धरान । कोशी प्रदेशको प्रमुख फलफूल तथा तरकारी बजारका रूपमा रहेको धरान–१३ स्थित कृषिउपज बजार केन्द्रमा यस वर्ष आँपको कारोबार बढेको छ । आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म मात्रै ४ हजार ८ सय ४० मेट्रिक टन आँपको कारोबार भइसकेको छ । जसको अनुमानित मूल्य करिब ३३ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा ४ हजार ६ सय ३० मेट्रिक टन आँपको कारोबार हुँदा ३० करोड रुपैयाँ बराबर रहेको थियो ।
केन्द्रका अनुसार यस वर्ष कारोबार परिमाणमा मात्रै होइन, मूल्यमा पनि वृद्धि भएको छ । गतवर्ष आँपको औसत थोक मूल्य प्रतिकिलो ६५ रुपैयाँ रहेकोमा यस वर्ष ७० रुपैयाँ पुगेको छ । अझै साउन महिनासम्म पहाडी जिल्लाबाट आउने आँप र भारतबाट सीमित परिमाणमा आउने आँपका कारण कारोबार थप बढ्ने अनुमान गरिएको छ । खुद्रा मूल्य भने एक सयदेखि एक सय ५० रुपैयाँ प्रतिकेजीसम्म रहेको छ ।
कृषिउपज बजार केन्द्रका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार धरानको बजारमा बिक्री हुने आँपमध्ये करिब ९० प्रतिशत नेपाली उत्पादन हो । बाँकी १० प्रतिशत भारत र चीनबाट आयात हुने गर्छ । “धरानमा स्थानीय उत्पादनको माग अत्यधिक छ । विशेषगरी मधेशका जिल्लाबाट आउने मालदह आँप उपभोक्ताको पहिलो रोजाइ बनेको छ”–उनले ब्लाष्टसँग भने, “यो वर्ष आँपको मूल्य बढे पनि कारोबार पनि बढेको छ ।”
कृषि बजारका अध्यक्ष काजी गिरीका अनुसार धरानको बजारमा आउने आँपमध्ये अधिकांश सप्तरी, सिरहा र सर्लाहीबाट आउने गर्छ । त्यसैगरी धनकुटाको मूलघाट क्षेत्रबाट पनि आँप आपूर्ति हुने गरेको छ । धरानको बजारमा मालदह, दसहरी, बम्बई, कृष्णभोग, कलकत्ते र गुलाबखास जातका आँपको कारोबार हुने भए पनि मालदह सबैभन्दा धेरै बिक्री हुने गरेको आँप व्यवसायी बताउँछन् । व्यापारीहरूका अनुसार यसको स्वाद, मिठास र गुणस्तरका कारण उपभोक्ताले सबैभन्दा बढी यही जातको आँप रोज्ने गरेका छन् ।
आँपको मुख्य कारोबार वैशाखदेखि सुरु भएर भदौसम्म चल्ने गर्दछ । कृषिबजारका व्यवस्थापक भट्टराईका अनुसार नेपाली उत्पादन जेठ अन्तिमबाट साउन पहिलो सातासम्म बजारमा आँप आउने गरेको छ । सिजनको सुरुवात र अन्तिम समयमा भने भारतीय र चाइनिज आँपको बजार हुने गरेको छ । उनका अनुसार चीनबाट आउने आँप अत्यधिक गुणस्तर भएको पाइन्छ तर मागअनुसार बजारमा नआउने व्यवस्थापक भट्टराई बताउँछन् ।
धरानको बजारमा देखिएको कारोबार वृद्धि नेपालको समग्र आँप उत्पादनसँग पनि जोडिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले १८ जुन २०२६ मा सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार नेपालमा करिब ४२ हजार ७ सय ७३ हेक्टर क्षेत्रफलमा आँप खेती हुन्छ । तर ७७ प्रतिशत उत्पादन मधेश प्रदेशबाट हुने गरेको सरकारी तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक वर्षमा मधेश प्रदेशमा २ लाख ९४ हजार ५ सय ६७ मेट्रिक टन आँप उत्पादन भएको अनुमान गरिएको छ । उत्पादनमा केही कमी आए पनि बजारको माग भने घटेको छैन ।
नेपाल सरकारको तथ्याङ्कअनुसार सिरहा, सप्तरी, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा प्रमुख आँप उत्पादक जिल्ला हुन् । धरानमा पनि यिनै जिल्लाको उत्पादन बिक्री वितरण हुने गरेको छ । कृषिबजारका व्यवस्थापक भट्टराईका अनुसार धरानमा बढीजसो सप्तरीबाट आँप आउने गरेको छ । सप्तरीका आँप बजारमा बढी बिक्री हुने गरेको उनको भनाइ छ । आँपको सिजनमा कतिपय आँप व्यापारीहरूले अन्यत्र स्थानबाट ल्याइएका आँप भए पनि सप्तरीको प्रचार गरेर आँप बिक्री वितरण गर्ने गरेको एक उपभोक्ता बताउँछन् ।
नेपालको तराई तथा भित्री मधेश आँप उत्पादनका लागि उर्वर भूमि मानिन्छ । यद्यपि नेपाल अझै आँपमा पूर्णरूपमा आत्मनिर्भर हुन सकेको छैन । भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा भारत र चीनबाट ९ हजार ६५४.२९२ मेट्रिक टन आँप आयात भएको थियो, जसको मूल्य ६४ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबर थियो । त्यसमध्ये भारतबाट मात्रै ८ हजार ६३९.१९८ मेट्रिक टन आँप ५४ करोड ३८ लाख ३९ हजार रुपैयाँ बराबरको आयात भएको थियो ।
चालु आर्थिक वर्ष २०८२/०८३ को जेठसम्म भने नर्वेबाट ४४ केजी आँप करिब ६ हजार रुपैयाँ बराबरको आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । व्यवसायीका अनुसार बढी आँप आयात असारमा हुने गरेको छ । तर विभागले तथ्याङ्क सार्वजनिक गरेको छैन् । विभागले प्रत्येक महिनाको ८ गते अघिल्लो महिनाको तथ्याङ्क सार्वजनिक गर्ने गरेको छ ।
धरानसहित पूर्व–पश्चिम राजमार्गदेखि माथिल्लो क्षेत्रको बजारमा आयातित आँपको प्रभाव सीमित देखिएको छ । स्थानीय तथा मधेशका किसानको उत्पादनले बजारको अधिकांश माग धानेकाले आयातित आँप मुख्यतः बेमौसममा मात्रै आउने गरेको व्यापारीहरू बताउँछन् ।
पूर्वी नेपालको प्रमुख कृषि थोक बजारका रूपमा विकसित धरानमा आँपको कारोबार निरन्तर बढ्दै जानु स्थानीय किसान, व्यापारी र उपभोक्ताबीचको विश्वासको सङ्केत मात्र होइन, नेपाली उत्पादनप्रतिको बढ्दो आकर्षण पनि भएको व्यवसायीहरूको भनाइ छ । यदि उत्पादन, भण्डारण र बजार व्यवस्थापनमा थप सुधार गर्न सकिए नेपालमै उत्पादन भएको आँपले आयातलाई अझै घटाउँदै किसानको आम्दानी उल्लेख्यरूपमा बढाउन सकिने बताइन्छ ।