प्रिय सोबिता बैनी ! नमस्ते ।
बधाइ त म तपाईंको कार्यकाल ५ वर्ष सकिएपछि दिने नै छु । गणतन्त्र नेपालको दोस्रो सङ्घीय निर्वाचनमा देशको मुटु सङ्घीय राजधानी काठमाडौं २ प्रत्यक्षतर्फबाट कान्छी सांसद्का रूपमा निर्वाचित हुनुभएकोमा सफल कार्यकालको शुभकामना । पछिल्लो करिब २० दिनयता सामाजिक सञ्जालमा चर्चामा रहेकी पात्र भएकाले पनि तपाईंप्रति मेरो पनि स्वभाविक चासो रहेको हो । यसर्थ पनि यो पत्र लेख्दै छु । हुन त म एउटा राजनीतिक सङ्गठनको सदस्य पनि भएको हुँदा चिठीमा लेखिएका सबै विषय तपाईंका निम्ति रुचिकर नहुन पनि सक्ला ।
नयाँ र स्वतन्त्रहरूबाट पनि देश र जनताको सेवा र सकारात्मक विकास गर्न सकिन्छ र आजको आम जनताको आवाज नै त्यही हो भन्दा सहयात्री मित्रहरूले सिद्धान्त विना कुनै सङ्गठन बनाउन सकिँदैन र सङ्गठन विना कुनै पनि निर्वाचन जित्न सकिँदैन भनेको मेरो मानसपटलको वृत्तमा फनफनी घुमिरहेकै छ । शैशवकालमा हुर्कंदै गरेको नयाँ पार्टी सङ्गठन विस्तार गर्न नभ्याए तापनि तपाईंको पार्टी र स्वतन्त्रहरू मेरो उदाहरण हुन् । तपाईं असल नियतका साथ यो राष्ट्र बनाउने यात्रामा लाग्नुभएको हो भने यो पत्र पढ्ने समय निकाल्नुहुनेछ भन्ने विश्वास लिएको छु । गुमनाम रहेको तपाईंको नाम निर्चाचन जित्नेको लिस्टमा नै थिएन ।
२००७ देखि निरन्तर राजनीति गर्दै आएका राजनीतिज्ञहरूसँग तपाईंले प्रतिस्पर्धा गर्ने जुन साहस र हिम्मत गर्नुभयो, त्यो बयान गरेर गरिसक्नु छैन। २७ बर्षिय महिलालाइ ति तपाइका प्रतिस्प्रधिले प्रतिस्पधि नै ठानेका थिएनन् । पैसा राख्ने बैङ्कजस्तो कुनै पनि व्यक्ति कुनै अमुक राजनैतिक दलले भनेजस्तो भोटबैङ्क हुँदैन भन्ने उदाहरण तपाईंलगायत अन्य स्वतन्त्रहरू हुनुभएको छ । आफ्नो क्षेत्र विकासको नयाँ उचाइमा लैजाने घोषणासहित मैदानमा उत्रिएपछि धेरैको आँखा तपाईंमाथि पर्नु स्वभाविक थियो । सामाजिक सञ्जाल र त्यहाँ क्रियाशील युवा र किशोर किशोरीमाझ त तपाईंको पार्टी अध्यक्ष देश बनाउने दुतका रूपमा नै उदाउनुभयो । कतिपय राजनीतिक दल र तिनका सदस्यले पनि खुलेर तपाईंको पार्टी र तपाईंलाई समर्थन अभिव्यक्त गर्न थाले । एक दृष्टिकोणबाट हेर्दा यो साँच्चै रोचक र उत्साहप्रद पनि देखिएको छ ।
सोबिता बैनी, तपाईंप्रति व्यक्तिगतरूपमा अधिकांशको झैँ मेरो पनि शुभेच्छा नै छ । तर, यहाँ प्रश्न सोबिताको मात्र होइन । प्रश्न त राजनीतिले नै थिलथिलो बनाएको समाजमा एक थप राजनैतिक दल मात्र थपिएको हो कि भन्ने आशङ्काहरू जीवितै छन् र त्यसबाट मुक्ति दिलाउने सत्प्रयास र सत्मार्ग कसरी पहिल्याउने भन्नेन हो ।
राजनीतिक अकर्मण्यता, भ्रष्टाचार र गैरजिम्मेवारीपनले जर्जर बनाएको हाम्रो देश र समाजलाई के एउटा व्यक्तिको प्रयासबाट सुधार गर्न सकिएला ? सोबिताले देश नै कायापलट गर्न सक्छिन् भन्ने सदिच्छा वा भ्रम राख्ने नागरिक र बुद्धिजीवीहरूलाई मेरो जिज्ञासा छ, के संस्थागत, संरचनागत भ्रष्टाचार र अकर्मण्यताका कारण तन्नम भएको व्यवस्था सुधार गर्न एउटा व्यक्ति काफी छन् त ? होला, सोबिता व्यक्तिगत रूपमा इमानदार, दूरदर्शी र सक्षम पनि हुनुहोला । तर, के देशमा रूपान्तरण ल्याउन सांसद् एउटाको इमानदारिताबाट मात्र सम्भव होला ? राजनीतिक आरोह अवरोहका जानकारहरूले पनि संगठनमा नभई व्यक्तिप्रति यति धेरै अपेक्षा गर्नुले उनीहरूको बुझाइ पनि सतही देखिन्छ ।
