धरान । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३–३ रुपैयाँ घटाएको हो ।

मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १ सय ७८ र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य १ सय ७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १ सय ८१ र डिजेल–मट्टितेल १ सय ७८ रुपैयाँ थियो ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् नै रहेको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो ।

पछिल्लो पाँच महिनायता नाफामा रहेको निगम नयाँ मूल्यपछि पनि ठूलो नाफामा छ । तर, सञ्चित नोक्सानी र बक्यौता ऋण १९ अर्ब रहेको कारण देखाउँदै निगमले यो पटक पनि उपभोक्ता मूल्य अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गरेन ।

आयल निगमको नाफा र घाटाको हिस्सा उपभोक्तालाई बराबर बाँड्न निगम आफैले बनाएको स्वचालित मूल्य समायोजन प्रणाली लागू नगरेको एक वर्षभन्दा बढी भइसकेको छ ।

निगमले पेट्रोलियम पदार्थको आयात र बिक्रीलाई अन्तर्राष्ट्रिय मूल्यबाट प्रभावित हुन नदिन २०७१ सालमा स्वचालित मूल्य निर्धारण कार्यविधि लागू गरेको थियो । १५ दिनको खरिद मूल्यलाई आधार मानेर निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने र बढाउने गर्दै आएको थियो ।

तर, रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेका कारण स्वचालित मूल्य प्रणाली लागू गर्न नसकिएको निगमको दाबी छ ।

एक महिनायता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निरन्तर गिरावट आएको छ । १९ अर्ब घाटा पूर्ति गरेर निगमले सञ्चित नाफा केही अर्ब नपुर्याएसम्म अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन नगर्ने निगमको योजना छ ।