विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि धरानका व्यापारी पवन अग्रवाल र निर्वाणा कन्ट्री क्लब चलाएका शशीराम भण्डारीले भाडाबापतको रकम नतिरेको पाइएको छ । 

बीपी प्रतिष्ठानका अनुसार घरजग्गा ठेक्का तथा भाडामा लिई १५ वर्षदेखि भाडाबापतको रकम नतिरेका हुन् । १५ वर्षभन्दा बढी समयदेखि प्रतिष्ठानको घर, जग्गा उपभोग गरेबापत बहालको बक्यौता रकम भुक्तानी नगरेपछि प्रतिष्ठानले सूचना नै प्रकाशित गरेर सार्वजनिक गरेको छ । प्रतिष्ठानले जग्गा, भवन भाडामा लिई फर्म सञ्चालन गरी बहाल रकम भुक्तानी गर्ने ८ फर्म तथा सञ्चालकको नाम सार्वजनिक गरेको हो ।

घर–जग्गा उपभोग गरेबापत ८ फर्महरूले १ करोड २९ लाख ३१ हजार २ सय १५ रुपैयाँ ४९ पैसा बक्यौता रकम भुक्तानी नगरेपछि प्रतिष्ठानले ठेकेदार कम्पनी तथा व्यक्तिको नाम सार्वजनिक गरेको छ । प्रतिष्ठानले सार्वजनिक गरेको सूचनामा ‘बहालमा लिई व्यवसाय सञ्चालन गरेबापत सम्झौताअनुसार तिर्नुपर्ने बाँकी रकम प्रतिष्ठानबाट पटक–पटक लिखिति र मौखिक ताकेता गर्दासमेत हालसम्म भुक्तानी नगरेको’ उल्लेख छ ।

प्रतिष्ठानका रजिष्ट्रार सूर्य सङ्ग्रौलाका अनुसार प्रतिष्ठानका जग्गा र भवन भाडामा लिई व्यवसाय सञ्चालन गरेबापत भाडा नतिर्ने उल्लेखित ८ फर्म र अन्य फर्महरूसमेतले करिब २ करोड ५० लाख रुपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । उनले भने, ‘२ करोड ५० लाख ८ फर्मसहित सबै फर्मको हो ।’ उनका अनुसार ८ फर्मको १ करोड २९ लाख ३१ हजार २ सय १५ रुपैयाँ ४९ पैसा रकम जरिबानाबाहेक हो । कानूनी प्रक्रियामा गए पनि उनीहरूले जरिबानासहितको रकम भुक्तानी गर्नुपर्ने हुन्छ ।

जग्गा भवन उपभोग गरेबापत बहाल रकम भुक्तानी नगर्ने ८ ठेकेदार कम्पनी तथा व्यक्तिको नाम पनि प्रतिष्ठानले सार्वजनिक गरेको छ । प्रतिष्ठानका अनुसार रञ्जित अग्रवालले सञ्चालन गरेको रजत फर्मा डिस्टिब्युटर्सले बक्यौता रकम भुक्तानी गरेको छैन । अग्रवालले विराटनगरमा सञ्चालित औषधि पसल फर्माले ६० लाख ९७ हजार ८ सय ५२ रुपैयाँ ६१ पैसा बक्यौता भुक्तानी गर्न बाँकी रहेको छ । धरान–१८ मा सञ्चालित लाइफ केयर मेडिकल्सका पवनकुमार अग्रवालले ४१ लाख ६७ हजार १ सय ९५ रुपैयाँ बक्यौता भुक्तानी गरेका छैनन् ।

निर्वाणा कन्ट्री क्लब, काठमाडौं हाउजिङ एण्ड लिजिङ्ग प्रा.लि.का प्रबन्ध निर्देशक शशीराम भण्डारीले १२ लाख ४१ हजार ५ सय ५५ रुपैयाँ तिर्न बाँकी रहेको प्रतिष्ठानको सूचनामा उल्लेख छ । निर्देशक भण्डारीले रेष्टुरेण्ट, गल्फ कोर्ष र गेष्ट हाउस सञ्चालन गरेका छन् । सुन्दरहरैंचा मोरङको माछापोखरी तथा जग्गाको नवराज थापाले ठेक्का बापतको बक्यौता तिर्न बाँकी रहेको छ । थापाले माछा तथा धानको ठेक्काबापत ८ लाख ७६ हजार ५ सय रुपैयाँ भुक्तानी नगरेका हुन् । 

त्यस्तै निसुङ्मा ब्युटी पार्लर प्रा.लि.ले की विष्णुमाया लिम्बूले पनि वर्षौंको बक्यौता तिर्न बाँकी रहेको जनाएको छ । धरान–९ की लिम्बूले ५ लाख ७१ हजार १ सय ६३ रुपैयाँ २० पैसा रकम भुक्तानी गर्न बाँकी रहेको छ । स्टाफ क्यान्टिन सञ्चालक धरान–९ का काजीमान श्रेष्ठले क्यान्टिनको बहाल ३ लाख ४२ हजार ८ सय ११ रुपैयाँ ८८ पैसा बक्यौता भुक्तानी गर्न बाँकी छ ।

डेण्टल क्यान्टिनका राजु राईले पनि बक्यौता रकम भुक्तानी गरेका छैनन् । धरान–१८ का राईले ३१ हजार ५ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ । धरान–१८ का चन्द्रमा हेयर कटिङ सैलुनका वीरेन्द्र ठाकुरले १ लाख ८४ हजार ९६ रुपैयाँ रकम बाँकी रहेको छ । प्रतिष्ठानले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बक्यौता रकम चुक्ता गर्न अनुरोध गरेको छ ।

तोकिएको म्यादभित्र बक्यौता रकम चुक्ता नगरे नेपाल सरकारको प्रचलित कानूनबमोजिम बक्यौता असुल गर्न प्रक्रिया अगि बढाउने पनि सूचनामा उल्लेख गरेको छ । प्रतिष्ठानका रजिष्ट्रार सङ्ग्रौलाले ८ ठेकेदार तथा व्यक्तिको नाम कालो सूचीमा राखेकाले  उनीहरूले प्रतिष्ठानमा आगामी दिनमा कुनै पनि ठेक्का नपाउने बताए । उनले भने, ‘८ कम्पनीले ठेक्का लिए पनि एउटै व्यक्तिले २–३ वटा व्यवसाय सञ्चालन गरेकाले १५–१६ वटा छन् ।’

उनका अनुसार ८ कम्पनी तथा व्यक्तिले हाल व्यवसाय छाडेर हिँडेका छन् । उनले भने, ‘उनीहरूविरुद्ध अब कानूनी प्रक्रिया सुरु भयो । अदालती प्रक्रियामा लाग्छौँ ।’ व्यवसाय छाडेर गए पनि जरिबानासहितको बहाल रकम भुक्तानी गर्नैपर्ने रजिष्ट्रार सङ्ग्रौलाले बताए ।

उनले भने, ‘अब धरौटी रकम जफत गर्नेदेखि घरजग्गा रोक्का गर्नेसम्मको प्रक्रिया अगि बढ्छ ।’ उनले कानूनी प्रक्रियामा जाँदा केही ढिलाइ भए पनि बक्यौता रकम उठ्ने बताए ।