पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा फेरी अर्को बेबारिसे भारतीय नागरिकको मृत्यु भएको छ । विराटनगर स्थित कोशी अस्पतालमा उपचारको क्रममा पुस ९ गते शनिबार उनको मुत्यु भएको हो ।
ठेगाना नखुलेको भारतीय मुलका नागरिक ३२ बर्षीय राकेश यादव कानेपोखरी –४ नम्बर वडाको बयरवन बजार क्षेत्रमा मागेर खाने र बस्ने गर्दै आएका थिए । उनी हिन्दीमा अलिक-अलिक बोल्ने र उनको नाम राकेश यादव बताउने गरेको नगर प्रहरी इन्चार्ज युवराज भूजेलले बताए ।
कानेपोखरी नगर प्रहरीले ती व्यक्तिलाई उद्धारपछि सरसफाई गरी कानेपोखरी अस्पतालमा प्राथमिक उपचार पछि थपउपचारको लागि कोशी अस्पताल लगेका थिए । बेबारीसे ती व्यक्तिको मलदुवारबाट रगत बगिरहने र घाँउ धेरै भएकोले पुस २ गते शनिबार विराटनगरस्थित कोशी अस्पतालमा उपचारको लागि भर्ना गरिएको नगर प्रहरी इन्चार्ज भूजेल बताउँछन् ।
यस अघि पूर्वपश्चिम राजमार्ग अन्तरगत कानेपोखरी चोकमा गाडीको ठक्करबाट मृत्यु भएको भारतीय नागरिकको एक हप्ता विति सक्दा पनि शवको पहिचान नभएपछि शव गाडिएको थियो । शवप हिचान नभएपछि पोष्टमार्टम गरी इलाका प्रहरी कार्यालय पथरी र कानेपोखरी नगर प्रहरीले त्यस शव जंगलमा गाडेका थिए ।
पथरी–कानेपोखरी क्षेत्रमा यस्ता मागेर खाने भारतीय नागरिक ८ देखी १० जनासम्म अझै रहेको इप्रकाका डिएसपी वेद प्रसाद गौतमले बताए । भारतीय ठुलो गाडीले विहानको समयमा यस्ता मान्छे भारतबाट ल्याएर छोड्ने गरेको प्रहरी बताउँछन् ।