देउराली ।  धनकुटा नगरपालिका ४ दानाबारी टोलमा आगलागी हुँदा  करिब ६ लाख बारबारको क्षति भएको छ । 

आइतबार बिहान स्थानीय लीलाबहादुर आचार्यको घरमा भएको आगलागीमा आचार्य र उनकी श्रीमती  कमला  सामान्य घाइते भएका छन्  । घरको भान्सा काेठामा खाना पकाउने  नयाँ ग्यासको सिलिन्डर फेर्ने क्रममा रेगुलेटरबाट ग्यास चुहावट भएपछि आगलागी भएको वडाध्यक्ष जम्सेर राईले बताए ।

उनका अनुसार आगोको रापले भेटेर  घाइते  भएका श्रीमान् श्रीमती जिल्ला अस्पतालमा उपचार गरिएको छ । आगलागीबाट कोठामा रहेका खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट हुनुका साथै घरसङ्गै जोडिएको कुखुरा फार्ममा रहेका २ सय वटा कुखुराको चल्ला समेत मरेका छन् ।  बिहान करिब साढे ९ बजे भएको आगलागी  स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको मद्दतमा नियन्त्रण गरिएको  राईले बताए ।

आगलागीबाट ६ लाख ३० हजार बराबरको क्षति पुगेको बताइएको छ  ।