संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले इजरायल र लेबनानले समुद्री सीमा विवाद समाधानका निम्ति गरेका सम्झौताको स्वागत गरेको छ । दुवै देशले समुद्री सीमा विवाद अन्त्य गर्ने सम्झौताको घोषणा गरेकामा सुरक्षा परिषद्ले बुधबार त्यसको स्वागत गरेको हो । 

 सुरक्षा परिषद्का सदस्यहरूले लेबनान र इजरायलले आफ्नो समुद्री सीमाको विवाद अन्त्य गर्न र यसलाई स्थायी रूपमा समाधान गर्न सहमत भएको घोषणाको प्रशंसा गरेका छन् । दुवै देशको उक्त निर्णयले मध्यपूर्वको स्थायित्व, सुरक्षा र समृद्धिमा योगदान पुग्ने परिषद्ले एक प्रेस विज्ञप्ति निकालेर जनाएको छ । 

इजरायल र लेबनानबीचको सहमतिले दुवै देश र त्यहाँका जनतालाई फाइदा पुग्ने तथा पूर्वी भूमध्यसागरमा रहेको ऊर्जा स्रोतबाट दुवै पक्षलाई समान रूपमा लाभान्वित तुल्याउन अवसर मिल्ने परिषद्ले विज्ञप्तिमा उल्लेख गरेको छ ।    लेबनान र इजरायलका नेताहरूले गत असोज २५ गते पूर्वी भूमध्यसागरको सिमाना विवाद समाधान गर्न सहमत भएको घोषणा गरेका थिए ।