विराटनगर । खोटाङको दिक्तेल नगरपालिका–२ घर भएकी ३६ वर्षीया धनकुमारी श्रेष्ठको टाउकोमा समस्या भएपछि उपचारको लागि मङ्गलबार दिउँसो विराटनगर आइन् । उनले यसअघि पनि विराटनगरस्थित न्यूरो हस्पिटलका वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकासँग उपचार गराएकी थिइन् । डा. रोकासँग उपचार गराएपछि उनको स्वास्थ्यमा सुधार आएको थियो ।

त्यही भएर उनी फलोअपको लागि सुनसरीको इटहरी–२० तरहरामा घर भएकी बहिनी बिनिता श्रेष्ठसँग डा. रोकालाई भेटेर स्वास्थ्य उपचार गर्ने योजना बनाई विराटनगरको महेन्द्रचौकमा उत्रिइन् । उनीहरू सिटी रिक्सा चढेर न्यूरो हस्पिटल लगिदिनू भने । तर, कमिसन खान पल्किएको सिटीले न्यूरो हस्पिटलदेखि करिब एक किलोमिटर उत्तर घोगापुलचौकमा रहेको शुभ स्वस्तिक पोली क्लिनिकमा पुर्याइदिएछ ।

क्लिनिक पुग्नेबित्तिकै काउन्टरमा बसेका कर्मचारीलाई सोधे, ‘यहाँ डाक्टर यामबहादुर रोका बस्नुहुन्छ ?’ ती कर्मचारीले पनि बस्नुहुन्छ भन्दै पुर्जी काट्नुहोस् भने । ‘मैले एक हजार रुपैयाँ दिएँ । खुद्रा नभएकोले पछि पाँच सय फिर्ता दिने भने, त्यसपछि डा. रोकाको पर्खाइमा बस्यौं । एकघण्टापछि अर्कै डाक्टर सा’व आउनुभयो । मैले पहिला देखाएको उहाँ त होइन । म उहाँलाई देखाउँदिन भन्न थालेँ । त्यसपछि क्लिनिकका कर्मचारीले डाक्टर रोका अप्रेसनमा हुनुहन्छ । अहिले यही क्लिनिकमा भएको डाक्टरसँग चेकअप गर्नू । पछि रिपोर्ट आएपछि डाक्टर रोका सा’पले हेरिदिनुहुन्छ भन्नुभयो । त्यसपछि ५ हजार ३ सय रुपैयाँको विभिन्न परीक्षण लेखाइदिनुभयो । त्यो ल्यावको पनि पैसा दिएँ’ उनले भनिन्, ‘क्लिनिकमा बसेको घण्टौं भइसक्यो । तर, डाक्टर आउने कुनै छाँटकाँट देखिनँ । त्यसपछि फेरि क्लिनिकमा सोधेँ । कतिखेर डाक्टर आउनुहुन्छ ?’ त्यसपछि कर्मचारीले भने, ‘आज डाक्टर रोकाले अप्रेसन गर्दै हुनुहुन्छ । उहाँ आउन पाउनुभएन । उहाँको सट्टामा अर्को चिकित्सकलाई देखाउनू ।’ क्लिनिकको कर्मचारीले अर्कै चिकित्सकलाई देखाउनू भनेपछि पुर्जी काटेको र ल्यावको लागि लिएको पैसा लिएर न्यूरो हस्पिटल खोजी गर्दै आइपुगेको उनले बताइन् । ‘न्यूरो हस्पिटल आएपछि काउन्टरमा आएर डाक्टर रोका यहीँ बस्नुहुन्छ भनेर सोध्दा पो थाहा पायौं । सिटी रिक्साले कमिसनको चक्करमा अर्कै क्लिनिकमा पु¥याएको, धन्न ठगिनबाट बच्यौं’–उनले भनिन् ।

यसरी अहिले विराटनगरमा नाम चलेका चर्चित चिकित्सकहरूको नाम बेच्दै बिरामीलाई ठगी गर्ने गरेको पाइएको छ । विशेषगरी च्याउसरी खुलेका हस्पिटल चौक र रङ्गेली रोडका निजी क्लिनिकहरू तथा केही नयाँ खुलेका हस्पिटलले पहाडबाट उपचारको लागि आएका बिरामीलाई ठगी गर्ने गरेका छन् । बिरामी ठगीमा पर्ने गरेको जनगुनासो बढेपछि १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीले स्ट्रिङ अप्रेसन गरेर गत पुसमा कमिसनको लोभमा बिरामीलाई अन्यत्र अस्पताल र क्लिनिकमा पु¥याएर बिचौलियाको भूमिका खेल्ने दर्जन बढीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको थियो । स्वास्थ्य क्षेत्रका दर्जन बढी बिचौलियालाई प्रहरीले पक्राउ गर्दै ठगीमा मुद्दा दायर गरी कारबाहीको दायरामा ल्याएपछि केही हदसम्म न्यूनीकरण भएको थियो । अहिले फेरि बिरामी ठगी गर्ने बिचौलियाहरू सल्बलाएका छन् ।

