धरान फुटबल क्लबको आयोजनामा हुँदै आएको अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप कोरोना भाइरस महामारीका कारण दुई वर्ष स्थगित भएको थियो । यसवर्ष यही फागुन १३ गतेबाट २३ औँ गोल्डकप हुँदै छ । यही गोल्डकपका विषयमा क्लबका अध्यक्ष किशोर राईसँग ब्लाष्टले गरेको कुराकानीका सम्पादित अंशः

गोल्डकपको तयारी पूरा भयो ?
–तयारी अन्तिम चरणमा छ । १२ गते तयारी पूरा हुन्छ ।

तयारी कस्तो छ ?
–पहिलेभन्दा धरै फरक गरेका छौँ । खेलमैदान व्यवस्थापन गरेका छौँ । आर्थिकरूपमा व्यवस्थित हुने प्रयास गरेका छौँ ।

कति टिम सहभागी हुँदै छन् ?
–तीन विदेशीसहित ८ टिम सहभागी हुँदै छन् ।

‘ए’ डिभिजन लिग खेल्ने समूहलाई आमन्त्रण नगरेको भन्ने चर्चा छ नि, किन आमन्त्रण गर्नुभएन ?
–‘ए’ डिभिजन खेल्ने समूह पनि छन् । नेपाल पुलिस क्लब छ । हामीले प्रत्येक प्रतियोगितामा रणनीति परिवर्तन गर्दै आएका छौँ । हाम्रो परीक्षणकाल पनि हो । परीक्षणकाल यो अर्थमा हो कि हामी मुनाफामा पनि जाने र अन्तर्राष्ट्रियस्तरको गोल्डकप पनि बनाउने । भारतसहित बङ्गलादेश र अफ्रिकन गरेर तीन विदेशी टिमलाई पनि आमन्त्रण गरेका छौँ । पहिले भारतलाई मात्रै आमन्त्रण गर्दथ्यौँ । गोल्डकपमा मोफसलका फुटबल क्लब र स्थानीय क्लबहरूलाई अवसर दिन खोजेका छौँ । नवीन खेलाडी र क्लबलाई प्रमुख प्राथमिकतामा राखेका छौँ । एक–अर्कासँग सम्बन्ध स्थापित गराउने विचार राखेका छौँ ।

विदेशीलाई विजयी गराउन स्वदेशी टिमलाई सहभागी हुनबाट नै बञ्चित र हतोत्साहित गर्ने ?
–होइन, प्रतियोगिता कसैको सफारिसमा जित्ने होइन । पहिले काठमाडौंका समूहलाई धेरै आमन्त्रण गथ्र्यौं । अहिले काठमाडौँको टिम कम राख्यौं । स्थानीय समूहलाई प्राथमिकता दियौं । यहाँ प्रतिस्पर्धा गरेर जितेर जाने हो । अन्तर्राष्ट्रिय नामअनुसारको काम गर्न खोजेको हौँ । त्यसैले विदेशी टिमलाई अवसर दियौं । स्वदेशीलाई हतोत्साहित गरेको होइन ।

नेपालमा गोल्डकपको इतिहासमा बूढासुब्बा गोल्डकपको महत्वपूर्ण भूमिका छ, तर वर्षेपच्छिे यसको साख गिर्दै गएको छ, यसलाई कसरी लिनुहुन्छ ?
–यसलाई म सहजरूपमा लिन्छु । च्याउ उम्रिएजस्तै टोलकप र गोल्डकप प्रतियोगिताहरू आरम्भ भएकाले त्यस्तो लागेको हो । गोल्डकपको साख गिरेको होइन । काठमाडौँको टिम १ लाख पुरस्कारको टोलकपमा पनि खेल्ने त्यही टिम बूढासुब्बा गोल्डकपमा पनि खेलिदिएकाले त्यस्तो लागेको हो । बूढासुब्बा गोल्डकपको प्रतिष्ठा उस्तै छ । प्रतियोगिताको शैली, संस्कार अरूभन्दा फरक छ । हामीले फुटबलका माध्यमबाट फरक सन्देश दिन्छौँ । उद्घाटनमा लाइभ बूढासुब्बाका गीत गाउनुहुन्छ । विभिन्न विधाका खेलाडीहरूद्वारा मार्चपास गरिन्छ । सम्पूर्ण पूर्वखेलाडी, वर्तमान खेलाडीको उपस्थितिमा आयोजना गछौँ । शुद्ध फुटबल यहाँ हुन्छ । २२ औँ पटकसम्म जस्तोसुकै आरोह अवरोह पार गर्दै सञ्चालन ग¥यौँ । २३ औँमा कोभिडको कारणले रोकिएको थियो । साख गिरेको होइन, बूढासुब्बा गोल्डकपको गरिमा एक तह भए पनि माथि उठाएर देखाउँछाँै ।

