विजयपुर । प्रदेश नं. १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले कागज मिलाएर अनुदान खानेका लागि मन्त्रालयको ढोका बन्द रहेको बताएका छन् ।

बुधबार धरानमा आयोजित पाँचौं प्रदेशस्तरीय पुष्प प्रदर्शनी मेलालाई सम्बोधन गर्दै मन्त्री सिटौलाले कृषि उद्यम नगर्ने तर, कागज मिलाएर अनुदान खानेका लागि मन्त्रालयको ढोका बन्द रहेको बताएका हुन् ।

उनले फूल उत्पादनमा प्रदेश सरकारले प्रोत्साहन गर्ने पनि बताए । फूलमा उत्पादन लागत बढी भएकाले समस्या हुने गरेको भन्दै उनले व्यवसायीहरूले पनि पेशागत अनुशासन कायम राख्नुपर्ने बताए । उनले भने, ‘व्यवसायीलाई पैसा दिएर नहुँदो रहेछ । हामीले अनुदान दिएर हेर्यौँ । बैङ्क ब्याजमा सहयोग गर्ने हो कि ? के गर्दा हुन्छ ? व्यवसायीसँग सल्लाह गरेर उपयुक्त विकल्प ल्याउनेछौं ।’

उनले व्यवसायीहरूको सल्लाहअनुसार पुष्प व्यवसाय प्रवद्र्धनका लागि आगामी बजेटमा समावेश गर्ने आश्वासन दिए । धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले पुष्प व्यवसायको विकासमा सहयोग गर्ने बताए । उनले भने, ‘धरानलाई फूलको सहर बनाउने अभियानमा पुष्प व्यवसायीको महŒवपूर्ण भूमिका छ ।’

धरानलाई फूलबारीको सहरको रूपमा विकास गर्ने नीतिलाई पनि प्रदर्शनीले सहयोग पुग्ने फ्लोरीकल्चर एसोसिएसन नेपालका सुनसरी अध्यक्ष खगेन्द्र पोखरेलले बताए । उनका अनुसार मेलामा ५ सय प्रजातिका फूल प्रदर्शनीमा राखिएको छ ।

एसोसिएसनका सचिव राजेश राईले मेलामा झापा, मोरङ, इटहरी, तरहरा, चतरा र बाङ्गेलगायतका २८ स्टल राखिएको जानकारी दिए । जसमा २ वटा आग्र्यानिक सब्जीका स्टलहरू पनि रहेका छन् भने २ वटा विषादी औषधिका स्टल रहेका छन् । कार्यक्रममा प्रदेशसभा सदस्यद्वय रमेशकुमार बस्नेत र विजयकुमार राईलगायतको उपस्थिति रहेको थियो । मेला माघ २९ गते सम्पन्न हुनेछ ।