सिके राउत नेतृत्वको जनमत पार्टीबाट १ नम्बर प्रदेशबाट प्रदेशसभा सदस्य समानुपातिकतर्फकी उमा घिमिरे अहिले प्रदेश १ का विभिन्न जिल्लामा पुगेर भोट मागिरहेकी छन् । पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी घिमिरे इटहरीस्थित बङ्गलामुखी कलेजसमेत चलाउँछिन् । ‘विकास, परिवर्तन, सद्भाव र एकता, उमा घिमिरेको प्रतिबद्धता’ नारासहित अघि बढिरहेकी इटहरी उपमहानगरपालिका ८ नम्बर वडावासी उनीसँग ब्लाष्ट दैनिकले गरेको कुराकानीको सारसंक्षेपः

तपाईंको उम्मेदवारी किन र केका लागि ?
–पुराना पार्टीहरुप्रति आम मतदाता रूष्ट छन् । उनीहरु विकल्प खोजिरहेका छन् । दलहरु भ्रष्टाचार, अनियमिततामा लिप्त भए । जसको परिणाम आज स्वतन्त्रहरुले चुनाव जितिरहेको अवस्था छ । पार्टीहरु गलत लाइनमा हिँड्दाको परिणाम नै आजको अवस्था हो । त्यसैले हाम्रो पार्टी जनमत पार्टीले नागरिकलाई जनचेतना जगाउँदै भ्रष्टाचारजस्ता कुरामा शून्य सहनशीलता अपनाउने रणनीति लिएका छौँ । त्यसकारण मेरो उम्मेदवारी पनि यस्ता गलत प्रवृत्ति र गलत संस्कारका विरूद्धमा हो ।

जनमत पार्टीलाई नै किन भोट दिनुपर्ने ?
–हाम्रो पार्टीले देश विकासका लागि केही निश्चित अवधारणा तथा योजनाहरु ल्याएको छ । जस्तैः हरेक घर, एक रोजगारी, किसानका समस्या समाधानका लागि, भ्रष्टाचारमुक्त देश, शिक्षालाई निःशुल्क गुणस्तरीय बनाउन, सर्वसुलभ र निःशुल्क स्वास्थ्यका लागि, जनताको शासन स्वराजका लागि, प्रत्यक्ष लोकतन्त्रका लागि, राइट टु रिकल र राइट टु रिजेक्टका लागि, देशको आर्थिक वृद्धिदर १० प्रतिशत पु¥याउनका लागि, देशमा आर्थिक क्रान्ति र आमूल परिवर्तनका लागि, न्यूनतम् बिजुली र पानी बिल निःशुल्क गर्नका लागि, १० करोड वृक्षरोपण गर्न, डिजिटल सरकार बनाउन, महिला सुरक्षा, सशक्तीकरण, वैज्ञानिक र दिगो पूर्वाधार विकासका लागि भोट दिन हाम्रो आग्रह हो ।

घरदैलो अभियानमा कस्ता समस्या पाउनुभएको छ ?
–आफूले उम्मेदवारी दिइसकेपछि गाउँघरका समस्या के छन् ? आम मतदाता तथा जनताको अपेक्षा चाहिँ के छ ? भन्नेमा दृष्टिगोचर गरेको छु । गाउँ–गाउँका समस्या बुझ्दै हिँडिरहेको छु । के के समस्या रहेछन् ? कस्ता समस्यामा हामीले आम नागरिकलाई मद्दत गर्न सकिन्छ र उनीहरुका समस्यालाई कसरी सम्बोधन गर्न सकिएला । भोलि आफू संसद्मा पुगेपछि उनीहरुको आवाजलाई कसरी उठाउने भन्ने विषयमा केन्द्रित भएर नै अभियानमा होमिएकी हुँ । अहिलेसम्म किसानहरुको, आम नागरिकको समस्या बुझ्ने प्रयास गरिरहेको छु ।

