विजयपुर । धरान उपमहानगरले चाडपर्व, उत्सवमा मेला नलगाउने निर्णय गरे पनि आफ्नो निर्णयको धज्जी उडाउँदै धरान–३ पालिका बजारछेउमा मेला लगाउन अनुमति दिएको छ । 

धरान नगरका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालको स्वीकृतिमा मेला लगाउन दिइएको हो । पालिका तरकारी बजारभन्दा दक्षिणपट्टि गुपचुपमै तिहारका बेला ठूलै मेला लागेको थियो । गुपचुपमा मेला लागेको र नगरको निर्णयविपरीत स्वीकृति दिएकाले कतिपयले आर्थिक चलखेल गरेको आशङ्का गरेका छन् ।

वडामा मेला लागेको विषयमा वडाध्यक्ष विद्या शाक्यसम्मलाई जानकारी नदिइएको पाइएको छ । वडाध्यक्ष शाक्यलाई ब्लाष्टकर्मीले फोनमार्फत् बुझ्दा आफूलाई जानकारी नदिई नै मेला लागेको स्वीकारे । मेला भने धरान–२ मा दर्ता भएको युवा प्रार्थना मिडिया प्रा.लि.ले मेला लगाएको थियो । प्रा.लि.ले स्थानीय सरकार र इलाका प्रशासन कार्यालयबाट असोज ४ गते अनुमति लिई ६ दिनसम्म मेला लगाएको खुलेको छ । 

धरान–३ का १ जनप्रतिनिधिका अनुसार धरान–२ मा दर्ता भएको संस्थालाई आफ्नो वडामा जानकारी नदिई मेला लगाउने स्वीकृति दिनु अन्यायपूर्ण हो । एक जनप्रतिनिधिले नाम नछाप्ने शर्तमा भने, ‘धरान–२ को संस्थाले एकैपटक स्वीकृति लिएर आउँदा आफूले बन्द गराउने कुरा पनि भएन ।’ 

नगरले हाउजीलाई अनुमति नदिने निर्णय गरेको भए पनि कतिपय स्थानमा खुलेआम हाउजी सञ्चालनमा आएको थियो । धरानमा यसपटक धरान–१८ स्थित रत्नचोकमा सबैभन्दा ठूलो हाउजी खेल भएको थियो । उक्त खेलका लागि स्थानीय सरकारले नै अनुमति दिएको थियो । रत्नचोकमा मेला लागेको विषयमा बुझ्दा वडाध्यक्ष नरेन्द्रकुमार राई प्रवीणले नगरले नै अनुमति दिएको बताए ।

नगरले हाउजी तथा मेला लगाउन नदिने निर्णय गरे पनि अधिकृत रिजालले अनुमति दिएको उनले खुलाए । उनले भने, ‘मेयर सा’पलाई पनि जानकारी नदिई स्वीकृत दिनु भएछ । मेयरले पनि अधिकृतलाई ‘तपाईंले गल्ती गर्नुभयो ?’ भन्दा अधिकृतले माफीसमेत माग्नुभयो ।’ उनले वडाध्यक्षहरूलाई जानकारी नदिई मेला लगाउँदा स्थानीयहरूले पनि प्रश्न उठाएको बताए । उनले भने, ‘नगरमा मेला लगाउन अनुमति नदिने निर्णय भएको छ । कुन आधारमा अनुमति दिनुभयो ।’ उनले थपे, ‘मेलालगायतका खेल हुँदा दुर्घटना भएको भए कसले जिम्मेवारी लिन्थ्यो ?’ 

यता प्रमुख प्रशासकीय अधिकृत रिजालले भने सामाजिक विकास महाशाखाबाट आएकाले मेलाका लागि स्वीकृति नदिई बालबालिकालाई लक्षित गरी स्वीकृति प्रदान गरेको बताए । उनका अनुसार इलाका प्रशासनले नगरको स्वीकृत चाहियो भनेको छ भनेर आएपछि स्वीकृति दिएको बताए । उनले भने, ‘मैले मेलाको लागि अनुमति दिएको थिइनँ, मेला लागिरहँदा जनप्रतिनिधिहरूले मलाई किन जानकारी गराएनन् ? गराएको भए म तत्कालै बन्द गरिदिन्थेँ ।’ उनले थपे, ‘अनुमति दिनेलाई रद्द गर्ने पनि अधिकार हुन्छ नि ।’

उनले आफूलाई जानकारी आएर पनि रद्द नगर्नु चाहिँ गल्ती हुने दाबी गरे । उनले भने, ‘वडाका जनप्रतिनिधिले पनि समाप्त भएपछि मात्रै कुरा उठाएकोमा आश्चर्य प्रकट गरे । वडा नं. १८ रत्न चोकमा हाउजी खेलाउन अनुमति नदिएको बताए । विभिन्न बहानामा अनुमति लिएको भए जानकारी आफूलाई नभएको बताउँदै भने, ‘हाउजी खेल्न अनुमति दिएको छैन ।’