धरान । १७ औं ललित–अम्वर डिपो कपको दोस्रो दिन शनिबार भएको खेलमा पुलिस स्कुल, इस्टर्न एकेडेमी र प्रभात स्कुल विजयी भएका छन् ।

शनिबारको खेलमा पुलिसले एक्वा स्कुललाई टाइबे्रकरमा ४–२, इस्टर्नले वराह राइजिङ स्कुललाई १–० र प्रभात स्कुलले लिवर्टी स्कुललाई ३–० गोल अन्तरले पराजित गरेका थिए । पुलिस र एक्वा स्कुलबीचको पहिलो खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

पहिलो चरणको खेलमा हारसँगै एक्वा एकेडेमी, वराह राइजिङ र लिवर्टी स्कुलले दिलकुमार प्लेट च्याम्पियनमा प्रवेश गरेका छन् । प्रतियोगिताको पहिलो चरणमा पराजित ८ टिमले दिलकुमार प्लेट च्याम्पियनमा खेल्न पाउनेछन् । शनिबार भएको खेलको म्यान अफ द म्याच एक्वा एकेडेमीका ससिम मगर, वराह राइजिङका शिशिर कार्की र लिवर्टी स्कुलका गोलरक्षक युकेश लिम्बू घोषित भए । उनीहरूलाई ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको थियो ।

मङ्सिर १६ गते सम्पन्न हुने प्रतियोगितामा सुनसरीभरिका १६ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेताले नगद दस हजार, उपविजेताले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी र हाई स्कोररले ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

यसैगरी दिलकुमार प्लेट च्याम्पियनका विजेताले नगद ३ हजार र उपविजेताले २ हजार ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । आइतबारको खेल धरानस्थित लिगामेन्ट र हिविस्कस, नोवेल एकेडेमी र हिमशिखर, दिल्ली पब्लिक र इमानुयल तथा देउराली एकेडेमी र विष्णु मेमोरियल स्कुलबीच हुनेछ ।