सुनसरी / नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त सुरक्षा बैठक सम्पन्न भएको छ । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुनसरीको इटहरी उपमहानगरपालिकास्थित तरहरा कृषि अनुसन्धान निर्देशनालयमा संयुक्त जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको हो ।

आगामी निर्वाचन सीमा सुरक्षाका आगामी रणनीति तथा सीमाक्षेत्रका अन्य विषयहरूमा केन्द्रित भएर संयुक्त सुरक्षा बैठक सम्पन्न भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । सो बैठकमा निर्वाचनको समयमा हुनसक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण, हातहतियार कारोबार, लागूऔषध कारोबार, मानव बेचबिखन नियन्त्रणसहितका विषयमा समेत छलफल गरिएको थियो ।

मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको बेला नेपाल–भारतको सीमा ७२ घण्टा शिल गर्नेदेखि सीमा सुरक्षामा उच्च सतर्कता अपनाउने र अन्तरदेशीय सीमा अपराध न्यूनीकरणका बारेमा समेत छलफल भएको उनले बताए । उक्त बैठकमा अवैध हातहतियार तथा बन्दोबस्तीका सामान  ओसार–पसार नियन्त्रणसम्बन्धी सूचना आदान–प्रदान एवम् शान्ति सुव्यवस्थालगायत विषयमा दुवै पक्षबीच छलफल भएको थियो ।

प्रजिअ यादवका अनुसार बैठकमा निर्वाचनका बेला मङ्सिर १ गते राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ बजेसम्मका लागि जिल्लाको नेपाल–भारत सीमा शिल गर्ने र त्यसमा दुवै सुरक्षा निकायले काडाइका साथ निगरानी गर्ने निर्णय भएको हो ।

निर्वाचनका बेला सीमामा हुन सक्ने सम्भावित सबैखाले समस्याको समाधान गर्न प्रयास गर्ने सहमति भएको बताउँदै उनले निर्वाचनका बेला सीमा शिलदेखि सीमामा हुने अपराध नियन्त्रणका लागि दुवै देशले समन्वय गर्ने, निर्वाचनका बेला सूचना आदान–प्रदान गर्ने, राजस्व चुहावट नियन्त्रण गर्नेलगायतका विषयमा छलफल भएको जानकारी दिए । 

बैठकमा नेपालका तर्फबाट सुनसरीका प्रजिअ यादवसहित जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभुप्रसाद ढकाल, सशस्त्र प्रहरीका प्रमुख विक्रम होमागाईं, सुरक्षा अधिकारीहरू र भारतका तर्फबाट सुपौल जिल्लाका डिएम कौशल कुमार, डि अमरेश, वीरपुरका भारतीय प्रहरी प्रमुख पङ्कलकुमार मिश्रा, सुरेश प्रसाद, भारतीय सीमा सुरक्षा बलका कमान्डर आलोक कुमार, भारतीय प्रहरीका प्रतिनिधि तथा भारतीय भन्सार कार्यालयका राजीवरञ्जन सिंहसहितको सहभागिता रहेकोे थियो ।

उक्त बैठक दुवैपक्षबाट सीमावर्ती क्षेत्रको वर्तमान अवस्था, समन्वय तथा सुरक्षाका बारेमा समेत जानकारी गराइएको थियो । नेपाली पक्षले भारतीय पक्षलाई साना हातहतियार र लागूऔषध कारोबार नियन्त्रणमा सहयोग गर्नुका साथै आसन्न स्थानीय तह निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सहयोग गर्न आग्रह गरेको थियो भने भारतीय पक्षले विभिन्न सीमा नाकाहुँदै हुँदै आएको मदिरा तस्करी नियन्त्रण गर्न आग्रह गरेको थियो ।

आगामी स्थानीय तह निर्वाचन शान्तिपूर्ण माहोल सम्पन्न गराउन निर्वाचनको बखत सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गर्दै कुनै पनि प्रकारको अवैध घुसपैठ रोक्न दुवै देशका सुरक्षाअधिकार सहमत भएको प्रजिअ यादवको भनाइ छ । यसैबीच आगामी निर्वाचनलाई मध्यनजर गर्दै सीमा सुरक्षामा कडाइ गरिएको छ । मङ्सिर ४ गते हुने निर्वाचनका कारण भारतसँग सीमा जोडिएका क्षेत्रहरूमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो ।

निर्वाचनका बेला कुनै पनि आपराधिक घटना गरेर भारततर्फ अपराधी भाग्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सोहीअनुसार सीमामा कडाइ गरिएको सुनसरी प्रशासनको भनाइ छ ।

सीमा क्षेत्रमा मानव तस्करी, अवैध हातहतियार कारोबार, लागूऔषध ओसार–पसार, अपहरणजस्ता गैरकानुनी क्रियाकलापका घटना न्यूनीकरण तथा नियन्त्रण गर्दै सीमा क्षेत्रमा शान्तिसुरक्षा मजबुत बनाइराख्न मातहतका सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको प्रजिअ यादवको भनाइ छ ।