विजयपुर । धरान उपमहानगर स्थापना भएको १ सय २२ औँ वर्ष पुगेको अवसरमा धरान उत्सव मनाइने भएको छ ।
हरेक वर्ष पुष २० गते स्थापना दिवस मनाउँदै आएको नगरले ३ दिन उत्सव लगाउने भएको छ । बुधबार नगरले पत्रकार सम्मेलन गर्दै तीन दिनसम्म धरान उत्सव मनाइने जनाएको हो ।
धरान–१२ स्थित पब्लिक हाईस्कूलको मैदानमा हुने उत्सव २० गतेबाट सुरु भई २२ गते समापन हुँदै छ । नगरप्रमुख हर्कराज राई उत्सवले धरानको पर्यटन विकासमा सहयोग गर्ने बताए । उनले भने, ‘धरानमा श्रम पर्यटनको विकास गरेका छौँ । उत्सवमा यसको प्रचार पनि गरिनेछ ।’
नगरका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालका अनुसार २२ लाख लागतमा उत्सव मनाउने तयारी गरिएको छ । उत्सवमा विभिन्न ९० वटा स्टलहरू राखिनेछन् । उत्सवमा व्यापारिक, विभिन्न जातीय समुदाय तथा सङ्घ–संस्थाहरूको मौलिक संस्कृति झल्कने स्टलहरू पनि राखिनेछ ।
स्थानीय उत्पादनलाई प्राथमिकता दिइने जनाइएको छ । उत्सवमा साहित्यिक, सांस्कृतिक कार्यक्रमहरू पनि हुनेछन् । उत्सवमा भगिनी सम्बन्ध गाँसिएको नगरहरूलाई आमन्त्रण गरिने नगरले जनाएको छ । कार्यक्रममा सुनसरीका १२ वटै स्थानीय तहका प्रमुख, उपप्रमुखहरूबीच अन्तरक्रिया पनि राखिएको छ ।