बिर्तामोड । ‘कोसी’ प्रदेश नामाङ्कनको विरोधमा झापाको बिर्तामोडमा प्रदर्शन गरिएको छ । उनीहरूले प्रदेशको नामकरण खारेज गरेर पहिचानसहितको नाम राख्नुपर्ने माग राखेका छन् ।
आदिवासी जनजाति महासङ्घ, जनता समाजवादी पार्टी, किरात राई यायोक्खा र राष्ट्रिय जनमुक्ति पार्टीले बिर्तामोडमा विरोधसभा गरेका हुन् । कार्यक्रममा जनता समाजवादी पार्टीका झापा अध्यक्ष दीपेनबाला राईले प्रदेशको नाम कोसी राख्ने निर्णय प्रतिगामी भएको आरोप लगाए । नेकपा (एमाले), नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)का प्रदेशका नेताले गलत कदम चालेको भन्दै राईले सच्याउन अनुरोध पनि गरेका छन् ।
आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष केवलराम राईले पहिचानसहितको प्रदेश घोषणाका लागि सशक्त आन्दोलन गर्नका लागि एकजुट हुनुपर्ने बताए । आदिवासी नेता सन्तोष गणेशले प्रदेशको नामकरण एकात्मक भएकाले आन्दोलनको दबावमा नाम परिवर्तन गराएरै छोड्ने बताए । कार्यक्रममा कर्ण राजवंशी, भरत श्रेष्ठ, गजेन्द्र आङ्बुहाङ, सनम राजवंशीलगायतले बोल्दै प्रदेशको नामकरण पहिचानसहितको हुनुपर्ने माग गरेका थिए ।
यसैबीच नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् धनकुटाको अगुवाइमा धनकुटा–७ जिरोपोइन्टमा विरोधस्वरूप १ घण्टा चक्काजाम गरिएको छ । बिहीबार बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गरिएको किरात राई यायोक्खा जिल्ला कार्यसमिति धनकुटाका अध्यक्ष उद्धवमणि राईले बताए । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राईले प्रदेशवासीको भावना र चाहना विपरीत कोसी प्रदेश नामकरण गरिएको बताए ।
यसैगरी धरानको भानुचोकमा लिम्बुवान किरात संयुक्त सङ्घर्ष समितिले राँके जुलुससहित विरोध प्रदर्शन गरेको छ । साथै प्रदेशका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरिएको छ । प्रदेशसभाले बुधबार मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘कोसी’ टुङ्गो लगाएको थियो ।