धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व सहायक अस्पताल निर्देशकसमेत रहिसकेका डा. विकास साह ‘वल्र्ड पुलिस समिट’ मा सम्मानित भएका छन् ।

वल्र्ड पुलिस समिट मध्यपूर्व देश युएई (दुबई) पुलिसले आयोजना गर्दै आएको छ । विश्वभरिबाट अपराध न्यूनीकरणमा योगदान दिने प्रहरी तथा डाक्टरहरूलाई यो अवार्ड दिँदै आएको छ । विश्वभरि बढ्दै गएको साङ्गठनिक अपराधलाई न्यूनीकरणमा भूमिका खेलेको भन्दै उनलाई सम्मानित गरिएको हो ।

यस वर्ष यस अवार्डका लागि तीनजनाको नाम अन्तिम सूचीमा राखिएको थियो । जसमध्ये अलिबाबा एजेन्सीका मजोर टोम कोरोलेस, बीपी प्रतिष्ठाका डा. विकास साह र बेलायतस्थित नोर्दन आयरल्यान्डको ओप्सिस कर्पोरेशन लिमिडेटका केभिन माइकल साउन्डर छनोट भएका थिए । त्यसमध्ये अन्तिम नामावालीमा सर्वोत्कृष्ट अवार्ड ‘गुड समरिटन अवार्ड २०२३’ बाट उनलाई सम्मानित गरिएको हो ।

उनलाई कोरोना महामारीका बेला दिएको योगदान, लैङ्गिक हिंसा पीडितहरू तथा त्यस्ता हिंसाविरुद्ध गरेको अभियान, आफ्नो समाजको सुधारका निमित्त गरेको विभिन्न शोधका आधारमा अवार्ड प्रदान गरिएको हो । यस अवार्डका लागि विश्भरिबाट आवेदन माग गर्ने गरिएको छ ।

सोही मागका आधारमा सूचीबद्ध भएकाहरूलाई विभिन्न निर्णायक मण्डलले फरक–फरक नम्बर दिएका आधारमा छनोट गर्ने गरिएको छ । त्यसपश्चात् समिटका लागि अन्तिम तीनजनाको नामावली प्रकाशित गरी सम्मानित गर्ने गरिएको छ । डा. साहले आफू सम्मानित हुन पाएकोमा खुसी व्यक्त गरे । ‘अझै यस क्षेत्रमा काम गर्ने जोस पलाएको छ, त्यति मात्रै हैन, जिम्मेवारी पनि बढाएको छ’–उनले भने ।