहिक रूपमा धनकुटा बजार तथा राजमार्ग सफाइको कार्यक्रम आयोजना गर्ने जनाएको छ । सरसफाइका क्रममा राजमार्ग छेउछाउमा फोहोर गर्नेलाई चेतावनी दिइएको धनकुटा नगरप्रमुख चिन्तन तामाङले जानकारी दिए ।

नगरपालिकाको सरसफाइ अभियानमा पहिलो पटक परेको बसपार्कदेखि जिरोपोइन्टसम्मको तीन वर्षअघि मुख्यमन्त्री नमुना सडकको रूपमा पुनःनिर्माण गरिए पनि क्षतविक्षत भएको अवस्थामा छ । जिरोपोइन्टदेखि बसपार्कसम्मको करिब १ किलोमिटर सडक मापदण्डविपरीत दायाँबायाँ मिचिएको छ ।