विजयपुर । लोकतान्त्रिक बाम गठबन्धन सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधि र प्रदेशसभा सदस्यका उम्मेदवारहरूले चुनावी सङ्कल्प–पत्र सार्वजनिक गरेका छन् । शुक्रबार सङ्कल्प–पत्रमा १ नं. प्रदेशको नामकरणलाई प्राथमिकतामा राखेका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनबाट प्रतिनिधिसभा सुनसरी–१ बाट माओवादी केन्द्रका मुक्सामहाङ सुब्बा (मुकेश), सुनसरी क्षेत्र नं. १ (क) नेपाली काङ्ग्रेसका उमेश थापा र सुनसरी क्षेत्र नं. १(ख) बाट एकीकृत समाजवादीका रेवतीरमण राई चुनावी प्रतिस्पर्धामा छन् । उनीहरूले प्रतिबद्धता–पत्रमा १ नं. प्रदेशको नामकरणलाई प्राथमिकता दिएका छन् ।
प्रतिबद्धता–पत्रमा ‘ऐतिहासिक पृष्ठभूमि र सभ्यतासँग सम्बन्धित पहिचानका आधारमा’ प्रदेश १ को नामाङ्कन गर्ने उल्लेख गरेका छन् । प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारले लिइएको सङ्कल्प–पत्रमा धेरै कुरा यस क्षेत्रको विकास निर्माण, स्वास्थ्य, शिक्षा, पर्यटन, खानेपानीलाई प्राथमिकतामा राखेका छन् ।
सङ्कल्प–पत्र सार्वजनिक कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार मुकेशले संविधानको रक्षाका लागि गठबन्धन भएको बताए । उनले १ नं. प्रदेशको नाम नहुनुमा केन्द्रीय नेतृत्व र हस्तक्षेप पनि जिम्मेवार रहेको बताए । उनले १ नं. प्रदेशको पहिचानसहित नामकरण गर्ने बताए ।
सुनसरी १ (क) का उम्मेदवार उमेश थापाले आफू निर्वाचित भए छाता चोकमा नगर अस्पताल निर्माण गर्ने प्रतिबद्धता जनाए । उनले गठबन्धनका उम्मेदवार निर्वाचित भएमा पहिचानको आधारमा प्रदेशको नामकरण गर्ने बताए ।
उनले प्रदेशको नामकरणका बारेमा धेरै बहस भैसकेकोले पहिचानकै आधारमा नामकरण गरिने बताए । गठबन्धनका सुनसरी–१ (ख) का उम्मेदवार रेवतीरमण राईले आफ्नो गठबन्धन संविधान जोगाउन बनेकाले पवित्र भएको भन्दै एमाले–जसपा तालमेल अपवित्र भएको बताए । उनले पहिचानकै आधारमा प्रदेशको नामकरण गरिने बताए ।