सुनसरी । माघ महिना सुरु भएसँगै सुनसरीसहित पूर्वी तराई मधेसमा ह्वात्तै जाडो बढेको छ । बिहानैबाट चल्ने चिसो हावासँगै जाडो बढ्दा जनजीवन कष्टकर बनेको छ ।

बिहान र साँझ शीतलहर तथा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बनेको हो । शीतलहर तथा बाक्लो हुस्सुका कारण खासगरी जिल्लाका आर्थिक अवस्था कमजोर भएका वर्ग तथा आधारभूत आवश्यकताको काम गर्ने सर्वसाधारण बढी प्रभावित भएका छन् । सुनसरी इनरुवा नगरपालिका वडा नम्बर ९ बबियाका  अधिकांश सर्वसाधारणसँग बाक्लो कपडा छैन, पातलो कपडा लगाउँछन् । उनीहरू त्यही लुगा लगाएर जनमजदुरी गर्न जाने गरेका छन् ।

शरीरमा न्यानो लुगा नभएको र ह्वात्तै जाडो बढे पनि जीविका चलाउन दलित समुदाय जनमजदुरी गर्न जाने गरेको स्थानीय खट्टर ऋषिदेव बताउँछन् । दिनभर मजदुरी नगरे साँझ खान नपुग्ने भएकाले अधिकांश सर्वसाधारण जाडोमा बाक्लो लुगा नभए पनि काम गर्नुपर्ने बाध्यता रहेको बताउँदै उनी भन्छन् ‘के गर्ने ? कमाइ गरेन भने के खानु ? गरिबलाई के जाडो, के गर्मी । जस्तोसुकै मौसम भए पनि आफू र आफ्नो परिवार पाल्न काम गर्नै पर्छ ।’

घरमा हुँदा बाक्लो कपडा नभए पनि आगो तापेर दिन बिताउने गरेकोमा काम गर्न जाँदा जाडोमा समस्या हुने गरेको अर्का स्थानीय मैना ऋषिदेवले बताइन् । ‘हिजोआज शीतलहर तथा हुस्सुका कारण धेरै गाह्रो छ’ उनले भनिन्, ‘जाडोमा काम गर्न जानै मन लाग्दैन तर, के गर्नु बाध्यता छ ।’

केही दिनयता शीतलहरले चिसो बढेपछि सदरमुकाम इनरुवा, लौकही, हरिपुर, भण्टाबारी, कोसी ब्यारेजसहितका बजारमा चहल–पहलसमेत घटेको छ । जाडोबाट केही राहत दिने उद्देश्यले सुनसरी प्रहरीले विभिन्न स्थानमा आगो बालिदिएको छ । अत्यधिक चिसो बढेपछि स्थानीय तहसँग समन्वय गरेर सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानमा सर्वसाधारण तथा यात्रुलाई लक्षित गरेर चोक–चोकमा आगो बालेको हो । बिहान र दिउँसो घरबाट चोकमा आउने सर्वसाधारण, मजदुर तथा यात्रुहरूलाई जाडोबाट बच्न आगो बालिएको सुनसरीका प्रहरी प्रवक्ता राजकुमार राईले जानकारी दिए । हुस्सुसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कनसमेत समस्या हुने गरेको छ । जाडो बढेपछि जिल्लाका केही स्थानीय तहले सरकारी तथा निजी विद्यालय केही दिनका लागि बिदा गरेका छन् ।

जाडोबाट बच्न कम्बल वितरण
यसैबीच सदरमुकामस्थित इनरुवा नगरपालिका–९ बबियाको मुसहरीका विपन्न र एकल महिला तथा ज्येष्ठ नागरिकलाई जाडोबाट बच्न कम्बल वितरण गरिएको छ । शीतलहर र जाडोबाट अति प्रभावित अतिविपन्न २७ मुसहर परिवारलाई कम्बल वितरण  गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

शुक्रबार इनरुवा नगरपालिका–९ बबियाको प्रभावित मुसहरीका विपन्न र एकल महिला तथा ज्येष्ठ नागरिकलाई घर–घरमै पुगेर कम्बल वितरण गरेको उनले बताए । प्रजिअ यादवले २७ जना विपन्न परिवारलाई ३० वटा कम्बल वितरण गरेका थिए  । शीतलहरले जनजीवन प्रभावित भएपछि अति कष्टकर जीवन बाँचिरहेका र केहीले बोरा ओढेरसमेत रात कटाइरहेको सूचना आएको आधारमा इनरुवा नगरपालिका–९ का अतिविपन्न २७ जनालाई एक–दुई वटा कम्बल प्रदान गरिएको हो ।

कम्बल वितरण कार्यक्रममा प्रजिअ यादवसहित जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभुप्रसाद ढकाल, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईं, गैरसरकारी संस्था महासङ्घका सुनसरी अध्यक्ष मेघराज न्यौपाने, प्रशासकीय अधिकृत तथा सर्वसाधारणको सहभागिता थियो । अति आवश्यक देखिए अन्य ठाउँका विपन्नलाई पनि सहयोग गर्न प्रशासन तयार रहेको प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ । बोरा ओढेर रात बिताउनेले कम्बल पाएपछि खुसी भएका छन् ।

इनरुवा नगरपालिका–९ बबियाको मुसहरी सतैर बबिया टोलकी ८० वर्षीया बोदोदेवी ऋषिदेवले जाडोबाट जोगिनका लागि ओढ्ने ओछ्याउने नभएपछि महिनौंदेखि बोरा ओढेर रात बिताउँदै आएकी थिइन् । सोही विषयमा जानकारी पाएर सुनसरीका प्रजिअ यादवले ओढ्ने र ओछ्याउने दुई थान कम्बल प्रदान गरेपछि ऋषिदेवको अनुहारमा खुसी देखिएको थियो । यसैबीच सुनसरी वराह नगरपालिका वडानम्बर १० का अध्यक्ष तेजबहादुर गुरुङले पनि जाडोबाट बच्न विपन्न समुदायलाई कम्बल वितरण गरेका छन् । आफ्नो व्यक्तिगत तर्फबाट १० नम्बर वडाक्षेत्रका विपन्न समुदायका बालबालिकालाई बाक्लो लुगा वितरण गरेको अध्यक्ष गुरुङले बताए ।

माघ लागेसँगै बढेको अत्यधिक जाडोले निजी अस्पतालसँगै जिल्लाको एकमात्र सरकारी अस्पताल इनरुवास्थित जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । खासगरी आजभोलि जाडोबाट प्रभावित बालबालिका र वृद्धवृद्धा अस्पताल जाने गरेका छन् । निमोनिया, खोकी, घाँटी दुख्नेजस्ता रोग लागेकाहरू अस्पतालमा आउन थालेको मेसु देवराज घिमिरे बताउँछन् ।

चिसोबाट बच्नका लागि विभिन्न चोकमा दाउरा बालेर आगो ताप्ने क्रम बढे पनि ग्रामीण भेगमा सर्वसाधारण आफैले घुरबाट आगो तापेर दिन बिताउने गरेका छन् । एक्कासि बढेको चिसोले जिल्लाका विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति समेत न्यून देखिन्छ । जाडो बढेकोले शरीरको सबै भागलाई छोपेर मात्र निस्कन, धेरै चिसो भएको बखत अति आवश्यक कामबाहेक घरबाहिर ननिस्कन, पोषिलो र तातो खाना खान, न्यानो कपडा लगाउन, गेडागुडीको झोल पिउन चिकित्सकले सुझाव दिएका छन् ।

kambal