भद्रपुर । यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी झापामा अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालय झापाले विहीबार भद्रपुरमा आयोजना गरेको निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक कार्यक्रमको बारेमा जानकारी गराउदै यस्तो जनाएको हो ।

 झापाका १५ वटा स्थानीय तहमा हुने निर्वाचनमा पुरुष ३ लाख ३१ हजार ४४ , महिला मतदाता ३ लाख ३२ हजार २ सय ५९ र ८ जना तेस्रो लिङ्गी गरी जम्मा ६ लाख ६३ हजार ३ सय ११ जना रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी कुमार नेपालले जानकारी दिए । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजार भन्दा बढी नयाँ मतदाता थपिएपछि मतदाताको सङ्ख्यामा बृद्धि भएको उनले जनाए । 

जिल्लामा पुरुष मतदाताको तुलनामा महिला एक हजार दुई सय १५ बढी रहेको उनले बताए ।  उनका अनुसार क्षेत्र नं १ मा मतदाताको सङ्ख्या सवैभन्दा कम एक लाख २० हजार तीन सय ७५ र क्षेत्र नं ५ मा सवैभन्दा बढी एक लाख ५४ हजार दुई सय ८९ मतदाता रहेको जनाइएको छ । त्यसैगरी क्षेत्र नम्बर २ मा ६६ हजार ६५७ पुरुष, ६७ हजार ४२९ महिला र ५ जना अन्य गरी कुल १ लाख ३४ हजार ९१ मतदाता छन् ।

क्षेत्र नम्बर ३ मा ६६ हजार ६१ पुरुष र ६५ हजार ३७१ जना महिला मतदाता छन् । यो क्षेत्रमा कुल मतदाता १ लाख ३१ हजार ४३२ मतदाता छन् । क्षेत्र नम्बर ४ मा ६२ हजार २२ पुरुष, ६१ हजार १०१ महिला र १ जना अन्य समूहको गरी कुल मतदाता सङ्ख्या १ लाख २३ हजार १२४ रहेको छ । 

दुई वटा मतदानस्थल अस्थायी रुपमा तयारी गरिएकामा जिल्ला कारागारमा रहेका कैदीबन्दीका लागि एउटा र प्रहरी, कर्मचारीलगायतका लागि जिल्लामा मेची रङ्गशाला रहेको छ ।  

जिल्लाभर धेरै कर्मचारी भएपनि स्थायी नामावली नभएका कारण ६ हजार दुई सय ४२ जनाको अस्थायी मतदाता नामावाली तयारी गरिएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञावालीले बताए । उनीहरुले प्रतिनिधिसभा तर्फ समानुपातिकमा मतदान गर्ने व्यवस्था रहेको जनाए । शुक्रबारदेखि झापाका १ सय ३१ वडाका स्वास्थ्य स्वयमसेविकाबाट  घरदैलो मतदाता शिक्षा शुरु गरिने उनले जनाए । यो पटक सम्बन्धित  निर्वाचन अधिकृतको कार्यालयमा नै निर्वाचन सामग्री पुर्याइने उनले जनाए । 

निर्वाचन कार्यालयले विहीबारबाट नै नमुना मतदान कार्यक्रम समेत शुरु गरेको छ । भद्रपुर ७ स्थित बीरेन्द्र उच्चमाविमा विद्यार्थीहरुमार्फत नमुना मतदान कार्यक्रम सञ्चालन गरेको थियो ।