धरान । कतारमा जारी विश्वकप फुटबलमा अर्जेन्टिनालाई नराम्रो झट्का लागेको छ । लिग चरणको सुरुवाती खेलमै साउदी अरेबियाले २–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनालाई झट्का लागेको हो । उसको ३७ खेलको अपराजित यात्रामा पनि ब्रेक लागेको छ ।

सुरुवाती १० मिनेटमै अर्जेन्टिनी कप्तान लियोनल मेसीले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता कायम गरे पनि उत्तराद्र्धमा सुधारिएको प्रदर्शन गर्दै साउदीले ५ मिनेटको अन्तरमा दुई गोल गरेको हो । साउदीले ४८ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनासँग बराबरी गर्ने मौका प्राप्त ग¥यो । साउदीका सलेह अलसेहरीले गोल गर्दै बराबरीमा ल्याए ।

लगत्तै ५३ औं मिनेटमा अर्को गोल गर्दैै अर्जेन्टिनालाई दबावमा राखेको हो । साउदीका सलिम अलदावसरीले गोल गर्दै अग्रता कायम गरे । त्यो अग्रता निर्धारित समयसम्म कायम राख्न सफल भएको हो । अर्जेन्टिनाले बारम्बार दबाव सिर्जना गरे पनि रक्षापङ्क्ति र गोलरक्षकको तालमेलका कारण साउदीले ३ अङ्क जोड्दै शीर्षस्थानमा रहेको छ । समूह सीअन्तर्गत साउदी र अर्जेन्टिनाको पहिलो खेल भएको हो । उक्त समूहमा मेक्सिको र पोल्यान्ड पनि रहेका छन् ।

अर्जेन्टिनाले खेलको १० औं मिनेटमा पेनाल्टीमार्फत् गोलको अवसर सिर्जना गरेको थियो । त्यसयता दुईवटा गोल गरे पनि अफसाइड भएका कारण गोल गणना भएन । लियोनल मेसीको अन्तिम विश्वकप रहेको यस खेलमा मेसीले फेरि पनि क्लब गेमजस्तो आफूलाई जादुगर शैलीको खेल देखाउन सकेनन् । फलतः उनको टिम पहिले खेलमा पहिलो पटक साउदीसँग पराजित हुन पुगेको हो ।

वेल्सलाई राहत
खेलको अन्त्यतिर कप्तान ग्यारेथ बेलको पेनाल्टीको गोलमार्फत् वेल्स कमब्याक भएको छ । समूह बीअन्तर्गत वेल्सले अमेरिकासँग पहिलो लिग खेलेको थियो । सोमबार राति सम्पन्न खेलमा अमेरिकाले सुरुवाती अग्रता कायम गरेको भए पनि ग्यारेथ बेलले पेनाल्टीमार्फत् गोल गर्दै देशलाई १–१ अङ्क बाँड्न सफल भए ।

उनको पनि यो अन्तिम विश्वकप हो । कतारको अकहमेद विन अली स्टेडियममा भएको प्रतिस्पर्धात्मकक खेलमा अमेरिकाका टिमोथी वेहले गोल गर्दै टिमलाई अग्रता कायम गरेका थिए । सुरुवाती अग्रतालाई खेलको अन्त्यतिर सम्हालिन नसक्दा ३ अङ्क प्राप्त गर्नबाट बञ्चित बनेको थियो ।

खेलको ३६ औँ मिनेटमा टिमोथीले गोल गरेका थिए । उनले क्रिस्टियन पुलिसिसको पासलाई सदुपयोग गरेका थिए । खेलको ६४ औँ मिनेटमा वेल्सले बराबरी गर्ने मौका गुमाएको भए पनि अन्त्यतिर पाएको पेनाल्टीलाई वेलले सदुपयोग गरे । खेलको ८२ औँ मिनेटमा बेलले पेनाल्टीमार्फत् गोल गर्दै बराबरीमा ल्याएका थिए । डिएरियामा जिमरनमनले फउल गरेपछि रेफ्रीले वेल्सलाई पेनाल्टीको अवसर सिर्जना गरेको थियो । उक्त समूहका रहेको इङ्ल्यान्डले ३ अङ्क जोड्दा इरानले खाता खोल्न सकेको छैन ।

सेनेगलमाथि नेदरल्यान्ड्स हाबी
सेनेगल डच देश नेदरल्यान्ड्ससँग २–१ ले पराजित भएको छ । सोमबार राति सम्पन्न खेलमा नेदरल्यान्ड्सले साडियो मानेको देश सेनेगलमाथि जित हात पारेको हो । नेदरल्यान्ड्सले ३ अङ्क जोड्दा अफ्रिकी च्याम्पियन सेनेगल अङ्कविहीन बनेको छ । नेदरल्यान्ड्सका कोडी गाक्पो र डाभी क्लासेनलले गोल गर्दै जित दिलाए ।

पहिलो हाफ बराबरी खेलेको नेदरल्यान्ड्सले दोस्रो हाफको पनि अन्त्यतिर अवसर सिर्जना गरेको हो । खेलको ८४ औँ मिनेटमा नेदरल्यान्ड्सका मिडफिल्डर गाक्पोले गोल गरे भने इन्जुरी समयमा क्लासेनलले गोल गर्दै जित निश्चित गरे । सन् २०१० को उपविजेता बनेको नेदरल्यान्ड्स सन् २०१८ मा विश्वकपमा छनोट हुन सकेको थिएन ।

सेनेगलले शुक्रबार आयोजक कतारसँग प्रतिस्पर्धा गर्दै छ । समूह ‘ए’ अन्तर्गत आइतबारको उद्घाटन खेलमा आयोजक कतार इक्वेडरसँग २–० गोलले पराजित भई अङ्कविहीन छ । यता नेदरल्यान्ड्स र इक्वेडरले समान तीन—तीन अङ्क जोडेका छन् । यस्तै समूह ‘डी’ अन्तर्गतको ट्युनिसिया र डेन्मार्कबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।