खै कहाँबाट सुरु गरौं म आफू जन्मेको, बाँचेको माटोलाई कसरी दोषी ठह¥याएर हिँड्नु । धर्ती र आमा एकै हुन्, जन्मदिने जस्तो भए पनि आमा हो । आमाभन्दा ठूलो अरू के होला ? मैले जन्म लिएको धर्ती विश्वको १ नम्बर हावापानी र वातावरण भएको जमिन हो । विश्वमा पाइने सबै हावापानी यही माटोमा पाइन्छ । मानिस कस्तो हुन्छ, त्यहाँको समाजले केहीहदसम्म निर्धारण गर्ला, समाज, हावापानी र वातावरणअनुसारकै बन्ला ।

को हो सती ? हाम्रो देशलाई किन सरापेर गइन् । के साँच्चै सतीले सरापेको देश यस्तै हुन्छ ? आफू जन्मेको धर्तीलाई मानिसले किन कस्तो ठाउँमा जन्म दियौ नि आमा भन्ने तुच्छ वचन लगाउन थाले ? मान्छेले आफू जन्मेको धर्तीप्रति किन गर्व गर्न छोडे ? यो एउटा गम्भीर विषय हो । यस्तो हुनुमा राज्यको बागडोर सम्हालेका राजनैतिक दल र तिनलाई नेतृत्व गरेका नेतृत्वहरूको स्वार्थका कारणले हुनसक्छ । प्रत्येक ८–१० वर्षमा नयाँ दल र पार्टी आउँछन्, त्यो २००७ सालदेखिको इतिहास हेर्न सकिन्छ । केही नयाँ गर्ने वाचा र कसमका साथ जनतालाई गुमराहमा राख्छन् होला त नि भनेर जनता परिवर्तनको पक्षमा भोट हाल्छन्, फेरि ८–१० वर्षपछि थाहा हुन्छ । तिनीहरू आफू र आफ्नाको आसेपासेका लागि मात्र रहेछ । यो झन् पुरानोभन्दा खत्तम रहेछ, भन्यो आफ्नै पुर्पुरो समात्यो । आफ्नै हातलाई सिलौटामा राखेर किच्याउन मन लाग्छ । आफैलाई धिक्कार्दै बस्यो देशको आर्थिक, सामाजिक अवस्था पहिलेको भन्दा खराब हुँदै जान्छ । अधोगतिमा गइरहन्छ । देशको चिन्ता गर्ने मान्छे सङ्घीय राजधानीमा राज्यको नीति र नियति देखेर आत्मदाह गर्छ, जल्छ । सरकारलाई के दरकार । आफ्नो सत्ता जोगाउन र आफ्नालाई जोगाउन तल्लीन हुन्छ, उसलाई राज्यसत्ताबाहेक सबै मिथ्या लाग्छ र भन्छ यो सङ्घीय गणतन्त्र नेपाल हो यहाँ बाँच्न र मर्न दुवै पाइन्छ । धूर्त चोर र फटाहाहरू वाचा निरिहहरू मर । यहाँ जङ्गलको नियम लागू छ, शक्तिमा हुने शक्तिशालीहरूले कमजोरलाई सिकार गर्ने हो र मार्ने हो । निरिह त सरकार मात्र बाँच्छ मान्छे त मर्नुपर्छ ।

यो देशमा जन्म लिएका सबैलाई गर्व गर्न मन लाग्छ । ऊर्जाशील युवा नेपाली भूमिमा कर्म गर्न चाहन्छ । यही भूमिलाई हराभरा र सुसंस्कृत बनाउन चाहन्छ । यो राज्यमा जन्म लिए बापत राज्यले यही लगानी गरी व्यापार, व्यवसाय वा जागिर गर्ने वातावरण निर्माण गर्न सक्दैन भने प्रत्येक दिन १५ सयदेखि २ हजार युवा विदेशिनु पर्छ भने श्रमिकको प्रत्येक दिन ४–५ लाशका बाकस विभिन्न मुलुकबाट नेपाल आउँछन्, यो राज्यमा तपाईं जन्मनुभएकोमा गर्व हुन्छ कि हीनताबोध ? आफै मनन् गर्नु होला । विदेशिनुको पीडा घरमा बूढा बा–आमा, पति वा पत्नीलाई छोडी जानेलाई थाहा हुन्छ त्यो पीडा व्यक्त गर्न कुनै शब्द भेटिँदैन । सरकारलाई रेमिट्यान्स चाहिएको छ, लाश आउनु घाटा हो । घाटाको व्यापार आखिर सरकार किन रुचाउँथ्यो । यो मन परेको छैन । मरेपछि किन आउनु उतै सड्नु, मात्र पैसा पठाउनू तिमी नआउनू । जिउँदो या लाश । आम सचेत नागरिक अहिले चरम् निराशामा छन्, फेरिन्छ सरकार मात्र न अवस्था फेरिन्छ, न त सरकारको कार्यशैली नै फेरिन्छ । फगत् मान्छे पाँच इन्द्रीय उही छ, खान्छ जसरी पैलाकाले खाएका थिए, गर्छ जे पहिलाकाले गरेका थिए, भन्छ जे पहिलाकाले भनेका थिए, फरक यति छ, पहिलाका खान पाएर मोटा थिए । अहिलेका बल्ल खान पाउँदै छन् । पातला छन्, पहिलाकाले देखाएर खान्थे । अहिलेका लुकेर खान्छन् । पहिलाका चिल्ला थिए अहिलेका चिप्ला छन् । कुरा उही हो फरक रत्तिभर छैन ।

