धरान । २३ औँ टुबोर्ग बूढासुब्बा गोल्डकपमा क्यामरुनी क्लब एभिनियर एफसी उपाधि होडमा १२ दिनअघिको प्रतिद्वन्द्वी खेलाडी सम्मिलित फरक क्लबसँग भिड्दै छ ।

यही फागुन ८ गते मात्रै बागमती प्रदेशको राजधानी हेटौँडामा भेट भएको चिरपरिचित खेलाडीहरू सम्मिलित फरक क्लब काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटीसी)सँग भेट भएको हो । एभिनियरले बिहीबारको अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० गोलले हराउँदै केएफटीसीसँग भेट पक्का गरेको छ । हेटौँडामा सम्पन्न ‘सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ मा एभिनियर दोस्रो सेमीफाइनल खेलमा हिमालयन शेर्पा क्लबसँग पराजित बनेको थियो ।

उक्त क्लबमा आबद्ध अधिकांश खेलाडीहरू केएफटीसीमा छन् । यसकारण पनि चिरपरिचित खेलाडीहरूसँग एभिनियर भिडन्त गर्न लागेको हो । यो खेल बदला र नयाँ अवसरको रूपमा रहेको छ । अफ्रिकन खेलाडी सम्मिलित क्लबले २१ औँ बूढासुब्बाको उपाधि जितेको थियो । त्यसबेला आयोजक धरान फुटबल क्लबलाई अफ्रिकन युनाइटेडले टाइब्रेकरमा पराजित गर्दै उपाधि जितेको थियो ।

त्यसपश्चात् अफ्रिकन टिम सहभागी भएको थिएन । यसपटक सहभागी एभिनियर दुई वर्षअघि स्थापित क्लब हो । जहाँ क्यामरुनी खेलाडीहरू सम्मिलित छन् । एभिनियरका प्रशिक्षक आशिक थापा मगरले भने, ‘दुई वर्षअगाडि स्थापित भएको क्लब हो । अहिलेसम्म १५–२० वटा टुर्नामेन्ट खेलिसक्यौँ ।’ एभिनियर हिमालयन शेर्पासँग फागुन ८ गते १–० ले पराजित भएको थियो ।

एभिनियरले हालै बूढासुब्बा आयोजक क्लबलाई बर्दिबासमा सम्पन्न मेयर गोल्डकपको फाइनलमा हराउँदै उपाधि जितेको थियो । त्यसपश्चात् हेटौँडाको प्रतियोगितामा सहभागी ऊ हिमालयन शेर्पा क्लबसँग पराजित हुन पुग्यो । एभिनियरले २०७८ सालमा हेम्जा गोल्डकप र भरौल गोल्डकप जितेको थियो । बूढासुब्बाको उपाधि होडमा पुगेपश्चात् प्रशिक्षक मगरले भने, ‘आजको खेलबाट सन्तुष्ट नै छु, फाइनलमा अझै राम्रो हुन्छ । राम्रा खेलाडी मोसेस घाइते पनि थिए । उनलाई यस गेममा खेलाउन सकेनौँ । अर्को गेममा खेलाउनेछौँ ।’

शारीरिक रूपमा अग्ला र बलिष्ठ रहेका एभिनियरका खेलाडीले एन्फा मोरङका छरिता खेलाडीहरूलाई पूर्वाद्र्धमा चल्न दिएनन् । वान टच शैलीमा खेले पनि मोरङका खेलाडीमाथि हाबी भए । फलतः पूर्वाद्र्धको ४४ मिनेटमा टिम्बाले गोलपोष्टको माथिल्लो बारमा लागेर रिबाउन्ड भएको बललाई हेडमार्फत् गोल गरे । उत्तरतर्फको मैदानमा रहेका मोरङको टिमले उक्त बललाई ‘अफसाइड’ भएको मान्दा त्यसको फाइदा टिम्बाले उठाए । खेलको म्यान अफ दी म्याच पनि उनी नै घोषित भए । त्यो गोलको अवसर भने साबा अलीले सिर्जना गरेका थिए । करिब १८ यार्डबाट गरेको भली प्रहार माथिल्लो बारमा ठोक्किएर रिबाउन्ड भएको थियो ।

‘हाम्रा खेलाडीले पहिलो गोल अफसाइड भयो भन्ने ठान्दा हामी १–० ले पछि पर्यौँ’ एन्फा मोरङका प्रशिक्षक रनु राना मगरले भने, ‘शारीरिक रूपमा दह्रो भएकाले उनीहरूलाई एडभान्स भयो । हामी त्यसमा चुक्यौँ । खेल समग्रमा राम्रै खेलेका थिए ।’ दोस्रो हाफमा एभिनियरलाई केही दबावमा राखेको मोरङले गोलपोष्टमा प्रहार गर्ने अवसर सिर्जना गर्न सकेन । दोस्रो हाफको ४२ औँ मिनेटमा ध्यान विष्टले एभिनियरका कियाली रजकको प्रहारलाई बचाउन खोज्दा आफ्नै गोलपोष्टमा छिर्न पुग्यो । एभिनियरले उपहार गोल प्राप्त गर्दा जित सुनिश्चित भयो । त्यसो त एभिनियरले सुरुवाती १० औँ मिनेटमा फ्रिडेरिक मेइडिजोको सशक्त प्रहारलाई गोलरक्षक प्रनिजय गच्छदारले सुन्दर बचाउ गरे । उनलाई टिम्बाले गोल प्रहारको अवसर जुराइदिएका थिए ।

३० औँ मिनेटमा रिचार्डो विल्सनले गरको प्रहारलाई गोलरक्षकले बचाए । यता पहिलो हाफमा खेलको २१ औँ मिनेटमा सञ्जय धिमालको सशक्त प्रहार दोस्रो बारनजिकैबाट बाहिरियो । उनलाई सागर विकले पास दिएका थिए । दोस्रो हाफको केही क्षण मोरङले बल नियन्त्रणमा लिए पनि त्यसलाई निरन्तरता दिन सकेन । खेलको म्यान अफ दी म्याच घोषित टिम्बाले नगद १० हजार रुपैयाँसहित ट्रफी पाए ।

प्रतियोगिताको फाइनल भोलि (शनिबार) हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ । आज (शुक्रबार) धरान उपमहानगरपालिका र आयोजकबीच मैत्रीपूर्ण खेल साथै फाइनलको प्रि–म्याच कन्फ्रेन्स पनि हुँदै छ ।