बेलबारी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङ जिल्ला समितिको आयोजनामा भएको अण्डर १५ फुटबल प्रतियोगितामा सुन्दरहरैंचाको जुपिटर इङ्लिस बोर्डिङ स्कुल विजयी भएको छ ।
मोरङको लक्ष्मीमार्गस्थित लक्ष्मी खेलमैदानमा पुष ११ गतेदेखि भएको फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको फाइनल खेलमा ४–२ गोल अन्तरले जुपिटर विजयी बनेको हो ।
पथरीशनिश्चरेको वाल्मीकि बोर्डिङ स्कुलले २ गोल गर्दा जुपिटरले ४ गोल गरेको हो । खेलको निर्धारित समयमा पथरीका उज्वल राईले गोल गरेर टिमलाई उग्रता दिलाएका थिए भने थप गरिएको समयमा सुन्दरहरैंचाका दीपेश चौधरीले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । पेनाल्टीमा गएको उक्त खेलमा सुन्दरहरैंचाका दीपेश चौधरी, प्रशान्त बास्तोला र सुसन चौधरीले गोल गरे भने पथरीशनिश्चरेका सालय लिम्बूले मात्र गोल गरेका थिए ।
खेलको फेयर प्ले अवार्डबाट जुपिटरका दीपेश चौधरी, म्यान अफ द म्याच जुपिटरका शिव राई, बेस्ट मिड फिल्डर वाल्मीकिका मनिष लिम्बू, बेस्ट डिफेन्डर जुपिटरका सुसान चौधरी, बेस्ट फर्वार्ड जुपिटरका सायल लिम्बू, बेस्ट गोल किपर जुपिटरका राहुल दास, बेस्ट कोच जुपिटरका सुवास तामाङ र इमरजिङ प्लेयर बेलबारीको सिंहदेवी इङ्लिस स्कुलको टिम घोषित भए ।
जिल्लाभरिबाट १२ टिमको सहभागिता रहेको खेलमा विजेता टिमले ट्रफी, मेडल र प्रमाण–पत्र पाए । विजेता टिमलाई प्याब्सन प्रदेश नम्बर १ का अध्यक्ष टीकाराम ढकाललगायतले ट्रफी हस्तान्तरण गरेका थिए । विजेता टिमले प्याब्सन प्रदेश नम्बर १ स्तरीय प्रतियोगितामा सहभागिता जनाउने प्याब्सन मोरङका सचिव जगत बस्नेतले बताए ।
