मेरो देशमा सङ्घीय राज्य सरकारबाट फर्मान हुन्छ डोरी बेच्न किन्न पाइँदैन, आगो बोक्न पाइँदैन, पेट्रोल बोतलमा नदिनू, चक्कु नबेच्नु, नकिन्नु जनताले त्यति सजिलै आफूखुसी मर्न पाउँदैनन् । सरकार छ, तड्पाई तड्पाई मार्छ । तपाईं मर्न किन चिन्ता गर्नु हुन्छ ?  नेपालको मुटु सङ्घीय राजधानी काठमाडौंको संसद् भवनअगाडि प्रेमप्रसाद आचार्य (सन्तोष) ले आत्मदाह गर्नुपरेको बाध्यात्मक परिस्थितिको पत्रले जोसुकैको मनस्थिति हल्लाइदिन्छ । आगो लगाउने व्यक्ति हाम्रो समाजका एक प्रतिनिधि पात्र मात्र हुन् । यो समाजमा मर्नुभन्दा बौलाउनु निको ठानेर आफ्नो घर–परिवार सम्झेर लाखौं युवाहरू ज्यान फाल्न नसकेर मात्र बाँचिरहेका छन् । भ्रष्ट राजनीतिको कारण व्यापार–व्यवसाय चौपट भएर लाखौं युवामा चरम् निराशा छाएको छ । लाखौं वैदेशिक रोजगारीमा गएका छन् । राज्यले मर्न बाध्य पारेको तिनको कहालीलाग्दो पत्र पढेर यो देशमा रहेका आम सचेत नागरिकले यो सरकार र राज्यप्रतिको दृष्टिकोण कस्तो बनाएका होलान् ? हामी सहज अनुमान गर्न सक्छौँ । यस्ता कुराले नेपाल भूमिलाई आवश्यक जनशक्ति विदेश पलायन झन् मौलाएर जान्छ । यो नै अहिले राज गरिरहेका शासकहरूको मनोभावना पनि हो । लम्पट र स्वाँठहरू मात्र नेपाल राज्यमा रहे । राज्य सन्चालन गर्न सहज हुने र क्षमता नभएकाहरू शासकले जे भन्यो, त्यो स्वीकार गर्ने भएकोले शासकको भित्री योजना नेपालबाट धेरैभन्दा धेरै क्षमतावान सचेत नागरिक पलायन गराएर, आफ्नो स्वार्थ पूर्ति गर्ने चाहना स्पष्ट देखिन्छ । भ्रष्ट र नेताका आसेपासे, तिनका सन्तान अपवादमा भाग्यले साथ दिएका केही प्रतिशत अनि यथास्थितिमा बाँच्न चाहनेलाई मात्र यो देशमा बस्ने वातावरण निर्माण हुँदैछ । अरूको लागि यो देश हुँदै होइन । नेपालमा प्रत्येक वर्ष ५ लाख युवा कामको खोजिमा निस्कन्छन् । मुस्किलले सरकारी र निजी कम्पनीले ५० हजार नेपालीलाई रोजगारी दिनसक्छ । बाँकी ४ लाख ५० हजार कि बेरोजगार हुनुप¥यो कि सस्तो मूल्यमा श्रम बेच्न वैदेशिक रोजगारी रोज्नुको विकल्प अरू केही छैन ।

