सुनसरी । सुनसरी जिल्लाको कोसी गाउँपालिका वडा नम्बर ८ भण्टाबारीस्थित नेपाल–भारत दसगजा क्षेत्रमा सरसफाइ गरिएको छ ।
कोसी गाउँपालिका वडा नम्बर ८ भण्टाबारी–भीमनगर जोड्ने दसगजा क्षेत्रमा आइतबार सरसफाइ गरिएको हो ।
सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीको अगुवाइमा इलाका प्रहरी कार्यालय भण्टाबारी र भारतीय एसएसबीले संयुक्तरूपमा दसगजा क्षेत्रमा थुपारिएको फोहोर सरसफाइ गरेको इन्स्पेक्टर मनोज खनालले जानकारी दिए ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको सक्रियतामा भारतीय सीमा सुरक्षा बल एसएसबीसँग सहकार्य गरेर स्थानीयवासी समेतको सहभागितामा दसगजा क्षेत्रमा सरसफाइ गरिएको उनको भनाइ छ ।
सरसफाइ कार्यक्रममा इन्स्पेक्टर मनोज खनालको नेतृत्वमा १३ जना सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय भण्टाबारीका सइ शेरबहादुर पराजुलीको नेतृत्वमा १४ जना नेपाल प्रहरी तथा सीमा सुरक्षा बल एसएसबी शैलेशपुरका एसआई जिडी कपुर चन्दको कमाण्डमा पाँचजना भारतीय एसएसबीसहित स्थानीयवासीको सहभागिता रहेकोे थियो ।