समस्याको पहिचान विना समाधान सम्भव छैन । सोबिता बैनी तपाईंले अहिले पूरै राष्ट्र सुधार गर्नेजस्ता प्रतिबद्धताहरू गर्नुभएको छ । त्योसँगै हाम्रो देश के कति कारण ले गर्दा बिग्रियो भन्ने विषयमा ठोस विश्लेषण गरेको पाइएन । सायद, तपाईंलाई थाहा छ राजधानी सधैँ परिवर्तनको भोको छ । त्यही काठमाडौं हैन ०६४ मा माओवादीमय भएको, फेरि एमालेमय भयो, फेरि काङ्ग्रेसमय भयो, फेरि एमाले एवम् रितले त्यो फगत् तपाईंको पोल्टामा त आएको हैन ? काठमाडौंका मानिसहरू सपना देख्न र सुन्न रुचाउँछन् । सपना बाँड्न सजिलो पनि हुन्छ । दैनिक जीवनका अनगिन्ती समस्याहरूले निसास्सिएको राजधानी धेरै पहिलेदेखि नै विकल्पको खोजीमा छ । राजधानी यथास्थितिबाट यथाशीघ्र मुक्ति चाहन्छ । त्यो प्रत्येक पटक नयाँ देख्न चाहन्छ, नयाँ सबै राम्रा हुँदैनन् । ‘ओल्ड इज गोल्ड’ भनाइ जीवितै छ तर, पनि नयाँ खोज्छ र प्रत्येकचोटि फस्छ । यो पटक क्रमभङ्गता होस् सारा दुनियाँ चाहन्छ र म पनि ।
डेढ दशकयताकै चुनावको विश्लेषण गर्ने हो भने पनि २०६४ मा माओवादीले गरेको क्लिन स्विप हेर्न सकिन्छ । त्यसको ६ वर्षमै राप्रपा नेपालले ल्याएको भोट र २०७४ को स्थानीय निर्वाचनमा रञ्जु दर्शना र किशोर थापाको भोटले पनि राजधानीवासी एकपछि अर्को विकल्पका निम्ति उद्यत देखिन्छन् । तर, त्यो चाहना कुनै एउटा सानो राजनैतिक दल वा अमुक व्यक्तिको जितले पूरा हुनै सक्दैन, संसदीय राजनीतिमा तपाईं र तपाईंको पार्टी पहिलोचोटि संसद् भवन छिर्दैछ । त्यहाँ कानून बनाउन बहुमत चाहिन्छ, त्यहाँ तपाईंहरूको उपस्थिति एकदमै कमजोर हुन्छ, लगभग २० जना । त्यो सङ्ख्याले संसद्मा घोक्रो सुकाउने मात्र हो निर्णायक दम राख्दैन होला, केही कर्णप्रिय स्वरहरू संसद्मा गुन्जायमान गर्न सकिएला । तर, हाम्रो मात्रात्मक अव्यवस्थालाई सुधार्न त्यो खासै सहयोगी हुन सक्दैन ।
हाल देशको समस्या भनेको संरचनागत र प्रणालीगत असक्षमता हो । जस्तै, भ्रष्ट राजनीतिक नेतृत्व, व्यक्तिवादी र आत्म केन्द्रित बुद्धिजीवी, दलीय आग्रहमा काम गर्ने पत्रकार, वकिलजस्ता पेसाकर्मी र दलीय खेताला बनेका कर्मचारीतन्त्र, भ्रष्ट शिक्षक, भष्ट जनप्रतिनिधिहरू, रूपान्तरणका मूल बाधक हुन् । हाम्रो सामाजिक मनोविज्ञान र चरित्र पनि यस्तै व्यक्तिवादी र स्वार्थी छ । पूर्वजहरूले समाजको हितका निम्ति काम गर्थे, सदाचारको पालना गर्थे राजनीतिक, आर्थिक स्वतन्त्रता र विकृत पुँजीवादले मानिसलाई हदैसम्मको आत्मकेन्द्रित बनाइदिएको छ ।
पैसा विना बाँच्नै नसक्ने अवस्था बन्दा मानिसहरू आफू र आफ्नो परिवारको आर्थिक र भौतिक सुरक्षणमा मात्र केन्द्रित हुनुपर्ने बाध्यता छ । राज्य पनि उत्पादनमा केन्द्रित नभएर वितरणमा केन्द्रित छ । युवा जनशक्ति निर्यात गर्ने र बसेर खाने उपभोक्तामुखी समाज निर्माण भएको छ । तपाईंकै भनाइ उद्धृत गर्ने हो भने हाम्रो पासपोर्टको शक्ति, विदेशिनु पर्ने बाध्यता, उत्पादन गर्नमा त न राज्यको भूमिका र हौसला छ, न त समाज नै यसका लागि सकारात्मक छ । यो सबै अहिलेका मूल समस्याका जड हुन् । खान, बस्न, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाजस्ता मौलिक र आधारभूत विषय पैसामा मोलमोलाइ हुँदा भ्रष्टाचार नै गरेर भए पनि यथेष्ट पैसा कमाउनु नै पर्ने विवशता नेता र नागरिकमा छ । तपार्इं त्यो दलदलमा फस्नुहुन्न भन्ने के ग्यारेन्टी छ ?
