धरान । लिम्बु समुदायमा ‘माङ्गेन्ना’ अर्थात शीर उठाउने संस्कार छ । यहि संस्कारमा आधारित चलचित्र ‘माङ्गेन्ना’ को प्रिमियर शो धरानमा सम्पन्न भएको छ ।

अग्रज कलाकार प्रेम सुब्बाको कथा तथा निर्देशन रहेको ‘माङ्गेन्ना’ चेली-माइतीको सम्बन्धको कथामा आधारित छ । चलचित्रले गाउँघरमा विद्यालय व्यवस्थापन समिति, सामुदायिक वन समिति जस्ता समितिमा हुने स्थानीय राजनीति र अनियमितताको कथा पनि प्रस्तुत गरेको छ । तेह्रथुमको छथर क्षेत्रमा छायाँकन भएको चलचित्रले सो क्षेत्रका पर्यटकीय तथा ऐतिहासिक स्थलहरुको प्रवद्र्धन समेत गरेको छ ।

IMG-9390

चलचित्रमा लामो समयदेखि अभिनय तथा चलचित्र निर्माणमा सक्रिय किशोर सम्बाहाङ्फेसँगै टिका माखिम, आरबी थाङ्देन, ममता लिवाङ, विपना आङछङ्वो, विनोद पोमूलगायतले अभिनय गरेका छन् । नयाँ कलाकारहरुको अभिनय पनि दर्शकले मन पराएका छन् । माङ्गेन्नाबाटै अभिनय सुरु गरेकी विपना आङ्छङ्वोले दर्शकबाट सोचे भन्दा राम्रो प्रतिक्रिया पाउँदा उत्साहित भएको बनाईन् ।

सोमबार धरानको फ्रेन्ड्स सिनेमामा भएको प्रिमियर शो गरेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘माङ्गेन्ना’ले मौलिक लिम्बु संस्कृति प्रस्तुत गरेकाले आफुलाई मन परेको बताए । 

मिक्लाजुङ फिल्म प्रालिका लागि सागर सिङ्गलको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा डिल्ली फोम्बोको पाश्र्व संगीत झुमा लिम्बु, लक्ष्मण लिम्बु लगायतको गीत समेटिएको छ । टिका माखिम र आरबी थाङ्देनले निर्माण गरेको चलचित्रलाई प्रकाश सुब्बाले छायाँकन गरेका हुन् भने हेमन योन्जनले सम्पादन गरेका छन् । चलचित्र अब विभिन्न ठाउँमा प्रदर्शन गर्ने तयारी भईरहेको निर्माण पक्षले जनाएको छ ।