धरान । सङ्खुवासभाको सिभुवा लाखे नाच समूह उदयपुरमा सम्पन्न प्रदेश १ स्तरीय प्रतियोगितात्मक लाखेनाच महोत्सवको च्याम्पियन बनेको छ ।
झिगु नेवाः पुच गाईघाट र नेवाः देय दबू त्रियुगा नगर समितिको संयुक्त आयोजना उदयपुरमा खाना परिकार मेला तथा प्रतियोगितात्मक लाखेनाच महोत्सवको दोस्रो संस्करण सम्पन्न भएको हो । उक्त कार्यक्रममा पाँचखपनले नगद १ लाख रुपैयाँसहित ट्रफी जितेको छ ।
त्यस्तै धरानको पासा खल समूहले दोस्रो बन्दै नगद ७५ हजार रुपैयाँ जितेको छ । यस्तै इन्द्रपुर नेवा पुच मोरङ तेस्रो बनेको छ ।
नेवाः देय दबू झुम्का सुनसरी र झींगु नेवाः पुचः उपशाखा बोक्से उदयपुरले सान्त्वना पुरस्कार जितेका थिए । प्रतियोगितामा सङ्खुवासभा, सुनसरी, मोरङ, झापा, इलाम, खोटाङ, ओखलढुङ्गा र उदयपुर गरी १२ समूह सहभागी बनेका थिए ।