यी समस्या समाधानका निम्ति एउटा व्यक्तिको लगावबाट असम्भव प्रायः छ । संस्थागत कमजोरीलाई सुधार गर्न संस्थागत प्रयास नै आवश्यक छ । बहुलवादी राजनीतिक व्यवस्था भएको मुलुकमा राजनीतिले बिगारेका कुरा सुधार्न राजनीतिक सङ्गठन नै आवश्यक छ । त्यो विकृत राजनीतिको आमूल परिवर्तन चुट्किमा छु मन्तर हुने कुरै हैन, त्यो सब जनता ले नियालिरहेका हुन्छन् । तपाईं र तपाईंको पार्टी पनि एकदिन परम्परागत पार्टी जस्तै लाग्न थाल्दछ । संस्थागत र संरचनागत इमानदारिता र दृढताको सङ्गठित स्वरूप हो राजनीति । लामो सङ्घर्ष र मिहिनेतबाट प्राप्त इमानदार र जवाफदेही राजनीतिक नेतृत्वबाट मात्र अहिलेका तमाम समस्याको समाधान हुनसक्छ ।
सोबिता बैनी, राजधानीका समस्या राजधानीको मात्र सापेक्ष समस्या होइन । यो त समग्र देशकै समस्या हो । जनघनत्व बढी भएका कारणले राजधानीका समस्या बढीमात्रामा प्रकट भएको मात्र हो । यसर्थ सामूहिक र संस्थागत इमानदारिता र प्रयत्नबाट मात्र यो समस्याको समाधान हुनसक्छ । जनतालाई तमाम सपना देखाएर धोखा दिने राजनीतिक नेतृत्वप्रतिको चरम् असन्तुष्टि र निराशाका कारण नागरिकहरू तपाईंको पार्टी र तपाईंबाट अपेक्षा गर्नुपर्ने अवस्थामा पुगेका हुन् । यो देशबासीहरूको कमजोरी होइन, बरू राजनीतिकर्मीहरूको असफलताको हो ।
तपाईंको राजनीतिक परिवर्तनको हुटहुटी सम्मानजनक छ । तपाईंले यसलाई संस्थागत र सङ्गठनात्मक स्वरूपमा लैजानुभयो र समाज सुधारका लागि इमानदार अभ्यास गर्नुभयो भने कुनै बिन्दुमा हाम्रो सहकार्य पक्कै हुनेछ । राजनीतिक सङ्गठनले क्षतविक्षत बनाएको समाज सुधार गर्न असल र इमानदार राजनीतिज्ञ आवश्यक छ । त्यो खाल्डो पुर्न तपाईं सफल हुनुहोला । हामी पनि देश र जनता नै भनेर हिँडिरहेका छौं कुनै कुइनेटोमा अवश्य भेट हुनेछ ।
तपाईंको दल र त्यससँग सम्बन्धित अनेकौं कुरा बजारमा आएका छन् । सायद तपाईं पनि तपाईंका अध्यक्षसँग चिरपरिचित नै हुनुहुन्छ । होला, उहाँ र तपाईंको देश बनाउने कुरा त मिल्लान्, त्यो मेरो पनि कुरा हो देश बनाउने कुरा गरेका पुराना दलले सयांै वर्ष भयो । हामी र तिनीहरूमा फरक छ । जसले दशकौंदेखि देश बनाउने कुरा ले ठगिरहे त्यो अपराध हो । हामीहरूमा देश हित को स्वार्थ छ । तिनीहरूमा आफू केन्द्रित हित उहाँको पार्टी र अमेरिकन पार्टीको एकरूपताले शङ्का उत्पन्न गरेको छ । तपाईंको देश बनाउने पवित्र उद्धेश्यमा तुषारापात नहोस् । तपाईंलाई भ्रममा राख्न कसैले नसकुन्, तपाईंलाई फसाउन नसकुन् भन्ने मेरो पवित्र उद्धेश्य हो । किनकि देश बनाउनु, देशको माया गर्नु र देशको भलो चिताउनु कुनै पाप हैन ।
उही तपाईंको अपरिचित दाइ
–इटहरी–५, सुनसरी