धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमावली २०५५ को संशोधित व्यवस्थाले कर्मचारीको पनि सङ्गठन स्वीकार गर्ने भए पनि पहिलो पटक आधिकारिक समिति चयन हुँदै छ ।
प्रतिष्ठान कर्मचारी कल्याण समाजको निर्वाचन यही पुस २३ गते हुने भएको छ । यसअघि नियमावलीले कर्मचारीको सङ्गठनलाई आधिकारिक रूपमा स्वीकार गरेको थिएन । तैपनि प्रतिष्ठानभित्र कर्मचारी कल्याण समाज गठित रहेको थियो । उक्त समितिका पदाधिकारीबीच कुरा नमिल्दा दुईवटा समिति निर्माण भएको थियो ।
तत्कालीन उमेश थापाको नेतृत्वमा कर्मचारी कल्याण समाज रहेको थियो भने राजन कोइरालाको नेतृत्वमा कर्मचारी कल्याण समाज तदर्थ समिति रहेको थियो । दुईवटा समितिले आ–आफ्नै ढङ्गले काम गर्दै आएका थिए । तर, यसपटक भने नियमावलीमा व्यवस्था भएका कारण आधिकारिक समिति निर्माणको चरणमा छ ।
त्यस समितिका लागि अध्यक्ष पदका लागि महेश्वर राईले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै राईले अध्यक्ष पदमा आफ्नो दाबी रहेको बताए ।
त्यसो त उनी यसअघिको तदर्थ समितिको उपाध्यक्ष हुन् । उनले अब आधिकारिक समिति हुनाले अर्को समिति नबन्ने दाबी पनि गरे । उनले आफूले कर्मचारीको आवाज मात्रै नभई हक अधिकारका लागि लड्दै आएको पनि बताए । उनले पेशागत हकहितका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
अध्यक्ष पदका लागि राईबाहेक खुलेर कोही पनि अगाडि देखिएका छैनन् । तर, कर्मचारी मदन हलुवाईको नाम पनि सुन्नमा आएको छ । यसबारे उनले आधिकारिक धारणा भने व्यक्त गरेका छैनन् ।
प्रतिष्ठानमा कर्मचारीहरूको सङ्गठनभित्र राजनीति हुने गरेको विषयमा उनले भने, ‘म आफू कुनै पनि पार्टीको सदस्य नभएको र बीपीको कर्मचारी भइञ्जेलसम्म कुनै पनि पार्टीको सदस्यता लिन्नँ ।’ बीपीमा कुनै पनि कर्मचारीले राजनीतिक दलमा आबद्धता हुन नमिल्ने उनले खुलाए । प्रतिष्ठानमा यसअघि २०६४ साल र २०६६ सालमा निर्वाचन भई समिति बनेको थियो । तर, प्रतिष्ठानको सञ्चालक परिषद् (सिनेट) ले मान्यता दिएको थिएन ।