धरान फुटबल क्लब हालसम्म विजयी हुन सकेको छैन, यस पटकको रणनीति कस्तो छ ?
–जितौँ भन्ने सबैको धारणा हुन्छ । जिताउनका लागि खर्च गरेर राम्रो खेलाडी ल्याउनु पर्यो । राम्रो खेलाडी ल्याउँदा धरानको खेलाडी माइनस हुन्छ । धरानको खेलमा धरानको खेलाडीले खेल्न पाएन भने अन्याय हुन्छ । धरानकै खेलाडी खेल्छन् र जित्छन् । धरानकै खेलाडीले जितोस् भनेर पहिलेदेखि नै तयारीमा लागिरहेका छौँ । स्थानीय खेलाडीले खेल्छ र जित्छ पनि ।

गोल्डकप जित्न सक्ने खोलाडी क्लबले उत्पादन गर्न नसकेको हो ?
–हामीले उत्पादन गरेका छौँ । क्लबले पाल्न सक्दैन । काठमाडौँका क्लबले पाल्ने भएकाले उतैबाट खेल्छन् । धरानको खेलाडी मात्रै ल्याउने हो भने कप उचाल्न सक्छ ।

क्लबले अन्तिम चरणमा मात्रै टिम सेट गर्छ, यो पनि कारण होला नि ?
–पहिलेदेखि नै तयारी गरिरहेका छौँ । टिम निकालेर तयारी गर्यो भने अर्को खेलाडी लगाउनु पर्ला । हाम्रो काम राम्रो टिम निकाल्ने र अरूलाई फाल्ने होइन । कम्तीमा एक महिनामा अन्य खेलाडीले पनि सिक्न पाउँछन् । टिम एकैचोटी सेलेक्सन हुँदैन । लामो प्रक्रिया छ । प्रक्रियाअनुसार प्रशिक्षकले गरिरहनुभएको छ । अन्तिममै सेट गरेकाले पराजय भएको होइन ।

गोल्डकप विगतभन्दा के फरक छ ?
–विगतभन्दा धेरै फरक छैन । हामीले बङ्गलादेशको टिमलाई लिएका छौँ । अफ्रिकन टिम पनि ल्याएका छौँ । उनीहरूको खेल्ने शैली पृथक पनि छ, त्यो हेर्न पाउने अवसर जुटेको छ । साथै अहिले बूढासुब्बा गोल्डकपको टिकट अनलाइनबाट खरिद गर्न मिल्छ । गोल्डकपको विस्तृत जानकारी बूढासुब्बा गोल्ड एपबाट लिन सकिन्छ । नेपालको गोल्डकपको इतिहासमा यसलाई अनलाइनबाट पहिलो पटक गरिँदै छ । व्यापारिक महोत्सव विदेशीले पनि अवलोकन गर्ने भए । नेपालमा गोल्डकपमा पनि मेला लाग्दो रहेछ भन्ने सन्देश लान्छन् । आर्थिकरूपमा घाटा भए पनि महोत्सव लगाउन दिएका छौँ । यो पनि फरक छ । हामीले सात समूह विदेशी, नेपालको एक समूह र आयोजकको एक समूह खेलाउने उद्देश्य राखेका छौँ । अहिले ३ समूह विदेशी ल्याएका छौँ । त्यसको सुरुवात हो ।  गोल्डकपमा धेरै कार्य गर्न सकिन्छ । यसको संयोजन नगरले गर्नुपर्छ । हामीले विगतदेखि नै प्रस्ताव गर्दै आएका छौँ ।

