विराटनगर । नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी  सुदिप गिरीले  व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालिम केन्द्र बन्दै गएको बताएका छन् । 

१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५७ औं वार्षिकोत्सको  बुधबार उद्घाटन गर्दै डिआइजी गिरीले यस्तो बताएका हुन् । उनले नेपाल प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिहरुको लागि प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्ने कार्यमा तालिम केन्द्रको अहम भुमिका रहेको बताए ।

उनले  सक्षम तथा प्रभावकारी प्रहरी संगठनको उपस्थिति बनाई राख्न प्रशिक्षण पद्धतिमा समायानुकुल परिवर्तन हुनु जरुरी रहेको बताए । योग्य जनशक्तिको छनौट र उचित प्रशिक्षण प्राप्त गरे पश्चात मात्रै प्रहरी कर्मचारीले कार्य क्षेत्रमा संगठनको अपेक्षा अनुरुप प्रतिफल दिन सक्ने उनले बताए । 

समयको परिवर्तन संगसंगै नागरिकले प्रहरीबाट अपेक्षा गर्ने सेवा प्रदानमा अपेक्षित सुधार गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै हिजोका दिनहरु भन्दा फरक तर सरल र सहज रुपमा सेवा प्रदान गर्ने भावनाको बिकाश तालिमका दिनहरु देखि नै मस्तिष्कमा गढिन जरुरी रहेको हुँदा सोही अनुसारको प्रशिक्षण प्रदान गर्न तालिम केन्द्रलाई निर्देशन समेत डिआइजी गिरीले दिए । 

उनले अनुशासन प्रहरी संगठनको गहना रहेको बताउँदै तालिम केन्द्रका प्रशिक्षकहरुको अनुशासन, यसको प्रत्यक्ष प्रभाव र तालिमको स्तरले नै भोलीको दिनमा प्रहरीहरुको कार्य सम्पादन स्तर निर्धारण गर्ने हुँदा सबैको सामुहिक कार्यले सबैजना सफल प्रशिक्षक हुन र यस तालिम केन्द्रलाई देशकै नमूना तालिम केन्द्रको रुपमा स्थापित गर्ने गरी उच्च व्यवसायिकताका साथ काम गर्न निर्देशन समेत दिए । 

डिआइजी गिरीले बार्षिक उत्सवको अवसरमा तालिम केन्द्रले आयोजना गरेको आन्तरिक फुटवल, भलिवल, टेवलटेनिस र ब्याडमिन्टन लगायत अन्य खेलका बिजय  हुने खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र समेत प्रदान गरे । यसैगरी तालिम केन्द्रमा बर्ष भरीमा उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।  सोही अवसरमा प्रकाशन गर्दै आएको स्मारिकालाई समायानुकुल थप परिस्कृत एबम् प्रविधिमैत्री बनाउदै केन्द्रको  सम्पुर्ण गतिविधि झल्कने गरी तयार पारिएको वृत्तचित्रको लोकार्पण गरे । 

कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका सह(समादेशक प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । उनले समयानुकुल आफ्नो जिम्मेवारी एवं कर्तव्य पालना गर्न सक्ने ब्यवसायिक कला, कौशल र सीपले भरिएका दक्ष प्रहरी उत्पादन गर्ने क्रममा स्थापना कालदेखि हालसम्म विभिन्न आधारभूत तथा उन्नत तालिमहरु समेत गरी कुल ८१ हजार २ सय ४३ जना प्रहरी अधिकृत तथा जवानहरुलाई प्रशिक्षित गरिसकेको जानकारी गराए । 

कार्यक्रममा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले उपस्थित सबैमा धन्यवाद दिनु हुँदै नयाँ नयाँ चुनौतीसँग सामना गर्न सक्ष्रम, ब्यवसायिक एवं कर्तव्यनिष्ट प्रहरी जनशक्तिको उत्पादन नै एक मात्र बिकल्प रहेकोले प्रशिक्षण पद्दतिलाई आधुनिक, ब्यवस्थित तथा उपलब्धिमुलक बनाउने कार्यमा तालिम केन्द्र निरन्तर अगाडि बढिरहेको बताए ।  बार्षिक उत्सब कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका महासचिव अजिता देवकोटा बास्तोला, प्रहरी बरिष्ठ उपरीक्षक, लगायत प्रहरी अधिकृत  तथा जवानहरु र पुर्व प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।