धरान । नेपाली सेनाका भूतपूर्व जमदार आर.बी.थाङ्देन पछिल्लो समय म्युजिक भिडियो र फिल्म अभिनयमा सक्रिय छन् ।

उनले अभिनय गरेको ‘भेट्नलाई आएँ’ बोलको म्युजिक भिडियो केही महिनाअघि नै सार्वजनिक भइसकेको छ भने उनको अभिनय रहेको लिम्बू संस्कृतिमा आधारित नेपाली फिल्म ‘माङ्गेन्ना’ यही फागुन २९ गते प्रिमियर हुँदैछ । फिल्म प्रदर्शनका लागि व्यस्त रहेका उनी भन्छन्, ‘कलाकारिताको रहर उहिल्यैदेखिको हो तर, भिडियो र फिल्ममै अभिनय गरिएला भन्ने सोचेको थिइनँ ।’

ताप्लेजुङको मेरिङ्देन–१ याक्तेलीका थाङ्देन गाउँमा १२–१३ वर्षको उमेरदेखि नै धान नाच्ने र पालाम गाउने गरेको बताउँछन् । चाडपर्व र मेलामा तीन दिन तीन रातसम्म धान नाचेको र सोल्टिनीहरूसँग रुँदै छुटेको अनुभव सुनाउँछन् उनी । लिम्बू समुदायमा धान नाच र पालामको ठूलो महŒव छ । गाउँका प्रायः युवापुस्ताले उमेरमा पालाम गाउने र धान नाच्ने गर्छन् । थाङ्देन पनि यही मौलिक संस्कृतिसँगै कलाकारितातर्पm आकर्षित भए ।

गाउँमा लाहुरे भर्ती जाने प्रचलन व्यापक थियो । उनी पनि ब्रिटिस सेनामा भिडे तर, सफल हुन सकेनन् । त्यहीबेला पूर्वाञ्चल खानेपानी प्रोजेक्टमा साइट सुपरभाइजरको जागिर पाए । तर, उनको ध्यान सेनाको जागिरतिरै थियो । उनी २०४४ सालमा नेपाली सेनामा भर्ती भए । त्यसपछि प्रोजेक्टको जागिरबाट राजीनामा दिएर तालिममा गए ।

धरानको फुस्रेमा ९ महिना तालिम लिएपछि उनी गोरख बक्स गुल्ममा परे । नेपाली सेनामा १९ वर्ष जागिर खाएका उनले देशमा सङ्कटकाल अन्त्यपछि २०६३ सालमा जमदार पदबाट जागिर छाडे । उनी भन्छन्, ‘उमेरले त अझै जागिर खान पाउँथें तर, परिवारका लागि समय दिन र आफ्ना अधुरा इच्छाहरू पूरा गर्न जागिर छाडेर आएँ ।’

IMG_7592 copy 1

जागिर छाडेपछि धरान–१५ को तुलसीपथमा घर बनाएका थाङ्देनले ठेक्कापट्टा र व्यवसाय थाले । यही क्रममा कलकारहरू प्रेम सुब्बा र किशोर सम्बाहाङ्फेसँग सङ्गत भयो । सानैदेखि कलाकारितामा मोह भएका उनले यो क्षेत्रबारे अझै नजिकबाट बुझ्ने मौका पाए । उनको अभिनय मोहलाई श्रीमती इन्द्रमाया मादेनले पनि हौसला थपिदिइन् । उनी भन्छन्, ‘धेरै कुरा बुझिसकेपछि एकदिन मैले नै अभिनयमा रुचि भएको उहाँहरूलाई सुनाएँ । उहाँहरूकै सल्लाह सुझावअनुसार यो क्षेत्रमा पाइला राखेँ ।’

मेलिना राई र भीषण राईको स्वरमा रहेको पूर्वेली लोकगीत ‘भेट्नलाई आएँ’ मा उनले मोडल निरन्जली लामा, किशोर सम्बाहाङ्फे, सोनु थक्लेन र दीपना लावतीसँग अभिनय गरेका छन् । गत वैशाखमा छायाङ्कन गरेको भिडियो साउनमा सार्वजनिक भयो ।

पहिलो म्युजिक भिडियोमा राम्रो प्रतिक्रिया पाएपछि उनमा फिल्ममा अभिनय गर्ने रहर जाग्यो । लिम्बू संस्कृतिमा आधारित फिल्म ‘माङ्गेन्ना’ को तयारी भइरहेको थियो । थाङ्देन फिल्मको प्रोड्युसर र अभिनेता बने । उनी भन्छन्, ‘भिडियोमा अभिनय गर्दा अलि असहज लागेको थियो तर, पहिलो पटकमा राम्रो गरेको भनेर प्रतिक्रिया पाएँ । फिल्ममा काम गर्दा झनै सहज भयो ।’

चेली–माइतीको कथामा आधारित ‘माङ्गेन्ना’ आगामी सोमबार धरानको फ्रेन्ड्स सिनेमा हलमा प्रिमियर हुँदैछ । प्रेम सुब्बाले निर्देशन गरेको यो फिल्ममा किशोर सम्बाहाङ्फे, ममता लिवाङ, विपना अन्छङ्वो, टीका माखिम, विनोद पोमूलगायतले अभिनय गरेका छन् । यही फिल्मको प्रतिक्रियाले आफ्नो कलाकारिताको आगामी यात्रा तय गर्ने थाङ्देन बताउँछन् । प्रिमियर शो पछि फिल्म छायाङ्कन भएको तेह्रथुमको छथर, सुदापमा प्रदर्शन गर्ने उनको योजना छ । उनी भन्छन्, ‘आशा छ, दर्शकले मन पराउनुहुन्छ होला । राम्रो भयो भने अझै यही क्षेत्रमा निरन्तरता दिन्छु ।’