धरान । आरम्भ नाट्य डबली धरानले नियमित रूपमा गर्दै आएको नाट्य अभिनय कार्यशालाको छैठौं शृङ्खला इटहरी म्याट्रिक्स परिसरमा कात्तिक १७ गतेदेखि सुरु गर्ने भएको छ ।

धरानको नाट्य क्षेत्रमा २०४५ सालदेखि कार्यरत आरम्भ नाट्य डबलीले यसअघि पाँचौँ शृङ्खलासम्ममा धरानका करिब २ सयजना बढीलाई अभिनय तालिम दिइसकेको डबलीका अध्यक्ष गोपाल देवानले जानकारी दिए । उनका अनुसार विभिन्न ठाउँबाट अभिनय कार्यशालाको माग आएको हुँदा नाट्य क्षेत्रप्रति प्रतिबद्ध नयाँ रङ्गकर्मीहरू निर्माण गर्ने हेतुले अभिनय कार्यशाला गर्न लागिएको हो ।

परिवर्तन, पहिचान र सार्थक रङ्गमञ्चको लागि वैकल्पिक धार भन्ने मूल नाराका साथ प्रदेश नं. १ र राष्ट्रिय आयाममै आफ्ना सयौँ रङ्ग प्रस्तुतिहरू पस्किँदै आएको आरम्भले रङ्गमञ्चलाई संस्कृति निर्माणको अभियानको रूपमा अगाडि बढाउने कार्य अभिनय कार्यशालाले गर्ने आरम्भका वरिष्ठ उपाध्यक्ष विक्रमश्रिको भनाइ रहेको छ ।

कार्यशालामा प्रदेश नं. १ का लेटाङ, बेलबारी, उर्लाबारी, वराहक्षेत्रका इच्छुक कलाकारहरूलाई समावेश गरिने कार्यशालाको क्रममा अग्रज तथा वरिष्ठ रङ्गकर्मीहरूबाट अनुभव साझा गराउनुका साथै प्रतिभाशाली कलाकारहरूलाई समावेश गरी पर्यावरणीय चेतनामा आधारित एक सडक नाटक तयार गरी प्रदेशका विभिन्न सहरहरूमा प्रदर्शन गरिने जनाइएको छ ।