धरान । विश्वकप आयोजक राष्ट्र उद्घाटन खेलमा पराजित भएको इतिहासलाई कतारले तोडेको मात्रै छैन, ऊ विश्वकपको अन्तिम १६ मा प्रवेश गर्ने अवसरबाट पनि लगभग बञ्चित भएको छ । 

यसलाई फुटबल पण्डितहरूले विश्वकप फुटबलमा खराब इतिहास लेखाउन लागेको भनी टिप्पणी गरेका छन् । दक्षिण अमेरिकी राष्ट्र इक्वेडरसँग उद्घाटन खेलमा पराजय भोगेको कतारले समूह चरणको दोस्रो खेलमा पनि अफ्रिकन च्याम्पियन राष्ट्र सेनेगलसँग हार बेहोरेको छ । सेनेगलले पहिलो हाफमै कतारविरुद्ध २–० गोलले अग्रता कायम गरेको थियो ।

कतारको अल थुमामा रङ्गशालामा सम्पन्न खेलमा सेनेगलले ४१ औँ मिनेटमा खाता खोलेको थियो । सेनगेलका खेलाडी बौलाया डियाले गोल गर्दै अग्रता बनाएका थिए । उक्त अग्रतालाई ४८ औं मिनेटमा फमारा दाइदेउले दोब्बर बनाए । खेलमा कतारले पुनरागमन गर्ने अवसर सिर्जना गरेको थियो । खेलको ७८ औं मिनेटमा कतारका मुहम्मद मुन्तारीले हेडमार्फत् देशका लागि पहिलो गोल गरे । मुन्तारा आफ्नो देशका लागि गोल गर्ने पहिलो खेलाडी बन्दा जारी विश्वकपमा तेह्रौँ गोल हो । मुन्तारीको गोलसँगै २–१ को स्थितिमा आएको कतारमाथि पुनः गोल गर्दै सेनेगलका चेख डिङले ८४ औं मिनेट ३–१ को स्थिति बनाए । जसले गर्दा कतारको उत्कृष्ट पुनरागमनमाथि तुषारापात भएको हो ।

ग्यारेथ बेलको टिम स्तब्ध 

एसियन देश इरानसँग विश्वकप फुटबलमा युरोपियन देश वेल्स २–० गोलले पराजित भएको छ । इरानले जित निकाल्नका लागि ८६ औँ मिनेट कुर्नु परेको थियो । १० खेलाडीमा सीमित बनेको ग्यारेथ बेलको टिम निर्धारित समयको अतिरिक्त समयमा गोल खान पुग्यो । इरानका रुजबेह चेस्मीले गोल गर्दै अग्रता दिलाए । उनले अतिरिक्त समयको ८ औं मिनेटमा गोल गरेका थिए । त्यसको तीन मिनेट नबित्दै रामिन रेजाएनल गोल गर्दै जित निश्चित गरे । इरानले अन्तिम १६ मा प्रवेश गर्ने सम्भावनालाई जीवित राखेको छ । 

विश्वकपमा पहिलो रातो कार्ड

वेल्सका गोलरक्षक हेनेस्सेले रातो कार्ड खाँदै मैदान छाडेका छन् । विश्वकपमा पहिलो रातोकार्ड खाने खेलाडी हुन् । गोलरक्षक हेनेस्सेले इरानका मेहदी तारेमीलाई खराब ट्याकल गरेपछि रेफ्रीले रातो कार्ड देखाएका थिए । भिडियो असिष्टेन्ट रेफ्रीको सहयोगमा उनलाई रातो कार्ड दिइएको हो । यता समूह चरणको पहिलो खेलमा इरान इङ्ल्यान्डसँग ६–१ गोलले पराजित भएको थियो । वेल्सले भने अमेरिकासँग बराबरी खेल्दै अङ्क बाडेको थियो ।

ब्राजिलका रिचालिसन अन्द्रादे नायक बन्दा

कतारमा जारी विश्वकपमा ब्राजिलका फरवार्ड रिचालीसन अन्द्रादे नायक बन्दा ब्राजिलले समूह चरणको पहिलो खेलमा जित निकाल्दै तीन अङ्क जोडेको छ । होटेनहम हट्सपरका फरवार्ड अन्द्रादेले सर्बियाविरुद्धको खेलमा एक्लैले दुई गोल गरे । उनको गोल नै निर्णायक बन्यो । 

