पथरी । मोरङको कानेपोखरी –७, स्थित कानेपोखरी चोकमा वनको जग्गा अतिक्रमण गरी निमार्ण गरिएको अवैध संरचनाहरु वन समूहले डोजर लगाएर हटाएका छन् ।
वन समूहको ५ दिने सूचना अटेर गरेपछि बुधबार डोजर लगाएर भत्काई दिएको हो । कानेपोखरी चोकका बासिन्दाले घर, टहरा, टयुवाइलेट, ट्युवेल, बाख्राको खोर, सुगुरको खोरलगाएत संरचना निर्माण गरेका थिए । वन क्षेत्र दाउरा खाख्ने र साग, खुसार्नी पनि रोपेका थिए । केही तीन तले घरका केही भाग पनि भत्काउनु पर्ने भएका छन् ।
चोकको उत्तर दक्षिणको सडकदेखी पश्चिम पटीको बासिन्दाले जनजागृती सामुदायिक वनको जग्गा अतिक्रमण गरी निर्माण गरिएको थियो । जन जागृती सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष भोजकुमार श्रेष्ठको नेतृत्वको टिमले डोजर लगाएर वनको क्षेत्र किलियर गर्ने काम गरेका छन् ।
वनले त्यहाँ दक्षिण पुलबाट चोकको पश्चिमबाट सार्वजनिक शौचालय निस्कने २० फुटे सडक निकाल्ने तयारी गरेको छ । त्यहाँ दुवैपछि ड्रेनसहितको सडक र वन क्षेत्रमा वाल निर्माण गरी घेराबारा गरिने समूहका अध्यक्ष भोजकुमार श्रेष्ठले जानकारी दिए ।
त्यस क्षेत्रमा यस अघि वन कार्यालय र वन उपभोक्ता समितिको मिलेमतोमा त्यहाँको सिमाना वन क्षेत्र तिर ५, ६ पटक सारिएको त्यहाँका स्थानिय बताउँछन् । सिमाना सारिएपछि त्यहाँको घरहरु पूर्वपश्चिमा फर्किएको लाम्चो आकारको ४० देखी ८० फुटको लम्बाईमा घरहरु निर्माण गरिएको वन समितिले जनाएको छ ।
विभिन्न संरचना हटाउन वन समूहका समिति, उपसमिति, कानेपोखरी नगर प्रहरी, अस्थाई प्रहरी चौकी कानेपोखरीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु उपस्थित रहेका थिए । त्यस स्थानमा द्धन्दकालको समय देखी त्यहाँ सडक वरपर किनवेच गरी बस्ती बसाउने समूह सक्रिय रहेका छन् ।