भद्रपुर । कामना सेवा विकास बैङ्ककका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित १६ जनाको मिलेमतोमा ८ करोड भन्दामाथि रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले अनुसन्धान थालेपछि यस्तो फेला परेको हो ।
नेपाल राष्ट्र बैङ्क हुँदै आएको सूचनाका आधारका इलाका प्रहरी कार्यालय दमकले यसबारे अनुसन्धान सुरु गरेपछि यस्तो धन्दा सार्वजनिक भएको हो । कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा सिइओ प्रवीण बस्नेत ,तत्कालिन बैङ्का कर्मचारी वीरेन्द्रसिंह भण्डारी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरीले ऋणीहरु दमकका चन्द्रबहादुर थापा र हरेन्द्र दाहाललाई समेत पक्राउ गरेको जनाएको छ । घटनामा संलग्न अन्य १२ जना प्रतिवादी फरार रहेको इलाका प्रहरी कार्यालय दमकका डिएसपीले दिलीप कुमार गिरीले जानकारी दिए । ८ करोड भन्दा माथि बैङ्कको ऋण देखिएको उनले जनाए ।
पक्राउ परेकाहरूमाथि बैङ्किङ कसुरसम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको उनले जनाए । घटनामा बैङ्कले पहिले आन्तरिक अनुसन्धान गरेको थियो । त्यसक्रममा समस्या देखिएपछि राष्ट्र बैङ्कसँग अनुसन्धानका लागि पत्राचार गरेको थियो ।
बैङ्कले गरेको अनुसन्धानमा पनि समस्या देखिएपछि अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई जानकारी दिइएको थियो । सिआइबीले इलाका प्रहरी कार्यालय दमकलाई अनुसन्धान गर्ने जिम्मा दिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।