खोटाङ । मध्यपहाडी राजमार्ग अन्तर्गत खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यान डाँडास्थित सडक भासिएको छ ।
दिक्तेल–चखेवाभञ्ज्याङ सडक–खण्ड अन्तर्गत पर्ने सेखुवामा मध्यपहाडी राजमार्गको करिब ६० देखि ८० मिटर कालोपत्रे सडक भासिएको हो । यो सडक २०७२ सालको भूकम्पले सामान्य चर्किएको थियो ।
गतवर्ष केही भासिएको सडक यसपटक करिब एक मिटर भासिएको मध्यपहाडी राजमार्ग योजनाको कार्यालयले जनाएको छ । भासिएको सडकको डिलतर्फको भाग पनि पहिरोको रूपमा भत्किएको छ ।
माथिल्लो सडक भासिएपछि सोही सडकको तल्लो टर्निङका सडकलाई समेत असर पर्ने देखिएको छ । चाडबाडलाई मध्यनजर गर्दै राजमार्ग योजनाको कार्यालयले दशैंअघि सेखुवा–चखेवाभञ्ज्याङ खण्ड मर्मत गरेको थियो ।
कालोपत्रेको ठेक्का लिने निर्माण व्यवसायी नै सम्पर्कविहीन बनेपछि आफैले मर्मत गर्नुपरेको योजनाको कार्यालय काभ्रेपलाञ्चोकका सव–इन्जिनियर केशव पौडेलले बताएका छन् । हाल गिट्टी–रोडा हालेर यातायातका साधन आवत–जावतको व्यवस्था मिलाइएको छ ।