गोल्डकपको अनुमानित आय–व्यय कति हो ?
–अनुमानित १ करोड ९ लाख रुपैयाँ आम्दानी गर्ने भनेका छौँ । ७९ लाख रुपैयाँमा सम्पन्न गर्ने तयारीमा एक–दुई लाख तलमाथि हुन्छ तर, लक्ष्य पूरा गर्ने तयारीमा छौँ । विगतको घाटा पनि पूरा गर्नुपर्ने भएकाले तयारी गरेका हौँ । फुटबल क्लब संस्था हो । गोल्डकप मुख्य कार्यक्रम हो । एकेडेमी खोलेका थियौँ । त्यहाँका खेलाडी राट्रिय खेलाडी बनेका छन् । छाता सङ्गठनको रूपमा सहयोग गरेको छ । आर्थिक रूपमा कमजोर होला तर, फुटबलको विकासका लागि योगदान गर्नमा उत्कृष्ट १० मा धरान फुटबल क्लब पर्छ । हामीले राष्ट्रिय लिग खेल्ने तयारी गरेका थियौँ । त्यहाँ पुग्नुभन्दा अगाडि नै पराजित भयौँ । अर्को तयारी गर्न सक्छौँ । एन्फाले त्यो कार्यक्रम स्थगन गरेको छ । त्यसमा पनि असहमति छ । राष्ट्रिय लिगको आयोजना गर्नुपर्छ ।

तपाईंको सिङ्गो जीवन नै फुटबलमा बितेको छ, बूढासुब्बामा चाहिँ अब अन्तिम गोल्डकप भनिरहनुभएको छ, अबको तयारी के हो ?
–क्लबलाई धेरै वर्ष चलाएँ । मैले पनि अरू केही गर्नुपर्छ । अब एन्फालाई समय दिनुपर्छ भन्ने छ । एन्फालाई नयाँ युुगमा प्रवेश गराउनु छ । कुनै पनि खेलाडीले स्वर्णिम जीवन समर्पण गरेको हुन्छ । उसको भविष्य फुटबलले नबिगारोस् । फुटबललाई व्यावसायिक, रोजगारीमूलक सुनिश्चित गर्न मेरो तागत र श्रमलाई लगाऔँ भन्ने छ । म राजनीतिज्ञ पनि हुँ । ४ वर्ष नगरवासीको हितमा सकारात्मक र रचनात्मक प्रतिपक्षको उपस्थिति हुनुपर्छ । क्लब अघि बढेको छ । म अलिक माथि जाऔँ भन्नेमा छु ।

प्राथमिकतामा फुटबल कि राजनीति ?
–अहिलेको अवस्थामा एउटा मात्रै विकल्प लिएर अघि बढ्दा असफल भयो भने सबै सकिँदो रहेछ । त्यसैले फुटबल र राजनीतिलाई समानान्तर रूपमा लान्छु ।

अन्त्यमा दर्शकका निम्ति केही छ ?
–धरानबासी, फुटबलप्रेमी, देशबासी र अन्तर्राष्ट्रियजगत्ले पनि बूढासुब्बा गोल्डकपको अवलोकन गरिदिनुहोस् । सकिन्छ, प्रत्यक्ष रूपमा अवलोकन गरिदिनुहोस् । फुटबलको विकासका लागि सकारात्मक सुझाव, सल्लाह दिनुहोस् । ११ गतेदेखि हुने व्यापारिक एक्स्पोलाई पनि अवलोकन गरिदिनुहोस् । १३ गते उद्घाटन हुँदै छ । यसपालि हामीले पासको व्यवस्था गरेका छैनौँ । टिकट काटेर मुनाफामुखी गोल्डकप बनाइदिन सम्पूर्ण फुटबलप्रेमीलाई अनुरोध गर्न चाहन्छु ।