देउराली । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईले सामाजिक सञ्जालमा प्रयोग गरेको विवादित शब्द प्रति माफी मागेका छन् । उनले आफूले ठट्यौली उखानको शैलीमा प्रयोग गरेको शब्द प्रति दलित समुदायलाई नराम्रो लागेको भन्दै माफी मागेका छन् ।
उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन् "मिति २०७९/८/२८ मा मेरो फेसबुक पेजमा मैले पोस्ट गरेको स्ट्याटसमा गाउँले ठट्यौली उखानको शैलीमा "चमारे" शब्द अप्रत्याशित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थ प्रति दुःख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुःखी बनाएको रहेछ । त्यसका लागि क्षमाप्रार्थी छु । "
यस अघि आफैले गरेको पत्रकार सम्मेलनमा समेत उक्त विषयलाई लिएर माफी नमाग्ने अड्डी कसेका नगर प्रमुख राईले आज विज्ञप्ति जारी गर्दै सार्वजनिक रूपमा माफी मागेका हुन् ।
विज्ञप्तिमा उनले कसैलाई ठेस पुर्याउन नियतवश उक्त स्ट्याटस पोस्ट नगरेको पनि प्रस्ट्याएका छन् । उनि उक्त स्ट्याटसका कारण सामाजिक सञ्जालमा चौतर्फी आलोचित बन्दै आएका थिए । राष्ट्रिय दलित आयोगले उक्त शब्दलाई लिएर कानुनी कारबाहीको सिफारिस समेत गरिसकेको छ ।