सन् २०१८ को विश्वकपमा पनि सर्बियासँग समूह चरणमै भेट गरेको ब्राजिल समूह विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । यसपटक पनि उसले सर्बियासँग समूह चरणमै भेट गरेको छ । कतारमा जारी २२ औँ विश्वकपमा बिहीबार मध्यराति ब्राजिलले सर्बियामाथि २–० गोलले हराउँदै तीन अङ्क जोडेको हो । खेलमा सर्वाधिक चर्चामा रहेका खेलाडी नेयमार भने घाइते भई मैदानबाट बाहिरिएका थिए । पहिलो हाफमा गोलको अवसर सिर्जना गरे पनि विपक्षी पोष्टमा हाबी नभएको ब्राजिल दोस्रो हाफमा आक्रामक रूपमा प्रस्तुत भएको थियो । त्यसो त, खेलको २८ औँ मिनेटमा ब्राजिलले अग्रताको अवसर पाएको थियो । 

खेलको ६३ औँ मिनेटमा मात्रै अन्द्रादेले पहिलो गोल गर्दै अग्रता लिएका थिए । त्यो अग्रतालाई ७३ औं मिनेटमा एक्रोब्याटिक प्रहारमार्फत् दोब्बर पारे । पेनाल्टी क्षेत्रभित्र बायाँ खुट्टाले उचालेर दायाँ खुट्टाले हानेको एक्रोब्याटिक प्रहार हेर्नलायक थियो । जितसँगै ब्राजिल समूह ‘जी’ को शीर्षस्थान बनाउन सफल भएको छ । ब्राजिल र स्विट्जरल्यान्ड दुवैको ३–३ अङ्क रहेको छ । बिहीबारकै पहिलो खेलमा स्विट्जरल्यान्डले क्यामरुनलाई १–० ले हराएको थियो । 

विश्वकपमा क्रिस्टियानोको अर्को रेकर्ड

पाँचवटा विश्वकपमा सहभागिता जनाएका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अर्को रेकर्ड बनाउन सफल भएका छन् । कतारमा जारी विश्वकपको पहिलो खेलमा अफ्रिकी देश घानालाई ३–२ गोल अन्तरले पराजित गर्दा पेनाल्टीमार्फत् पहिलो गोल गर्दै अर्को रेकर्ड कायम गरेका हुन् । उनी खेलको प्लेयर अफ दी म्याच चुनिएका थिए । उनी पाँच संस्करणमा सहभागी भएका पहिलो खेलाडी पनि हुन् भने सबै प्रतियोगितामा गोल गर्दै आएका छन् । सन् २००६ बाट विश्वकपमा सहभागी भएका उनी सन् २०१४ सम्म एक–एक गोल गर्दै आएका थिए भने सन् २०१८ मा ४ गोल गर्न सफल भएका थिए । विश्वकप फुटबलमा उनको यो आठाँै गोल हो ।

त्यसो त उनले सर्वाधिक गोलकर्तामा नाम पनि लेखाइसकेका छन् भने उनले क्लब, देशका लागि खेलेका खेलमा ७ सय गोलको रेकर्ड बनाएका छन् । पोर्चुगलले पहिलो गोलको अवसर ६३ औँ मिनेटमा पेनाल्टीमार्फत् पाएको थियो । रोनाल्डोलाई डिबक्स एरियामा लडाएपछि पाएको पेनाल्टीलाई उनले सदुपयोग गरेका थिए । त्यस्तै जोआओ फेलिक्स र राफाएल लिआओले एक–एक गोल गरेका थिए । यता घानाका लागि ओस्मान बुकारी र आन्द्रे आयुले गोल गरेका थिए । जितसँगै पोर्चुगल समूह ‘एच’ को शीर्षस्थानमा उक्लिएको छ । उसले ३ अङ्क जोड्दा गोलरहित बराबरी खेलेका उरुग्वे र दक्षिण कोरियाले १–१ अङ्क बाँडेका छन् ।