पहाड र ग्रामीण क्षेत्रबाट आएका बढी बिरामी बिचौलियाको फन्दामा पर्दा ठगीमा पर्ने गरेका छन् । उनीहरू बिरामी ठगी गर्न शनिमन्दिर चोक, रङ्गेली जाने बसपार्क हाटखोला, कञ्चनबारी चोक, महेन्द्र चौकमा बढी बस्ने गर्दछन् । यसबाहेक विराटनगरको हस्पिटल चोक, कोसी अस्पतालअगाडि, गोल्डेन अस्पतालअगाडि, नोबेल अगाडि, विराट नर्सिङ होम र न्यूरो चोकमा बस्ने गरेका छन् । निजी क्लिनिकहरूले ३ देखि ५ जनासम्म दैनिक बिचौलिया खटाउने गरेका छन् । तराईका विभिन्न क्षेत्र र पहाडी जिल्लाबाट आएका गरिब तथा सोझा बिरामी र आफन्तलाई शनिमन्दिरमा सार्वजनिक यातायातबाट उत्रिएपछि बिचौलियाले खोजिरहन्छन् । तर, उनीहरूको उद्देश्य बिरामीको राम्रो उपचार होस् भन्दा पनि बढी कमिसन कसले दिन्छ र उनीहरूलाई बढी कसरी लुट्ने भन्ने नै हुने गरेको छ ।

विराटनगरभित्र रहेका ठूला अस्पतालबाहिरका केही फार्मेसी सञ्चालकहरूले कमिसन दिएरै बिचौलिया राख्ने गरेको पाइएको छ । विराटनगरको हस्पिटलचोकमा रहेका केही क्लिनिकहरूले धेरै बिचौलिया राखेको स्रोतको दाबी छ । बिचौलिया राखेका फार्मेसीले बिरामीलाई भ्रमित पारेर आफू अनुकूलको निजी अस्पताल, क्लिनिक र आफ्नै औषधि पसलमा बिरामी ल्याउन उनीहरूलाई जिम्मा दिन्छन् । प्रहरीले यसअघि नोबेल मेडिकल कलेजबाहिरबाट ७ जना, कोसी अस्पतालअगाडिबाट तीन जना, केही दिनअगाडि न्यूरो अस्पतालअगाडिबाट २ जना र विराट नर्सिङ होमअगाडिबाट पाँच गरी १७ जना बिचौलियालाई पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार पक्राउ परेका उनीहरू सबै फार्मेसीका कामदार हुन् ।

एकजना बिरामीलाई सम्पर्कमा रहेको क्लिनिक र अस्पताल पुर्याउँदा बिचौलियाले हजार रुपैयाँसम्म लिने गर्दछन् । जति बढी बिरामीले औषधि, ल्यावमा परीक्षण गरे, त्यहीअनुसार बिरामीबाट असुल भएको रकम हेरेर पनि बिचौलियालाई पैसा दिने गरेको स्वास्थ्य क्षेत्रमै काम गरिरहेका एक जनाले नाम नबताउने सर्तमा बताए । ‘बिचौलियाले हस्पिटल चोक र रङ्गेली लाइनमा रहेका निजी क्लिनिकहरूसँग कतिसम्म सम्झौता गरेका हुन्छन् भने एक जना बिरामीबाट २० हजारभन्दा बढीको बिल भयो भने निश्चित रकम लिनुपर्ने शर्त राखेका हुन्छन्’ उनले भने, ‘बिरामीको २० हजारको बिल भयो भने बिचौलियालाई ३ देखि ५ हजार रुपैयाँसम्म दिनुपर्दछ ।’

यस्तै बिचौलियाले सम्पर्कमा गरेको निजी अस्पतालको भेन्टिलेर र आईसीयुमा बिरामी भर्ना भए पनि अस्पतालले निश्चित रकम छुट्याइदिने गरेको छ । बिरामी आइसीयु र भेन्टिलेटरमा भर्ना भए बिचौलियालाई २० हजार रुपैयाँसम्म दिने गरेको स्रोतले बताए । ‘बिचौलियाले ल्याएको एक जना बिरामी निजी हस्पिटलको आइसीयुमा र भेन्टिलेटरमा भर्ना भए, त्यो बिरामीले लाखभन्दा बढी रकम अस्पताललाई बुझाउनु पर्ने हुन्छ । त्यही भएर पनि अस्पतालले बिचौलियालाई खुसी पार्न निश्चित रकम छुट्याइदिएको हुन्छ’ –अस्पताल स्रोतले भन्यो ।