गाउँ–गाउँको समस्या चाहिँ के रहेछ ?
–गाउँमा प्रवेश गरेपछि सबैतिर समस्यै समस्या देखियो । सबैका आ–आफ्ना समस्या रहेछन् । किसानको आफ्नै खालको समस्या रहेछ । भ्रष्टाचारमुक्त देश बनाउँछु भनेर हिजो ठूला दलले गरेका वाचा तथा प्रतिबद्धता भुलेको गुनासो व्यापक छ । कतिपय महिलाहरुले नागरिकता नपाएको गुनासो पनि व्यापक छ । कतिपय ठाउँमा चाहिँ बाटोघाटो, बिजुली, खानेपानी, शिक्षाको विषय उठाउनुभएको छ । समयमा स्वास्थ्य उपचार पाइएन भन्ने गुनासो पनि सुनियो । गाउँघरमा यावत् समस्याहरु विकराल रुपमा देखिए । यस्ता विषयलाई सम्बोधन गर्नका लागि आफूले पनि केही वाचा गरेर आएको छु ।

तपाईले चाहिँ के भन्नुभयो ?
    –मैले हामी आएका छौंँ । हजुरहरुको समस्याकै लागि आएका हौं । म छु, म गर्छु तपाईंहरुको समस्याको सम्बोधन । निराश हुनुपर्दैन । शिक्षा नभएको ठाउँमा त्यहीअनुसारको शिक्षा दिने वातावरण तयार गर्नेछु । स्वास्थ्य सुविधा दिने कुरामा पनि आश्वासन दिएर आएको छु ।

प्रदेशसभामा गएपछि तपाईंको आफ्नो जिम्मेवारी चाहिँ के हो ? अहिले गरेका वाचा पूरा होलान् त ?
–प्रदेशसभामा गएपछि कानून, ऐन, नीति नियम बनाउने पहिलो जिम्मेवारी हो । त्यो जिम्मेवारीसँगै आम नागरिकका समस्या समाधान गर्नका लागि सरकार बन्छ । त्यो सरकारले नागरिकका विकासका समस्या, स्वास्थ्यका समस्या, खानेपानीका समस्या, शिक्षाका समस्या, बाटोघाटोको समस्याका विषयमा सम्बोधन गर्छ । नीति, नियमलाई सरकारले कार्यान्वयन गराउँछ । त्यसका लागि संसद्मा पुगेपछि हाम्रो जिम्मेवारी भनेको सरकारलाई दबाव दिने हो । नीति नियमभित्र त्यस्ता विषयलाई प्रवेश गराउने हो । हो, अहिले भनेजस्तो सिधै गर्न नसकिएला तर, त्यसका लागि पहल गर्न सकिन्छ भन्ने हो ।  त्योसँगै भ्रष्टाचारमुक्त देश बनाउने जिम्मेवारीमा पनि मेरो भूमिका हुनेछ । जनताकै लागि मैले सोच्नेछु । महिला सशक्तीकरणका लागि, विकासका लागि, बिजुली, खानेपानीका लागि पहल गर्दै देशको आर्थिक वृद्धिदरमा आमूल परिवर्तन ल्याउने प्रयास हुनेछ । देशको आर्थिक वृद्धि १० प्रतिशत पु¥याउनका लागि मेरो भूमिका हुनेछ । लोकतन्त्रका लागि पनि आवाज उठाउन जनतालाई प्रेरित गर्नेछु ।

लोकतन्त्रका लागि आवाज भन्नाले कस्तो ?
–अहिले पनि जनता खुलेर भन्न सक्ने अवस्थामा छैनन् । महिला, बालबालिका, असक्त, अपाङ्गहरुको आवाज सम्बन्धित निकायमा पुग्न सकेको छैन । हामी २१ औँ शताब्दीको लोकतन्त्र भन्दछौँ तर, खोइ ? कसले पाएका छन् ? आम सर्वसाधारण जो बोल्न सक्दैनन् । उनीहरुको आवाज पुग्दैन । उनीहरुका लागि त लोकतन्त्र नामको मात्रै छ । उनीहरुलाई त्यस विषयमा सही तरिकाले बुझाउने मेरो प्रयास हुनेछ । समस्याहरु राख्न सक्ने बनाउनु पर्नेछ । आफै लडेर, भिडेर हुन्छ कि सक्षम बनाउन आवश्यक छ ।

