विजयपुर ।  धरान उपमहानगरको कार्यपालिका बैठक बिहीबार पनि स्थगित भएको छ ।

बैठकमा कार्यपालिका सदस्यहरूले धरान नगर प्रमुख हर्कराज राईले असोज १३ गतेको कार्यपालिका बैठकमा भएका कमजोरी सच्याउने प्रस्ताव राखेपछि स्थगित भएको हो । कार्यपालिका सदस्यहरूले अघिल्लो बैठकको गल्ती सच्याउन प्रस्ताव राखेपछि नगर प्रमुख राईले नै बैठक स्थगित गरेको धरान–१५ वडाध्यक्ष नरेश इवारमले बताए । उनले भने, ‘गल्ती सच्याउने प्रस्ताव लगेपछि बैठक स्थगित भनेर मेयर बाहिरिनुभयो ।’

नगर प्रमुख राईले असोज १३ गतेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्य अनुप देवानलाई ‘बैठकबाहिर जानू’ भन्ने निर्देशन दिएका थिए । कार्यपालिका सदस्य देवानलाई ‘बाहिर जानू’ भनेपछि अन्य कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गर्दै माफी नमागेसम्म कार्यपालिका बैठक नबस्ने उद्घोष गरेका थिए । विगतको अभिव्यक्तिका विषयमा गल्ती सच्याउने प्रस्ताव लगेको वडाध्यक्ष इवारमले बताए । असोज १३ गतेको कार्यपालिका बैठकमा सदस्य अनुप देवानले सप्तरङ्गी पार्कलाई बहुसांस्कृतिक पार्क बनाउने प्रस्तावका विषयमा धारणा राख्दै गर्दा उनलाई नगर प्रमुख राईले ‘बैठक बाहिर जानू’ भनेका थिए ।

कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरूले गल्ती सच्याउन प्रस्ताव राखेपछि प्रमुख राईले बैठक स्थगित भन्दै हलबाट बाहिरिएपछि स्थगित भएको वडाध्यक्ष इवारमले बताए । उनका अनुसार बैठकको कार्यसूचीमा भानुचोक घण्टाघर व्यवस्थापन गर्ने, प्रदेश सरकारले बनाएको ई–रिक्सा सञ्चालन कार्यविधि २०७९ पास गर्ने,  बाटोको नामकरण तथा मापदण्डसम्बन्धी, सप्तरङ्गी पार्कलाई बहुसांस्कृतिक पार्क बनाउने, आर्थिक सहायतासम्बन्धी, विविध र अघिल्ला कार्यपालिका बैठकको समीक्षालगायत गरी ८ वटा प्रस्ताव रहेका थिए । धरान–१८ का वडाध्यक्ष नरेन्द्रकुमार राई ‘प्रवीन’ ले अघिल्लै कार्यपालिका बैठकमा नगर प्रमुख राईको गल्तीका विषयमा छलफल भए पनि बैठक स्थगित भएको बताए । उनले भने, ‘प्रमुख, उपप्रमुख र संसदीय दलका नेतासहित छलफल भोलि हुनेछ ।’

यता नगर प्रमुख राईले आफूले माफी माग्नु पर्ने कारणबारे कार्यपालिका सदस्यहरूलाई जानकारी दिन आग्रह गरेका छन् । उनले भने, ‘गल्ती कहाँनेर, के भयो जानकारी दिनुहोला ।’ उनले अगाडि भने, ‘उहाँ (अनुप देवान) ले बस्दिन भन्न पाउने, मैले बस्नुस् भन्न नपाउने ? कार्यपालिका सदस्यले पनि त अन्याय गर्नुभयो नि होइन र ? उहाँले मलाई गलत देखाउनुभयो तर, बैठकको मर्यादा त हुन्छ होला नि ?’