विराटनगर । मोरङको जहदा गाउँपालिका–३ मा रहेको मिठाई बनाउने उद्योगमा पाइप विष्फोट हुँदा दुई जना कामदार घाइते भएका छन् ।
निर्माणाधीन अवस्थाको कोसी विराट एग्रो प्रा.लि नामक मिठाई बनाउने फ्याक्ट्रीमा मेसिन जडान गर्ने क्रममा मंगलबार साँझ ७ः४५ बजेतिर पाइप विष्फोट भएको थियो ।मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठका अनुसार घटनामा परेर सप्तरीको विष्णुपुरका ३३ वर्षीय कृष्णकुमार साह र सप्तरी तिरुपका ४२ वर्षीय महेन्द्र साह घाइते भएका छन् ।
घाइते दुवै जना निर्माणाधीन फ्याक्ट्रीका कामदार हुन् । घाइतेमध्ये कृष्णको अवस्था गम्भीर छ । उनको शरीरका विभिन्न भाग पिल्सिएको प्रहरीले जनाएको छ । महेन्द्रको अवस्था सामान्य छ । दुवै जनाको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी डिएसपी श्रेष्ठले जानकारी दिए ।