विजयपुर । सङ्घीयता कार्यान्वयनपछि पहिलो कार्यकालमा नामकरण हुन नसकेको प्रदेश १ ले बुधबार प्रदेशसभाको दुईतिहाइभन्दा बढी मतले ‘कोसी’ नाम पायो । तर, नामकरणसँगै समर्थन र विरोध भइरहेको छ ।
पहिचानको आधारमा नाम रहनुपर्ने माग गर्दै आएका विभिन्न सङ्घ–सङ्गठन र समूहले ‘कोसी’ नामकरण भएपछि सामाजिक सञ्जालदेखि सडकसम्म असन्तुष्टि जनाउँदै आएका छन् । अभियन्ता तथा बुद्धिजीवीहरू भने पहिचानवादी दल र सङ्घ–सङ्गठनहरू एकमत नहुँदा कोसी प्रदेश नामकरण भएको बताउँछन् । एक वर्षअघि जनता समाजवादी पार्टी (जसपा) ले पहिचानको आधारमा प्रदेशको नाम ‘किरात–लिम्बुवान–मधेश–शेर्पालुङ प्रदेश’ राख्न माग गरेको थियो । पहिचान पक्षधरहरूले प्रदेशको नाम ‘शेर्पालुङ–किरात–मधेश–लिम्बुवान’, किरात, लिम्बुवान, ‘लिम्बुवान–किरात’, ‘किरात–लिम्बुवान’, ‘किरात–सगरमाथा’लगायत आ–आफ्नै जातीय समुदायका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने माग राख्दै आएका थिए ।
आदिवासी जनजातिमा बढी प्रभावशाली देखिएका राई र लिम्बू समुदायबीच नाममा एकमत हुन सकेको थिएन । विशेषगरी राई समुदाय ‘किरात’ को पक्षमा, लिम्बू समुदाय लिम्बुवानको पक्षमा थिए । केही भने ‘लिम्बुवान–किरात’ हुनुपर्ने पक्षमा थिए । राईहरूमै केहीले ‘खम्बुवान’ को माग गरेका थिए । बुद्धिजीवी हरिप्रसाद दाहाल इतिहासलाई नियाल्दा पहिचानको आधारमा ‘किरात’, ‘लिम्बुवान’, वा ‘किरात–लिम्बुवान’ हुँदा पनि गलत नहुने बताउँछन् । उनी भन्छन्, ‘अझै पुरानो इतिहासलाई हेर्ने हो भने ‘कौसिकी’, ‘कोसी’ मा पनि धार्मिक, सांस्कृतिक महत्व जोडिएको छ । ‘कोसी’ आफैमा सभ्यता हो ।’ जनमत स्वीकार गर्नुपर्ने बताउँदै दाहाल भन्छन्, ‘पहिचानको कुरामा एकमत हुन नसक्दा भूगोलको आधारमा कोसी आएको हो ।’
लामो समय पहिचानका पक्षमा बलियो आवाज उठेपनि भूगोलको आधारमा नामकरण हुनुमा पहिचानवादी नै कारक बनेको बुद्धिजीवी दीपक लिम्बू बताउँछन् । उनी भन्छन्, ‘सत्यलाई स्वीकार्नु पर्छ । कोसी प्रदेश नामकरण हुनुको मूल कराण नै पहिचानवादी शक्ति एकमत नहुनु हो ।’ ऐतिहासिक पृष्ठभूमिको आधारमा पहिचानलाई प्राथमिकतामा राखेर नामकरण गर्ने अन्तर्राष्ट्रिय अभ्यास भएकाले प्रदेशको नाम बहुमतले पारित गरे पनि भविष्यका लागि राम्रो सन्देश नदिएको बताउँदै उनी भन्छन्, ‘अब हाम्रो उपाय छैन भनेर पहिचानवादी एक भई छलफल गरी आन्दोलन गर्नुपर्छ ।’
अभियानकर्मी शालिक सतासक राई भने पहिचानवादी एकमत नहुनाले नै कोसी नामकरण भएको भन्नेमा सहमत छैनन् । उनी भन्छन्, ‘सरकारले हामीलाई सहमत भएर आउनू भनेर छलफलमा कहिल्यै बोलाएन ।’ उनी सभ्यतासँग मनोविज्ञान, भाषा संस्कृतिसँग पहिचान जोडिएका पहिचानका आधारमा नामकरण गर्न माग गरेको बताउँछन् । उनी भन्छन्, ‘अझै सशक्तरूपमा आन्दोलन अघि बढ्छ ।’
भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपाने भने यस निर्णयलाई गलत निर्णयका रूपमा लिन्छन् । हाल अमेरिकामा रहेका उनले फेसबुक म्यासेन्जरमार्फत् भिडियो कुराकानीमा भने, ‘लामो समय निर्णय नगरिनु पनि ठीकै थियो । सर्वसम्मति नभइकन निर्णय गर्नु हुँदैनथ्यो । दोस्रो कुरा, प्रदेश १ को नाम छँदै थियो त के बिग्रिएको थियो ।’ उनले प्रदेश सांसद्लाई निर्णय गर्ने अधिकार हो, त्यस हिसाबमा ठीकै भए पनि जनताप्रतिको कर्तव्य पालना नगरेको दाबी गरे ।
‘दलको आदेश मान्य गरेको देखियो । परनिर्देशित भएको अनुभव भयो । माओवादी केन्द्र पनि प्रतिगमन र अवसरवादमा लागेको देखियो । सत्ता सुखका लागि उसले जे पनि स्वीकार गरेको देखियो । यसले जनयुद्ध सुरु गर्दाका नारालाई विसर्जन गरेको छ’–उनले प्रदेशको नाम भूगोलको आधारमा मात्र राख्नु ठीक नभएको सङ्केत गर्दै भने । उनले कोसी नामले मेचीलाई नसमेट्ने भएकाले इतिहास, पहिचान र भौगोलिक विस्तारलाई समेटेर नाम राखिनुपर्ने बताए ।
‘त्यसका लागि किरात वा किरात शब्द जोडिएको अर्कै नाम ठीक हुन्थ्यो । यो नामकरणले साँचो अर्थमा गणतान्त्रिक व्यवस्थाको पनि प्रतिनिधित्व गर्दैन । यसमा संशोधन हुनुपर्दछ’–उनले भने ।
कतिपय विज्ञहरू भने कोसीको आफ्नै सभ्यता र धार्मिक, सांस्कृतिक महत्व भएको बताउँछन् । बुद्धिजीवी डा. राजेन्द्र शर्मा कोसी
नदीले पूर्वको पहाडी भू–भाग समेटेको र कोसी सभ्यताको पहिचान भएको बताउँछन् । उनी भन्छन्, ‘सांस्कृतिक पहिचानभन्दा भौगोलिक पहिचानलाई सकारात्मकरूपमा लिएको छु ।’ उनी प्रजातन्त्रमा मतको कदर गर्नुपर्ने बताउँदै भन्छन्, ‘चित्त नबुझेकाले दुईतिहाइ मत लिएर अर्को बनाउँदा भइहाल्छ, आपत्ति मान्नु पर्दैन ।’