जनसङ्ख्याको आधारमा आप्रवासी कामदार पठाउने एशियाली देशहरूमा नेपालको स्थान तेस्रो छ । जुन ८% मा हुन आउँछ । कुल गार्हस्थ उत्पादनको आकारको तुलनामा बढी विप्रेषण भिœयाउने मुलुकमा विश्वकै अग्रस्थानमा रहेको छ । यो एकदमै खतरनाक अवस्था हो । नेपालमा ६०% घरधुरीमा वैदेशिक रोजगारीबाट विप्रेषण आय भित्रिरहेको छ, यो स्थिति भयावह हो । विदेशबाट आएको पैसा बा–आमा, छोराछोरीको खानपान बालबालिकाको पढाइ खर्च र स्वास्थ्य उपचार खर्चमै स्वाहा हुन्छ । यस्तो अवस्थामा विदेशबाट आएको युवा छुट्टीको १ महिना पनि टिक्न सक्दैन । आम्दानी केही हँुदैन खर्च महँगीले गर्दा फेरि वैदेशिक यात्रामा जान बाध्य हुन्छ । वैदेशिक रोजगारीबाट आएको पैसा कुनै उत्पादनमा लगाउन पाए अरूले रोजगारी पनि पाउने थिए, युवा विदेश पलायन हुनुपर्ने पनि थिएन । नेपालमा विप्रेषण कहाँ कति प्रतिशत उपयोग भएको छ, सरसर्ती हेर्न सकिन्छ । विश्व आप्रवास प्रतिवेदन २०२२ का अनुसार ऋण भुक्तानीमा २५.३%, दैनिक उपभोगमा २३.९%, पढाइ र स्वास्थ्यमा ९.७ % बचत मा २८ % सामाजिक कार्यमा ३.५ % व्यक्तिगत सम्पत्तिमा ३% व्यवसाय र उद्यमशीलता १.१% अन्य ५.५% यो डाटा हेर्दा वैदैशिक रोजगारीबाट आएको रकम खान, बस्न, पढाइ र स्वास्थ्यमा नै सकिएको देखिन्छ । आर्थिक वर्ष २०७८÷०७९ मा मात्र विदेशमा रहेका नेपालीले १ खर्ब ७ अर्व ३१ करोड रेमिट्यान्स नेपाल पठाएका छन्, त्यो गतवर्षको तुलनामा झन्डै ४५ अर्ब बढी हुन आउँछ । आर्थिक वर्ष २०७८÷०७९ मा विभिन्न देशमा रोजगारीका सिलसिलामा विदेशिएका कुल नेपालीको सङ्ख्या पुरुष ३ लाख १५ हजार ८ सय ६ र महिला ३३ हजार ६२ गरी जम्मा ३ लाख ४८ हजार ८ सय ६८ जना नेपाली विभिन्न देशमा रोजगारी गर्न आफ्नो मातृभूमि छोडेर विदेशिन बाध्य भएको तथ्यलाई नकार्न सकिन्न । यो तथ्याङ्क प्रत्येक वर्ष बढ्दो छ । नेपाल सरकारले विदेशबाट फर्किएका व्यक्तिहरूलाई कसरी नेपालमा टिकाउन सकिन्छ भनेर त्यससम्बन्धी नीति ल्याउन आवश्यक देखिन्छ । कतिपय युवा अब त नेपलालमै केही गर्छु विदेश जाँदिन भन्ने सोच बनाएर स्वदेश फर्किएका हुन्छन् सानो लगानि पुजी लिएर केहि उद्यम सन्चालन गर्छन । लगानी सबै डुब्छ, उसले कमाएको सबै पुँजी त्यही फसेको हुन्छ र ऊ निराश हँुदै फेरि साहुसँग ऋण माग्छ र पासपोर्ट झोलामा बोकेर मेनपावरको ढोका ढक्ढक्याउँदै विदेशिन बाध्य हुन्छ ।

नेपालमा लगानिको सुरक्षा कस्ले गर्दिने अनि युवा ले लगानी किन गर्ने ? यो प्रश्नको उत्तर न नेपाल सरकार सँग छ, न लगानि कर्तासँग । नेपाल मै केहि गर्ने अठोट गरेका युवा निराश हुन्छन्, अनि आफूले खाएको हण्डर र लगाएको लगानी डुबेको यथार्थ सबैलाई सुनाउँछ । यस्ता कुराले नयाँ लगानीकर्तालाई झन् निराश बनाउँछ । उसले जिन्दगीभर कमाएको पुँजी फसाउन चाहँदैन । ऊ स्वदेश फर्कनै चाहँदैन । उतै रोजगार गर्न बाध्य हुन्छ । युवा चरम निराशा यी कारणले छन् । नेपालको आर्थिक एवम् सामाजिक अवस्था, राजनैतिक अस्थिरता, नीतिगत तथा कानूनी अल्झन, सरकारी कार्यालयमा जटिल एवम् लम्बेतान प्रक्रिया, सुस्त र भ्रष्ट कर्मचारीतन्त्र, जताततै लामो लाइन, थेग्नै नसकिने महँगी घरपरिवारको बढ्दो आवश्यकता आदि कारणले नेपालीहरू स्वदेश फर्कनै चाहँदैनन् । सक्षम र दक्ष युवा पलायन हुनु भनेको देशको मूल प्रवाह नै पलायन हुनु हो । शिक्षित जमातलाई नेपालमा नै राख्न नसके अबको १०–२० वर्षपछि हाम्रो देश बूढाबूढी र केटाकेटीको मात्र देश भनेर चिनिनेछ । घरबाट घाटसम्म पु¥याउने काँधहरू नहोलान् कि भन्ने चिन्ता न हो । हुन त हामीले सोचेजस्तो सबैकुरा नहोला तर, यही धर्तीमा पहिलो पाइला टेकियो नेपाल आमा र तिनका सन्तति (देश र जनता) को चिन्ता गर्न त पाइन्छ नि ।