तपाईंलाई आम मतदाताले चाहिँ के भनिरहेका छन् ?
–अहिलेसम्म जतिलाई भेटेको छु, उहाँहरु सबैको माया पाएको छु । सबैले मेरो छोरी, दिदी, बहिनी, नानी भनेर भन्नुभएको छ । अरुलाई धेरै पटक हेर्यौँ । हामी उनीहरुबाट अघाइसकेका छौँ । यो नयाँ पार्टी रहेछ । यसका लागि तिमीलाई सहयोग गर्नेछौँ भनेर भनिरहनु भएको छ । मैले अहिलेसम्म भेटेका आम मतदाताबाट सकारात्मक नै प्रतिक्रिया पाइरहेको छु ।

अहिले चाहिँ कहाँ–कहाँ हिँडिरहनुभएको छ ?
–यतिबेला मोरङको पथरीशनिश्चिरे नगरपालिकाको घरदैलोमा छौँ । यसअघि झापाको दक्षिणी क्षेत्र कुञ्जिबारी, तोपगाछीलगायतका क्षेत्रमा पुगेका थियौँ । त्यस्तै चारआलीसम्म पुगिसकेको छु । पश्चिममा कोसी ब्यारेजसम्म र दक्षिणी क्षेत्रमा पुगिसकेका छौँ । सुनसरीको देवानगञ्ज पुग्दा त्यहाँ पानी, बिजुलीबत्ती, नेटवर्क केही नटिप्ने स्थानहरु पनि रहेछन् । देवानगञ्जमा पुग्दा त्यहाँ एकजना आमा आक्रोसित भई मेरो सामु धरधरी रूनु पनि भयो । मैले म आएको छु । मलाई भोट दिनुहोस् । तपाईंहरुको समस्याको सम्बोधन गर्नेछु भनेर उहाँलाई आश्वासन दिएँ । उहाँहरुलाई मैले मेरो फोन नम्बरहरु पनि सेयर गरेको छु । म जितेर संसद्मा पुगँे भने उहाँहरुको समस्यालाई सम्बोधन गर्नेछु ।

तपाईं त समानुपातिकतर्फबाट उठ्नुभएको छ, यस्तो अवस्थामा उहाँहरूले कसरी पहिचान गर्नुहुन्छ ?
–मैले चुनावी अभियानका क्रममा आफ्नो चुनाव चिह्न ‘लाउडस्पिकर हर्न’ देखाई यसमा स्वस्तिक छाप हान्नुहोला भनेर भनेको छु । मैले आफ्नो नाम पनि उहाँहरुलाई देखाएको छु । मतपत्रको नमुना पनि देखाएको छु । यस हिसाबमा उहाँहरुले भोट दिनुहुनेछ भन्ने आशा छ । नयाँ पार्टी भएकाले केही आशावादी पनि छु । किनकि पुराना पार्टीहरुप्रति आम मतदाता आक्रोसित भएको पाएँ । त्यसलाई ‘क्यास’ गर्न सक्नेछु भन्ने विश्वास छ ।

आम मतदातालाई के भन्नुहुन्छ ?
–आम मतदातालाई मलाई भोट दिई जिताउनु होला । म तपाईंको छोरी, बुहारी, चेली, दिदीबहिनी हुँ । हजुरहरुको अमूल्य भोटले विजयी गराइदिनुहोला भनेर आशा गरेको छु । जितेपछि आफ्नोतर्फबाट काम गर्नेछु ।

party janamat