विराटनगर । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको विषय अब ‘क्लोज’ भइसकेको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

‘विश्वासको मत दिने कुरा च्याप्टर इज क्लोज । तपाईंको लागि क्लोज भएको छैन होला तर, हाम्रो लागि क्लोज भयो । गरिसक्यौं, सकियो अब’–कोइरालाले भने ।  कोइरालाले राष्ट्रपति चुनावमा सहमति हुने सम्भावना कम रहेको पनि बताए ।

‘राष्ट्रपतिको चुनावमा हामी सहमतिबाट जाने सम्भावना त बहुतै कम देख्छु । नेपाली काङ्ग्रेसले उम्मेदवार ठ्याक्कै यही त भनेको छैन । तर, बाहिर चर्चामा दुईजना साथीहरूको नाम आएको छ । अब हेरौं । तर, अब यसमा अरू दलहरूसँग पनि हामी छलफल गर्दैछौं’–कोइरालाले भने ।

बाहिर चर्चामा आएजस्तो डा.बाबुराम भट्टराईलाई राष्ट्रपतिमा काङ्ग्रेसले सहयोग नगर्ने पनि बताए । ‘बाबुराम भट्टराईजीलाई किन मानिसहरूले सोचिरहनु भएको छ । नहुने त होइन । तर, नेपाली काङ्ग्रेसले उम्मेदवारी दिन्छ नि, बाबुरामलाई किन सपोर्ट गर्ने हामीले ? त्यो मैले बुझेको छैन’–कोइरालाले भने ।

बाम गठबन्धन तोड्न बाबुरामलाई समर्थन गर्ने भनेको होला नि काङ्ग्रेसले भन्ने प्रश्नमा उनले भने, ‘उहाँ (बाबुराम) पनि बामै त हो नि, उहाँ त लेफ्ट नै हो । लेफ्टको प्रधानमन्त्री, लेफ्टको उच्चस्तरीय संयन्त्रको अध्यक्ष अनि लेफ्टै राष्ट्रपति दिने हो र हामीले स्वीकार गर्ने हो भने देशलाई कस्तो बनाउन खोजेको ? मैले भन्न खाजेको नेपाली काङ्ग्रेसले उम्मेदवारी दिन्छ । त्यसलाई सर्वस्वीकार्य बनाउने प्रयास गर्छौं । नत्र चुनाव लड्छौं ।’

यद्यपि पार्टीबाहिरको स्वतन्त्र व्यक्तिलाई पनि राष्ट्रपति बनाउने विषय चर्चामा रहेको भए पनि त्यो को हो भन्ने कुरा त अहिले नआएको उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्न काङ्ग्रेस लागेको बताएकै बेला कोइरालाले भने जतिबेला पनि सरकार ढाल्ने र बनाउने सामथ्र्य प्रतिपक्षले राख्नुपर्ने बताए ।

‘हामी प्रतिपक्षमा छौं । प्रतिपक्षकै भूमिका हामी खेल्छौं र प्रतिपक्ष भनेको गभर्मेन्ट इन वेटिङ हो । केपी ओलीले बोलेको कुरा मलाई किन सोध्नुहुन्छ ? हामीले कुनै पनि बेला सरकार गिराउने क्षमता राख्नुपर्छ र हामीले सरकार बनाउनुपर्छ त्यही हो नि ! विश्वमै हुने खेल नै यही हो पार्लियामेन्टको’–कोइरालाले भने ।