विराटनगर । दुर्घटना न्यूनीकरणका लागि मोरङमा ट्राफिक प्रहरीले सक्रियता बढाएको छ ।
चिसो बढेर तराईमा बाक्लो हुस्सु लाग्न सुरु भएसँगै दुर्घटना रोक्न सवारीसाधनमा ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टाँस्ने अभियान ट्राफिक प्रहरीले सञ्चालन गरेको हो ।
विराटनगरस्थित ट्राफिक प्रहरी पोष्ट पुष्पलाल चोकका इन्चार्ज एवम् असइ तुलामणि आचार्यका अनुसार हुस्सु लागेका बेला र रातको समयमा टल्किने ‘रिफ्लेक्टर’ सवारीसाधनमा टाँस्न थालिएको छ । विराटनगर महानगरपालिकाको घिनाघाट, पुष्पलाल चोक, तीनैपैनी, पानीट्याङ्कीलगायतका स्थानमा सवारीसाधनमा ‘रिफ्लेक्टर’ लगाउन उनकै नेतृत्वमा टोली परिचालन गरिएको छ ।
दुर्घटना न्यूनीकरणका लागि ठेला, रिक्सा, सिटी सफारी, साइकल, ट्याक्टर, टिपरलगायतका सवारीसाधनमा ‘रिफ्लेक्टर’ लगाउन थालिएको आचार्यको भनाइ छ । ‘हुस्सु लागेका बेला र रातको समयमा दुर्घटनाको जोखिम धेरै हुन्छ’ असइ आचार्यले भने, ‘टल्किएर परबाटै प्रष्टसँग देखिने हुनाले सवारीसाधनमा ‘रिफ्लेक्टर’ राख्दा दुर्घटना न्यूनीकरणमा मद्दत पुग्छ ।’
दुर्घटना रोक्न मौसमअनुसार ट्राफिक प्रहरीले विभिन्न उपाय अवलम्बन गर्ने गरेको उनले बताए । मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजकुमार कार्कीले हुस्सु लागेका बेला सवारीसाधन सञ्चालनमा सहजता ल्याउन चालकलाई आवश्यक प्रशिक्षण दिन थालिएको बताए ।
‘गाडीमा ‘फग लाइट’ को व्यवस्था गर्न तथा हुस्सु लागेका बेला उक्त लाइट बालेर मात्रै सवारीसाधन चलाउन चालकलाई आग्रह गर्ने गरिएको छ’ उनले भने, ‘बाटो काट्दा ‘साइड लाइट’ को प्रयोगदेखि ट्राफिक नियमको पालनामा विशेष जोड दिएर प्रशिक्षण दिने गरिएको छ ।’ साथै सवारी चेकजाँच तीव्र बनाएर ‘वाइपर’ को प्रयोगमा समेत जोड दिने गरिएको कार्कीले बताए ।