विराटनगर  । विराटनगर–३ मा मुख्य कार्यालय रहेको तुलसी बहुउद्देश्यीय सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित सञ्चालकहरूविरुद्ध मोरङ प्रहरीमा ठगी मुद्दामा जाहेरी दिनेको घुइँचो लागेको छ । 

बिहीबारसम्म १ हजार २० जना बचतकर्ताहरूले ४५ करोड १४ लाख रुपैयाँ सहकारीले ठगी गरेको भन्दै मोरङ प्रहरीमा जाहेरी दर्ता गराएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । यो सङ्ख्या अझै बढ्ने उनले बताए । ‘अहिले पनि सयौँको सङ्ख्यामा सहकारीविरुद्ध उजुरी दिन आउने बचर्तकर्ताहरूको भीड लागेको छ’ –डिएसपी दहालले भने । सर्वसाधारणले बचत गरेको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोपमा सहकारी संस्थाका अध्यक्ष शर्मासहित ८ जना सञ्चालकविरुद्ध मोरङ प्रहरीले ठगी मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । प्रहरीले ठगी मुद्दामा सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवाससहित तीनजना सञ्चालकलाई गत आइतबार पक्राउ गरी अनुसन्धान सुरु गरेपछि ठगीमा उजुरी दिने बचतकर्ताको सङ्ख्या बढेको हो । 

पक्राउ परेकी सहकारीकी उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र प्रबन्धक खवासलाई मोरङ अदालतमा आइतबार ठगी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । सहकारीका सञ्चालकहरूले २१ हजार ७ सय १३ जना सर्वसाधारणले जम्मा गरेको एक अर्ब ४८ करोड ५५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । उजुरी दिन आउने मोरङको मात्र हो । झापा, सिरहा र गाईघाटको विवरण आउनै बाँकी छ ।

‘बचतकर्ताहरूको रकम फिर्ता नदिई फरार रहेको हुँदा बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचतलगायत खाताहरूमा बचत भएको देखिन्छ’ मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले भने, ‘संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशतभन्दा बढी ब्याज, बोनसलगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा परी जाहेरवालाहरूले आफ्नो तथा बालबच्चासहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा ठूलो रकम बचत गरेको देखिएको छ ।’ सहकारीका प्रबन्धक खवास, उपाध्यक्ष गौतम र सचिव न्यौपानेलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । फरार सूचीमा अध्यक्ष शर्मा, सञ्चालक सदस्यहरूमा आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई, अविजाल विश्वकर्मा र बन्टि अधिकारी रहेका छन् । उनीहरूको हकमा मोरङ प्रहरीले जिल्ला अदालत मोरङबाट आइतबार पक्राउ अनुमति लिइसकेको छ । 

तुलसी सहकारीका पीडितहरूलाई मोरङ प्रहरीले जुनियर अफिसरको नेतृत्वमा छुट्टै निवेदन दिने काउन्टर राखेर जाहेरी लिन थालेको छ । यो सहकारीमा सर्वसाधारणको १ अर्ब ४८ करोड ५५ लाख रुपैयाँ निक्षेप छ । मुख्य कार्यालय विराटनगर रहेको यस सहकारीको शाखा कार्यालय झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा छ ।