विराटनगर । विराटनगर–४ को राम जानकी कोल्ड स्टोर (चिस्यान केन्द्र) मा ग्यास चुहिँदा निसास्सिएर एकजना मिस्त्रीको मृत्यु भएको छ ।
चिस्यान केन्द्रमा बिहीबार दिउँसो अचानक ग्यास चुहिँदा निसास्सिएर कोल्ड स्टोरमा काम गरिरहेका विराटनगर–५ का ५४ वर्षीय मिस्त्री रौँदी चौधरीको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । केन्द्रभित्र ग्यास चुहिँदा निसास्सिएर अचेत बनेका चौधरीको उपचारको क्रममा विराट नर्सिङ होममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । स्थानीयका अनुसार चौधरी चिस्यान केन्द्रभित्र काम गरिरहेका बेला अचानक ग्यास चुहिएको थियो ।
प्रहरीका अनुसार बाहिर निस्कन नपाउँदै चौधरी अचेत भई त्यहीँ ढलेका थिए । तत्काल उपचारका लागि लगिए पनि मृत्यु भइसकेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि कोसी अस्पतालमा लगिएको छ भने घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
ग्यास कसरी चुहियो भन्ने बारेमा अनुसन्धानपछि मात्रै खुल्ने प्रवक्ता श्रेष्ठको भनाइ छ । आवश्यक पर्ने ग्यास चिस्यान केन्द्रले भण्डारण गरेर राखेको थियो । भण्डारणस्थलबाटै ग्यास चुहिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । सुरक्षित र व्यवस्थित तरिकाले भण्डारण नगर्दा ग्यास चुहिएर मानवीय क्षति हुन पुगेको स्थानीयले बताए । चिस्यान केन्द्रका सञ्चालकहरूको लापरबाहीका कारण घटना भएको भन्दै सत्य–तथ्य छानबिन हुनुपर्ने स्थानीयले माग राखेका छन् ।