धरान । याक्खा जातीको संस्कृतीमा आधारित गीत ‘जेप्पा’ (वाचा/कसम) को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार हेनसेन याक्खाको रचना र राजन मुकारुङको संगीत रहेको ‘जेप्पा’ मा गायक राजेश पायल राई र गायिका सिता सिंगक लिम्बुले स्वर दिएका छन् ।

jeppa-3-300x169

आइतबार काठमाडौं स्थित मण्डला थिएटरमा एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा यो गीतका संगीतकार राजन मुकारुङ, चलचित्र अभिनेता दयाहाङ राई, गीतकार हेनसेन याक्खा, किरात याक्खा छुम्माका केन्द्रिय अध्यक्ष लिलबहादुर रोगु, छुम्माकै उपमहासचिव सोनाम याक्खा, चलचित्र निर्माता ज्योतिराज राई लगायतले भिडियो सार्वजनिक गरेका थिए ।

सनम याक्खा निर्देशित गीतको भिडियोमा अनुसा राई, टीबी याक्खा, हेनसेन याक्खा, जीवन याक्खा लगायतले अभिनय गरेका छन् । भिडियोको छायाँकन  भोगेन्द्र याम्फुले गरेका हुन् । संखुवासभा र तेह्रथुमको संगमस्थल तीनजुरेमा छायाँकन गरिएको भिडियोमा याक्खा जातीको पहिचानको रुपमा रहेको ‘फोप्मा’ (बर्की/पछ्यौरी) को महत्व संगै माया प्रेमको कथा प्रस्तुत गरिएको छ ।